तोकियो स्ववियु चुनावको मिति, नेबिसंघको भएँन उपस्थिति !

२९ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ दोस्रो साता स्ववियु निर्वाचन प्रस्ताव गरेको छ । यसअघि फागुन १४ गते हुने भनिएको स्ववियु चुनाव हुन नसकेपछि नयाँ मिति प्रस्ताव गरिएको हो ।

बिहीबार केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिले विद्यार्थी संगठनहरुसँग संयुक्त छलफल गरेको थियो । छलफलमा समिति अध्यक्ष एवम् त्रिभुवन विश्वविद्यालयकी रेक्टर प्रा.डा. सुधा त्रिपाठीले परीक्षा लगायतका कार्यक्रम नभएकाले जेठ दोस्रो साता स्ववियु निर्वाचन गर्नु उपयुक्त हुने बताएकी थिइन् । साथै उनले निर्वाचनका लागि विश्वविद्यालयलाई सबै विद्यार्थी संगठनहरुको साथ र समर्थन चाहिएको पनि बताइन् ।

बैठकमा सहभागी अनेरास्ववियू (क्रान्तिकारी)का कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले अनलाइनखबरसँग भने, ‘केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिका पदाधिकारीले छिट्टै ठोस मिति तोक्ने भन्नु भएको छ । बैठकमा सहभागी सबै विद्यार्थी नेताहरु पनि स्ववियु चुनाव गर्न सकारात्मक छन् ।’

बैठकमा नेविसंघका प्रतिनिधि कोही पनि उपस्थित नभएकाले ठोस मिति घोषणा भने भएन । नेविसंघ कार्यसमिति हाल भंग भएकाले बैठकमा प्रतिनिधित्व नभएको हो ।

बैठकमा नेकपा सम्बद्ध अनेरास्ववियु र अनेरास्ववियू अखिल (क्रान्तिकारी) तथा मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए ।

 

शुक्र, चैत्र २९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस