बुटवलमा प्रधानमन्त्रीको गर्जन नेपाल मगन्तेको देश हैन

८ चैत, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मगन्ते देश नभएको बताएका छन् । कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै उनले नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताए ।तिलोत्तमामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खनिज, पेट्रोल, फलाम, सुन जस्ता खानी रहेकाले नेपाल आफैंमा सम्पन्न राष्ट्र भएको तर्क गरे ।

सरकारले चौतर्फी विकासको लहर ल्याउन थालेपछि केहीलाई आफ्नो दोकान बन्द होलान् भन्ने पीर परेको प्रधानमन्त्री ओलीले दाबी गरे । ‘सडक चौडा बनाउँदा पनि बर्बाद भो भनेका छन्, एअरपोर्ट बनाउन थालेपनि बर्बाद भो भनेका छन्, झन् विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण खोज्दा त झनै बर्बाद भो भनेर कराउन थालेका छन्’ प्रधानमन्त्रीले भने, ‘तर, सरकार समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा दृढ भएर अघि बढेको छ ।’विज्ञानले ठूलो करामत गरिसकेको भन्दै त्यही करामतले आफू अहिले प्रधानमन्त्री बनेको बताए । ‘विज्ञानकै कारण अरुको मिर्गौला लिएर चलेको मान्छे मै हुँ । चलेको मात्र हैन, प्रधानमन्त्री नै बनेको छु’ उनले भने ।

सरकारी मेडिकल कलेज ठूलो आयोजना भएको भन्दै उनले यसलाई सफल बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।विभिन्न कारणले रोगहरु बढिरहेका उल्लेख गर्दै सरकार रोगहरु बढ्न नदिने प्रयासमा पनि लागेको बताए । दुषित पानी,पोषणयुक्त खानाकोअभावमा,गर्भावस्थादेखि नै कुपोषणको शिकार, असन्तुलित,अस्वस्थ खानाले रोगहरु बढेका भन्दै प्रधानमन्त्रीले स्वस्थ आहार विहारमा रहन आग्रह गरे । मान्छे जति कम सुत्छ, उति छिटो मर्छ भन्दै थकाई मर्ने गरी आराम र भोक लाग्ने गरी काम र व्यायाम गर्न पनि आग्रह गरे ।

 

शुक्र, चैत्र ८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस