नयाँ वर्ष सेलिब्रेशनका लागि चितवनका होटल आन्तरिक पर्यटकले भरिभराउ

चितवन, चैत ३०-

नयाँ वर्ष सेलिब्रेशनका लागि चितवनका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार भएपछि पनि चितवन आउन पर्यटकलाई सजिलो भएको छ ।

चितवनका पर्यटकीय क्षेत्रहरु सौराहा, मेघौली र पटिहानीमा पर्यटकको चाप बढी देखिन्छ। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहाका होटल ९० प्रतिशत बुकिङ रहेको बताए।‘सौराहाका होटल नयाँ वर्षका लागि एक साता अघिनै ७० प्रतिशत भन्दा बढी रुम बुकिङ भइसकेका थिए।

अहिले सौराहामा आन्तरिक पर्यटकको चापाचाप छ’ उनले  भने। सौराहामा पर्यटकीय ११० होटल छन्। यहाँ दुई हजार ८ सय पर्यटक राख्न सक्ने क्षमता छ।सौराहाको राप्ती किनारमा रहेको पव रेष्टुरेन्ट पर्यटकले खचाखच भरिएको छ। मूख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुंगा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जंगली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो।

सौराहा मात्र नभएर नारायणगढ बजार र नदी किनार आसपासका होटलहरु पनि आज भभिराउ नै छन् । होटल एशोसिएसन चितवन नारायणगढ इकाइका अध्यक्ष कृष्ण महतोले नारायणी नदी किनारका होटलहरु सबै भरिभराउ नै रहेको बताए । उनले पर्यटकहरुलाई लक्षित गरी विभिन्न सांगितिक कार्यक्रमहरुको पनि आज आयोजना गरिएको बताए । चितवन आएका पर्यटकहरुलाई मनोरञ्जन दिनको लागि मंगोलियन हर्टलगायतका कतिपय व्याण्डहरु चितवन ओर्लिएका छन् । त्यसैगरी होटल रेड कार्पेटका प्रवन्धक रामचन्द्र अर्यालले पनि अन्य समयभन्दा यो साल नयाँ वर्षमा धेरै नै पर्यटकहरुले होटल खचाखच रहेको जानकारी दिए । निरन्तरको वर्षाले विगत वर्षभन्द यो वर्ष वातावरण शीतल भएकोले पनि चितवनमा पर्यटक बढेको उनले नारायणी अनलाइनलाई बताए । यो वर्ष विक्रम बाबा मेला र नयाँ वर्ष एकै समय परेकोले पनि आन्तरिक पर्यटक बढेको व्यवसायीहरुले बताए ।

शनि, चैत्र ३०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस