Logo आइतवार, आश्विन १० गते २०७८
images
आइतवार, आश्विन १० गते २०७८
images

विशेष सम्पादकीय :

images

पार्टीमा गुट-गुट, अन्तिममा फुट 

पार्टीमा गुट-गुट, अन्तिममा फुट 

images
images
  • सुनौलो नेपाल
  • भाद्र ३, २०७८ बिहिवार १३:४६ बजे
  • 1.6K
    SHARES
  • पार्टीमा गुट-गुट, अन्तिममा फुट 

    विशेष सम्पादकीय 

    images
    images
    images

    नेपाली राजनितिमा गुट र फुट नौलो होइन । २००७ सालमा जहानीया राणा शासनको अन्त्य गरेर प्रजातन्त्र आयो । प्रजातन्त्रको आगमनसँगै राजनीतिक दलको अवधारणा सुरु भएको थियो । कहिले दरबारको पृष्ठपोसकमा रमाउने । कहिले दरबारलाई दोष देखाएर क्रान्तिको घोष गर्ने राजनीतिक दलहरुको चरित्र थियो । २०४६ सालको प्राजातान्त्रिक बहुदलीय व्यवस्थापछि दलभित्र गुट र फुट क्यान्सर नै बनेको छ । अझ यो क्यान्सर कम्युनिस्ट पार्टीमा बढी देखिन्छ । फुटको क्यान्सरबाट कम्युनिस्ट मात्र होइन कांग्रेसलाई पनि गाँजेको छ । सत्ता स्वार्थकै कारण आफ्नै बहुमतको सरकार ढालेर फुटको राजनीतिलाई प्रशय दिनेकाम कांग्रेसबाटै सुरु भएको हो । त्यही क्यान्सर अहिले एमालेमा सरेको छ । संयोग नै मान्नुपर्छ २४ वर्षपछि एमाले पार्टी फुट्दा नेपाली सत्ताको केन्द्रमा कांग्रेस पुगेको छ । २०५४ सालमा एमाले फुट्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । अहिले पनि सत्ताको बागडोर उनै देउवाले सम्हालेका छन् । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार (भदौ २) गते जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशले गुट–गुटमा अल्झिएका राजनीतिक दललाई फुटको बाटो खुलेको छ । अध्यादेश जारी भएकै दिन नेकपा (एमाले) फुटेर नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल फुटेर जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) बनेका छन् ।

    १५ वर्ष पार्टी महासचिव बनेर सङ्गठन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल स्वयम् मूल पार्टी छोड्न बाध्य भएका छन् । लामो समयदेखिको अन्तसङ्घर्षको बिर्सौनी माधव नेपालले पार्टी फुटलाई बनाए । बाहिर हेर्दा माधव नेपालले पार्टी फुटाएको देखिए पनि पार्टी फुटमा अध्यक्ष केपी ओलीको भूमिका माधव नेपालको भन्दा ठूलो छ । किनकि घर झगडा मिलाउन नसक्नुमा घर मुलीको दोष ठूलो हुन्छ ।

    निर्वाचन आयोगबाट जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि पार्टीविहीन बनेका महन्थ ठाकुरले अध्यादेश जारी भएलगत्तै आफ्नै अध्यक्षतामा नयाँ पार्टी बनाए । यादव जसपाको अध्यक्ष बन्दा ठाकुर जसपा लोकतान्त्रिककको अध्यक्ष भएका छन् । पार्टीको नाम उही तर अन्तिममा एउटा शब्द थपेर माधव नेपाल र महन्थ ठाकुरले दल विभाजनसम्बन्धी अध्यादेशको उपयोग गरे । प्रधानमन्त्री देउवाले एमाले र जसपा फुटाउने नियतले ल्याएको अध्यादेशको प्रभाव तत्काललाई दुई पार्टीमा देखिए पनि यसले सबैतिर प्रहार गर्ने निश्चितप्रयः छ । सलाई कोरेर अरुको घरमा आगो झोसेर रमिता हेरेर बसेका देउवाले अध्यादेश आफ्नै पार्टीका लागि कति घातक छ भन्ने कुरा सोच्न नसक्नु उनको कमजोरी हो । यो आफ्नो कमजोरी देउवाले पार्टीभित्रका असन्तुष्टि छताछुल्ल भएपछि मात्र थाहा पाउनेछन् । जतिबेला उनको हैसियत नेपाली कांग्रेस जोगाउन नसक्ने अवस्थामा पुगिसकेको हुनेछ । अध्यादेश आज ओलीका टाउकाको घन भए पनि देउवाका लागि आफ्नै गोडामा बञ्चरो सावित हुनेछ ।

    प्रधानमन्त्री देउवाले प्रयोग गरेको अध्यादेश अस्त्र  पहिलो होइन । निवर्तमान प्रधानमन्त्री के.पी ओलीले २०७८ वैशाख ९ गते संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत पुग्ने अवस्था भए दल विभाजन गर्न सकिने प्रावधानसहितको अध्यादेश ल्याएका थिए ।  त्यत्तिबेला प्रमुख प्रतिपक्षी दलको नेता रहेका देउवाले अध्यादेश ल्याएलगत्तै विज्ञप्ति सार्वजनिक गर्दै विरोध जनाएका थिए । सत्तापक्ष र प्रतिपक्षबाटै अध्यादेशको चर्को विरोध भएपछि अन्तिममा ओलीले अध्यादेश फिर्ता लिएका थिए ।  तर, ओली सत्ताच्युत भएको एक महिनाकै अवधिमा देउवाले सोही अध्यादेश फोटोकपी गरेर ल्याए । उही २० प्रतिशतमै दल विभाजन गर्न सकिने प्रावधान राखेर ल्याए । ‘केन्द्रीय समिति र संघीय संसद्का संसदीय दलका कम्तिमा ४० प्रतिशत सदस्यले’ भन्ने शब्दलाई हटाएर ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दल दर्ता भएको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको २० प्रतिशत वा सोभन्दा बढी दसस्य वा त्यस्तो दलको संघीय संसद्को संसदीय दलको २० प्रतिशत वा सोभन्दा बढी सदस्यले एकै पटक’भन्ने शब्द राखिएको छ । यही प्रावधातले अहिले नेपाल र ठाकुरलाई पार्टी फुटाउन सजिलो भएको छ । देउवाले एमाले र जसपा फुटाउने स्वार्थ अध्यादेश जारी भएकै दिन पूरा गरेका छन् । यसले नेताहरुको नैतिकताको मूल्याङ्कन सडक वा प्रतिपक्षमा हुँदा होइन सत्तामा पुगेपछि मात्र हुन्छ भन्ने प्रमाणित गरिदिएको छ । सत्तामा हुँदा जुनसुकै कुरा जायज हुने र प्रतिपक्षमा हुँदा जुनसुकै कुरा नाजायज हुन्छ भन्नु नेताहरुको कमजोरी हो । यसले कसैको व्यक्तिगत स्वार्थ पूरा भए पनि देश र जनताको हित कहिल्यै गर्न सक्दैन ।

    अहिले झट्ट हेर्दा पार्टी फुटको आधार अध्यादेश बन्यो । यद्यपि नेपालमा पार्टी स्थापनादेखि नै गुटको राजनीति देखिन्छ । सुरुमा गुट–गुट मिलेर पार्टी बन्ने र अन्तिममा त्यही फुटमा परिणत हुने सामान्य बनेको छ । नेपालका पार्टीहरुमध्ये  सबैभन्दा बढी कम्युनिस्ट पार्टी फुटेको इतिहास छ । सिद्धान्त एउटै भएको फलाक्ने तर व्यक्तिगत टकराव र स्वार्थका लागि फुट्ने गरेका छन् । जति फुटको शृङ्खला चल्छ त्यत्ति नै जुटको विषय उठ्छ । तर, छोटो समय जुटे पनि फेरि अन्तिममा कम्युनिस्टहरु फुटमै रमाएको देखिन्छ । पार्टीको अस्तित्वको हिसाबमा थोरै अगाडि पछाडि भए पनि २००६ साल वैशाख १० मा कम्युनिस्ट पार्टी गठन भएको हो । आजसम्म यो पार्टी फुट्तै र जुट्तै आएको छ ।

    काङ्ग्रेसको पनि अवस्था उही छ । २००६ चैत २७ गते नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसबीच एकता भएपछि नेपाली कांग्रेसको स्थापना भएको हो । कांग्रेसका संस्थापक नेता मातृकाप्रसाद कोइराला र बीपी कोइरालाको टकराबले पार्टीमा फुट सुरु भयो । संस्थापक नेताबीच निरन्तर टकराबव रहिरहयो । २०५९ सालमा देउवामाथि भएको कारबाहीले कांग्रेस औपचारिक रुपमा दोस्रो पटक फुट्यो । यो फुटमा गिरिजाप्रसाद कोइराला र देउवाको टकराव थियो । देउवाले प्रजातान्त्रिक कांग्रेस गठन गरे । यो शृङ्खला अगाडि बढ्ने सम्भावना टड्कारो छ ।

    कांग्रेसमा जस्तै कम्युनिस्टमा पनि नेताहरुको टकराव नै फुटको कारण बन्दै आएको इतिहास छ । पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको सङ्घर्ष देखिन्छ । २०३५ सालमा  पुष्पलालको निधनपछि मदन भण्डारी र वामदेव गौतमको टकरावले पार्टी विभाजन हुन्छ । सीपी मैनालीको विद्रोही समूहको नेकपा (माले) बन्यो । बीचबीचमा फुटका शृङ्खला हुँदाहुँदै २०५० साल जेठ ३ गते  दासढुंगा दुर्घटनामा मदन भण्डारीको निधन भएपछि माधव नेपाल महासचिव भए । त्यसपछि महाकाली सन्धि विवादले फेरि वामदेव गौतमलगायतले माले गठन गरे । २०५८ सालमा एमाले र मालेबीच एकता भए पनि सीपी मैनालीसँग एकता हुन सकेन । २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा बन्यो । अन्तरसङ्घर्षले थिलथिलो भएको नेकपालाई २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलाले बदर गरिदियो । माओवादी सशस्त्र द्वन्द्वको अवधि र शान्ति प्रक्रियासम्म पार्टी नेतृत्व सम्हालेका माधव नेपाल, झलनाथ खनालसहित २०७८ भदौ २ गते विभाजित भए । 

    कांग्रेस र एमालेमा जस्तै माओवादीमा पनि फुटको विजारोपण जन्मदेखि नै देखिन्छ । माओवादी धारको नेतृत्व २०३६ सालदेखि मोहनविक्रम सिंहले गरे । २०४० सालमा आइपुग्दा निर्मल लामा र सिंहले छुट्टाछ्टै पार्टी बनाए । मोहनविक्रममाथि कारबाही भएपछि २०४१ सालमा मोहन वैद्य ‘किरण’ महामन्त्री बने । कारबाहीमा परेपछि मोहनविक्रमले चित्रबहादुरको साथ लिए । सिंहको नेतृत्वमा नेकपा मसाल र वैद्य नेतृत्वमा नेकपा मशाल बने । दुई पार्टीको नाममा स र शबाहेक अन्य केही फरक भएन । २०५४ सालमा नेकपा मशालले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महामन्त्री बनायो । त्यसपछि कम्युनिस्ट जुट्न थाले । निर्मल लामा र रुपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) बन्यो । विस्तारै बाबुराम भट्टराईसमेत मोहनविक्रमलाई छोडेर एकता केन्द्रमा पुगे । पार्टीमा निर्मल लामा र प्रचण्डबीच सशस्त्र युद्धमा जाने र नजाने विवाद बढ्यो । निर्मल लामाले पार्टी छोडेपछि प्रचण्डसहितका नेताले नेकपा माओवादी बनाए । २०५२ सालपछि १० वर्षसम्म चलेको द्वन्द्वको समयमासमेत प्रचण्ड, बाबुराम र वैद्यवीच टकराव जारी रहयो । त्यसको असर भने शान्ति प्रक्रियामा आएपछि २०६९ सालमा मोहन वैद्य नेतृत्वमा रामबहादुर थापा ‘बादल’, नेत्रविक्रम चन्द ‘विप्लव’ सहित माओवादी विभाजित भयो । यो समूहका केही नेता अहिले पनि फुट र जुटको राजनीतिमा अभ्यस्त छन् । माओवादी छोडेका बाबुराम भट्टराई उपेन्द्र यादवसँग मिलेर जनता समाजवादी पार्टी (जसपा)को दोस्रो तहको नेता बनेका छन् ।

    mahantha-uprendra.jpg

    अन्य दलमा जस्तै मधेसवादी दलमासमेत फुटको राजनीति फस्टाएको छ । कम्युनिस्टहरु धार परिवर्तन गर्दै फुटेका छन् भने कांग्रेस र मधेसवादी दल सत्ताको लोभमा फुटेको देखिन्छ । अधिकारको लडाइँमा एकठाउँ उभिने नेताहरु सत्ताको लोभमा फुट्नु सामान्य जस्तै बनेको छ । सत्ताको लागि जस्तोसुकै फुट सहन सक्ने प्रवृत्ति मधेसवादी दलमा देखिन्छ । मधेसका मुद्दालाई एकसाथ अगाडि बढेका नेता यत्तिबेला फेरि चिराचिरा भएका छन् । गजेन्द्र नारायण सिंहले २०४६ सालमा काङ्ग्रेस त्यागेर सद्भावना परिषद् गठन गरेपछि मधेसी दलको उदय भएको हो ।  २०५४ मा आइपुग्दा उपेन्द्र यादव नेतृत्वमा मधेसी जनअधिकार फोरम गठन हुन्छ । यादवको सङ्गठन २०६४ मा आइपुग्दा मधेसी जनअधिकार फोरम दल हुन्छ । काङ्ग्रेस छोडेर महन्थ ठाकुर तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गर्दै क्षेत्रीय राजनीतिमा २०६४ मा प्रवेश गर्छन् । कांग्रेसकै अर्का प्रभावशाली नेता विजयकुमार गच्छदार २०६६ सालमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गर्दै मधेस राजनीतिमा होमिन्छन् । जयप्रकाश गुप्ता मधेसी जनअधिकार फोरम (गठतान्त्रिक) बनाउँदै २०६८ मा तराईमै झर्छन् । २०६९ मा शरदसिंह भण्डारी फोरम लोकतान्त्रिक फुटाएर राष्ट्रिय मधेस समाजवादी पार्टी बनाउन पुग्छन् । तमलोपामा विवाद बढेपछि महेन्द्र राय यादवले २०६७ सालमा तमलोपा नेपाल गठन गर्छन् । यो बीचमा थुप्रै फुटका शृङ्खला चलिरहन्छन् । फुटको शृङ्खलाले मधेसमा प्रभाव कम हुने देखिएपछि २०७४ मा राष्ट्रिय जनता पार्टी (राजपा) गठन हुन्छ । त्यसको दुई वर्षमै समाजवादी पार्टी हुँदै २०७७ सालमा बाबुराम, उपेन्द्र, महन्थ, राजेन्द्र महतोसहितका नेताको सहभागितामा जनता समाजवादी पार्टी (जसपा) गठन हुन्छ । धेरै नेता एउटै पार्टीमा मिल्न नसक्नु र सत्ताको लोभले सबैलाई छटपटी बढाउँदा २०७८ भदौ २ गते जसपा औपचारिक रुपमा विभाजित हुन्छ । निर्वाचन आयोगले आधिकारिकता दिएका उपेन्द्र यादव जसपाको नेतृत्वमा पुग्दा महन्थ ठाकुर नेतृत्वमा जसपा (लोकतान्त्रिक) बनेको छ । यसको शृङ्खला अझै बढ्न सक्छ ।

    नेपालमा दल विभाजन नयाँ कुरा होइन । तर, लोकतान्त्रिक मान्यता र संसदीय मर्यादा विपरीत हठात रुपमा संसदलाई छलेर अध्यादेशमार्फत पार्टी फुटाउने नीति सरकारले अङ्गिकार गर्नु स्वीकार्य हुँदैन । संविधानले राज्यसञ्चालनको असहज परिस्थितिमा मात्र अध्यादेशको कल्पना गरे पनि असंवैधानिक ढंगबाट अध्यादेश ल्याएर सत्ता टिकाउने षड्यन्त्रमा सहभागी हुने प्रधानमन्त्री देउवाको नियतलाई उचित मान्न सकिँदैन । अन्य दल फुटाएर सत्तामा बसेर रमिता हेर्ने देउवाले ल्याएको दल विभाजन अध्यादेश खारेज हुनुपर्छ ।

    अध्यादेश आफैमा अलोकतान्धिक अभ्यास हो । यो अति आवश्यक विषयको कानुन हो । जसरीचर्को विवाद र आलोचनापछि जसरी अघिल्लो सरकारले अध्यादेश फिर्ता लिएको थियो त्यसैगरी देउवाले यो अध्यादेशलाई फिर्ता लिनुपर्छ । परमादेशबाट सत्तामा पुगेका देउवाको गलत शासकीय शैली नागरिकलाई स्वीकार्य हुँदैन । आज आफ्नो सत्ता जोगाउनका निम्ति अन्य दल फुटाउन चलाएको अस्त्र भोलिका दिनमा आफ्ना निम्तिसमेत घातक हुने निश्चित छ । संसदीय व्यवस्था र भर्खर अभ्यस्त हुँदै गरेको  नेपाली राजनीतिको गणतान्त्रिक एवम् संघीय व्यवस्थाको रक्षाका लागि पनि यो अध्यादेश खारेज गरिनुपर्छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार