नेपाललाई विद्वानहरुको देश बनाउनु पर्छ: प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन्। बालुवाटारमा नेकपा निकट युवा र बिद्यार्थीहरु सगंको अन्तरक्रियामा ओलीले भने‘नेपाललाई निरक्षरको होइन, विद्वानको देशको रुपमा पहिचान बनाउनुपर्छ’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नुपर्छ, विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।’

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए । ‘शिक्षाको महत्व अभिभावकलाई बुझाउनुपर्छ’ प्रम ओलीले भने ‘त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउँछन् ।’

गत वर्षदेखि विशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरेका छन्। “विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो। हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ। यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ। यसबर्ष देखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुदैन,” प्रधानमन्त्री ओलीले भने।

 

 

 

बुध, बैशाख ४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस