logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • शंकर पोखरेल ! मुख्यमन्त्री कि ‘अपहरणकारी’ ?

    शंकर पोखरेल ! मुख्यमन्त्री कि ‘अपहरणकारी’ ?

    5.7K
    Shares

    काठमाडौं । बोली सुन्दा एमाले नेता शंकर पोखरेल धेरै शालिन र बढो शिष्ट लाग्छ । उनको जस्तै शालिनता र शिष्टता एमालेका सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवालीको बोलीमा सुन्न सकिन्छ । तर, सत्ता र शक्तिको ‘चरम’ उपयोग नगरेसम्म नेताहरुको मूल्यांकन गर्नु गलत हुनेरहेछ । अब यसको प्रमाण खोज्न लुम्बिनी प्रदेशका ‘माननीय’ मुख्यमन्त्री शंकर पोखरेलका गतिविधि भन्दा टाढा जानु पर्दैन ।

    पद मुख्यमन्त्री । काम ‘संसद् बन्धक र अपहरण’ ! सुन्दा विश्वास लाग्दैन । तर, यथार्थ लुकाएर लुक्दैन । श्रीमानको देहवसानपछि भएको उपचुनावमा विजयी भएर जीवनको गहिरो घाउमा मल्हम लगाइरहेकी सांसद मुख्यमन्त्री कार्यालयमा ‘बन्धक’ ! मुख्यमन्त्रीज्यू तपाईँ नै भनिदिनुहोस्, एउटा सांसदको यो अवस्था छ भने अब तपाईँ हाम्रा दिदीबहिनी र छोरीहरुको सुरक्षा कहाँ हुन्छ ?

    अपराधीहरुले कमजोरीमाथि सधैँ प्रहार गर्छन् । राज्यले अपराधीमाथि दण्ड चलाउनुपर्छ । तर, तपाईँले मुख्यमन्त्री पदको मर्यादा किन भूल्नुभयो ? एउटा सांसदलाई आफ्नो कार्यालयमा किन ‘बन्धक’ बनाउनुभयो ? अब यसको छानबिन तपाईँ मातहतको राज्यले गर्ने कि नगर्ने ? अलिकति नैतिकता भए तत्काल राजीनामा दिएर तपाईँले राज्यलाई छानबिनको बाटो खोलिदिनुपर्छ । नैतिकतालाई कमजोरी ठान्नु हुन्छ भने कानुनले तपाईँलाई मुख्यमन्त्री भनेर चिन्दैन ।

    मुख्यमन्त्रीज्यूलाई जनताले नजिकबाट नियालेका छन् । नेकपा (माओवादी केन्द्र)की सांसद विमला खत्री वलीले बिहीबार (साउन २१) पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री कार्यालयमा ‘बन्धक’ भएको बताएपछि तपाईँको फेसबुक स्टाटसले मन पनि बेचैन भएको देखिन्छ । तर, मुख्यमन्त्री पद ‘भाँडाकुटी’ खेल होइन । गल्तीको क्षेत्रफल तपाईँ हामी आँखा देख्नेले होइन, आँखा बन्द गरेर तराजु बोक्नेहरुले मात्र नाप्न सक्छन् । ८७ सदस्यीय प्रदेशसभालाई ८० सदस्यमा झार्ने मान्छेको मूल्यांकन तपाईँले होइन अर्को चुनावमा जनताले गर्छन् । तर, महिला बन्धक बनाएर एउटा मुख्यमन्त्री पानी माथिको ओभानाे बन्न मिल्दैन । यो तपाईँको तर्क लाज लुकाउन ‘कट्टु’ खोलेर मुख छोपेजस्तो मात्र भयो ।

    बिहीबार राति लेख्नुभएको फेसबुक स्टाटसमा शंकरको ‘नाङ्गो’ रुपको निन्दा हुन सक्दैन भन्ने खालको तर्क गरेको देखियो । तर, तपाईँ हिन्दू धर्मले वर्णन गरेको कल्पनाको ‘शंकर भगवान’ होइन । तपाईँमाथि लागेको आरोपको छानबिन इतिहासमा होइन, अहिले तत्काल हुनुपर्छ । मुख्यमन्त्रीज्यू आफ्नै कार्यालयमा संसद ‘बन्धक’ बनाएको आरोप लागिसकेपछि अरुमाथि यसरी औँला उठाउन मिल्छ र ? 

    नेपालको राजनीतिमा नैतिकता खोज्नु मूर्खता हुनसक्छ । तर, मुख्यमन्त्री कार्यालयमा सांसद ‘बन्धक’ हुनुभन्दा ठूलो अपराध के हुनसक्छ ? विमलाको आरोप प्रमाणित भए मुख्यमन्त्री पदको गरिमा कसरी फर्काउन सकिन्छ ? तपाईँले यसको जवाफ पनि जनतालाई दिनैपर्छ । 

    विमलाको बोली र विज्ञप्ति फौजदारी अपराधको प्रमाण होइन ? 
    –मुख्यमन्त्री निवासमा पाँच दिनसम्म बन्धक, 
    –विभिन्न कागजपत्रमा जबरजस्ती हस्ताक्षर, 
    – कोही नभएको अवस्थामा ट्वाइलेटको चप्पल लगाएर भागेँ ।

    यी बिहीबारको पत्रकार सम्मेलनमा विमला वलीले पीडा पोखेका मुख्य तीन बुँदा हुन् । ७० वर्ष लामो संघर्षपछि प्राप्त उपलब्धि गणतन्त्रलाई गिज्याउने मुख्यमन्त्री कानुनभन्दा माथि छैनन् । विमला वलीको आरोप गलत भए उनलाई पनि कानुनी कारवाही हुनुपर्छ । तर, मुख्यमन्त्रीमाथि लागेको आरोपको छानबिन फौजदारी संहिताको प्रक्रिया अनुसार तत्काल सुरु गर्नुपर्छ । 

    गम्भीर आरोप लागेपछि मुख्यमन्त्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु हुनुपर्छ । यसका लागि सबैभन्दा पहिला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर सुरक्षा निकायलाई अनुसन्धानको बाटो खोलिदिनुपर्छ ।

    यो आरोप उच्च पदमा पुगेका शंकर पोखरेललाई मात्र लागेको होइन । यस्ता नजिर हामीसँग छन् । २०७६ असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि फौजदारी आरोप लागेपछि तत्काल राजीनामा दिएका थिए ।

    उपसभामुखलाई बुझाएको महराको राजीनामामा भनिएको थियो, ‘हिजोदेखि विभिन्न सञ्चार माध्यममाा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहजहोस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

    कानुनी राज्यको सम्मान गर्ने हो भने महराको नजिरलाई गम्भीर आरोप लागिसकेपछि शंकर पोखरेलले नकार्न मिल्दैन । भोलि अनुसन्धानले पोखरेललाई निर्दोष देखाए मुख्यमन्त्री फेरि बन्न सक्छन् । तर, कानुनी राज्यमा गम्भीर आरोप लागेपछि पदमा बसेर अनुसन्धान प्रभावित गर्ने काम पोखरेलले गर्नु हुँदैन ।

    यो त मुख्यमन्त्रीको नैतिकताको कुरा भयो । तर, कानुनभन्दा माथि कोही नभएकाले फौजदारी घटना सार्वजनिक भएपछि सुरक्षा निकायले अनुसन्धानलाई अगाडि बढाउनुपर्छ । पीडितले पत्रकार सम्मेलन गरेर बयान सार्वजनिक गरिसक्दा अझैसम्म मुख्यमन्त्रीलाई सुरक्षा दिएर बस्ने हो भने सुरक्षा निकाय माथिसमेत प्रश्न उठ्नसक्छ ।

    एकल माननीयले मुख्यमन्त्रीमाथि लगाएको आरोपलाई फिल्मका दृश्य हेरेजस्तै मुकदर्शक बन्ने काम गृह प्रशासनबाट हुनु गलत देखिन्छ । यो घटनामा मुख्यमन्त्रीसँगै एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता भूमिश्वर ढकाल योजनाकार बनेको देखिन्छ । दुर्घटनामा निधन भएका श्रीमानले गरेका कामलाई लिएर विमलालाई कमजोर बनाउन जिल्लाका माइन्युटदेखि एमालेमा प्रवेश गरेँ भन्ने विज्ञप्तिमा जरबरजस्ती हस्ताक्षर गराएको आरोपसमेत विमलाले लगाएकी छन् । गम्भीर आरोप लागिसकेपछि अझैसम्म सुरक्षा निकाय भने किन मुकदर्शक बनेको छ ?
     
    आफूमाथि आरोप लागिसकेपछि मुख्यमन्त्री पोखरेलले अनुसन्धानमा सहयोग गर्नैपर्छ । मुख्यमन्त्री कार्यालयमा विमलामाथि के–के भयो ? त्यो सञ्चार माध्यम र पत्रकारलाई भन्दा मुख्यमन्त्री शंकर पोखरेल र भूमिश्वर ढकाललाई बढी थाहा होला ! हामीले पाएको प्रमाण विमलाको विज्ञप्ति मात्र हो ।

    विज्ञप्तिका बुँदा फेरि पढ्ने कि ?

    १  म बिमला कुमारी खत्री २०७६ मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार भई निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य हुँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुन म निवार्चित भएको दलको सवालमा २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला अनुसार म निर्वाचित भएको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भै पुनः पूर्ववत अवस्थामा नेकपा ( माओवादी केन्द्र) र नेकपा (एमाले) कायम भएको अवस्थामा म निर्वाचित भएको दल नरहेपछि स्वतन्त्र हैसियतमा मैले नेकपा (माओवादी केन्द्र) रोजी सोही दलको लुम्बिनी प्रदेश सभा दल सदस्यता २०७८ वैशाख १७ गते प्राप्त गरी वैशाख १९ गते पत्रकार सम्मेलन गरी घोषणा गरेको विषय स्मरण गराउन चाहन्छु ।

      म नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशसभा संसदीय दल सदस्य भैसके पछि नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलका नेताहरुबाट एमाले पार्टीमा आउनु पन्यो भनेर बारम्बार दबाव आउन थाल्यो । यो दवाव निरन्तर जारी रहयो, मैले त्यसलाई निरन्तर ईन्कार गरिरहें यहि क्रममा २०७८ साउन १५ गते दिनको ११ बजे म उपचारको लागि नेपालगञ्ज हिँड्न लागेको समयमा नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमीश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत मेरो घर तुल्सीपुरमा आउनु भयो, फेरि उही दबाब दिन थाल्नुभयो ।

    मैले फेरि पनि इन्कार गरेँ। म बिरामी छु उपचारको लागि नेपालगञ्ज जाँदैछु जानदिनुस् भन्दा प्रमुख सचेतक भुमिश्वर ढकालले हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔँ हामी नै पुर्‍याइदिन्छौँ भन्नु भयो उहाँ जस्तो जिम्मेवार नेताले भनेपछि मैले विश्वास गरी गाडीमा बसेँ गाडी तुल्सीपुरबाट अमिलिया आएर उहाँहरु खाना खानुभयो । गाडीमा बसियो तर गाडी नेपालगन्ज तिर जानु पर्नेमा एक्कासी बुटवलतिर मोडियो तत्कालै मैले प्रतिवाद गर्दै भनेँ यता कहाँ जाने हो ? गाडी बुटवलतिर हुँइकिरहयो, मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिहँदा उहाँहरुले भन्नुभयो एक पटक मुख्यमन्त्री ज्युलाई भेट्नु पन्यो भनेर गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पुर्‍याइयो ।

      मुख्मन्त्री शंकर पोखरेलसँग भेट भइ छलफल शुरु भयो फेरि उही दवाव शुरु भयो नेकपा ( एमाले) मा आउनुपर्‍यो, पहिले हाम्रो गल्ती भयो, अब त्यस्तो हुँदैन, पार्टीमा आउनुस् मन्त्री बन्नुस् ! भनेर विभिन्न प्रलोभन देखाइयो। मैले निरन्तर इन्कार गरिरहेँ साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिइ निरन्तर दबाव दिइरहियो, मैले इन्कारी जारी राखिरहेँ साउन १८ गते विज्ञप्ती लेखेर मलाई पढ्नै नदिइ जबरजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभइ अर्को दुई तीनवटा माइनट जस्ता रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छु भनेर सोचेको थिएँ, तर अझ कडाइका साथ साउन १९ गते देखि मुख्यमन्त्री निवास भित्रै राखियो २० गते बिहान मलाई असह्य मानसिक पीडा भयो, यहाँबाट जसरी पनि निस्कनु पर्छ भनेर सोच बनाएर समय र परिस्थिति हेरी म आज जसरी पनि निस्कनु पर्छ भनेर तयारी गरेँ ।

      दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगेँ, जहाँ मेरो आफ्नै स्वतन्त्र संसारमा पुगेको अनुभूति गरेँ । त्यसबेला म मानसिक रुपमा निकै थकित भएकोले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन सकिनँ आज तपाईँ संचारकर्मीहरुमार्फत् जनता सामु उपस्थित भएको छु ।

      राजनीति र सरकारको खेलमा यस्तो घटना मैले पहिलो पटक बेहोर्न पर्‍यो । नेकपा (एमाले) ले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिइनँ मेरो विचार राजनीति उहाँहरुको भन्दा फरक भए पनि मैले उहाँहरुलाई अभिभावककै रुपमा मान्ने र बुझ्ने गर्दथे । तर त्यस्तो व्यावहार पाइएन ।

    ६  आदरणीय संचारकर्मी मित्रहरु र आम जनसमुदायहरु, यस घटनाबाट मलाई गम्भीर शिक्षा प्राप्त भएको छ र मलाई यस घटनाले अझै परिपक्व बनाएको छ । म मेरो दल नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) प्रति पूर्णप्रतिबद्ध छु र थप बलियो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । मेरो नामबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश दलले फैलाएको भ्रमहरु र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुठो हुन भनेर जानकारी गराउँदछु । अन्त्यमा मलाई निर्वाचित गर्ने जनता, उद्धार गर्ने नेता कार्यकर्ता र सहयोगी सबैमा हार्दिक आभार प्रकट गर्दछु ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend