चितवनका लेखक भूपिनको नयाँ उपन्यास मैदारो आज सार्वजनिक

चितवन, चैत ३०-

बाग्लुङमा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका कवि भूपिन खड्काको नयाँ उपन्यास ‘मैदारो’ आज काठमाडौंमा सार्वजनिक भएको छ ।

उपन्यासकार भूपिनको जन्मदिन पारेर सो उपन्यासलाई लेखकहरु आहुति, नयनराज पाण्डे र महिला अधिकारकर्मी मोहना अन्सारीले आज संयुक्तरुपमा  विमोचन गरेका हुन् । बुकहिल पब्लिकेसन काठमाडौंले प्रकाशित गरेको उपन्यासले एउटा चित्रकारको प्रेमकथा समेटेको उपन्यासकार खड्काले  बताए । कार्यक्रममा मुख्य वक्ताहरु आहुति, पाण्डे र अन्सारीले अहिलेसम्म नेपालमा लेखिँदै आएको उपन्यास लेखनको धार भन्दा फरक शैलीले निकै मेहनतका साथ उपन्यास तयार पारेकोले सबै पाठकमाझ निकै लोकप्रिय बन्ने आशा व्यक्त गरे ।

उपन्यासकार खड्काले भने, ‘ उपन्यास नेपाल र भारतमा सयौं वर्ष अगाडिदेखि आजसम्म जरा गाडेर बसेको जातिय छुवाछुत र विभेदसँग सम्बन्धित रहेको छ । विभेदमा रहेको अँधेरी गाउँको कथालाई उपन्यासले समेटेको छ ।’ उनले सामाजिक मुद्दालाई प्रयोगात्मक तरिकाले उपन्यासमा उठाएको बताए । झण्डै दुई वर्षको मेहनत गरेर तयार पारिएको मैदारो उपन्यास चितवन र बागलुङमा बसेर उनले तयार पारेका हुन् । उनले पछिल्लो समय प्रयोगका लागि प्रयोग तथा यथार्थ लेख्ने नाममा जीवनी लेख्ने उपन्यास लेखन शैली भन्दा अलग धारबाट पाठकहरुलाई यसले नयाँ पन दिने दाबी गरे । काठमाडौँमा विमोचनपछि उपन्यासको बारेमा भोलि आइतबार  चितवनमा पनि यसको गृह विमोचन हुँदैछ । यसअघि कविता र निबन्धमा कलम चलाएका उनको यो पहिलो उपन्यास हो ।

शनि, चैत्र ३०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस