logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • धनकुटाको तेलियादेखि प्रदेश १ को मुख्यमन्त्रीसम्म : को हुन् भीम आचार्य ?

    धनकुटाको तेलियादेखि प्रदेश १ को मुख्यमन्त्रीसम्म : को हुन् भीम आचार्य ?

    4.5K
    Shares

    काठमाडौं। भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन्। बुबा बालाप्रसाद आचार्य र आमा लक्ष्मीदेवीको कोखबाट २०१६ साल वैशाख १४ गते धनकुटा जिल्लाको तेलिया गाविस – ६ मा जन्मिएका आचार्य पार्टी विभाजन हुँदा भएको रस्साकस्सीपछि बिहीबार मुख्यमन्त्री बनेका हुन्।

    पार्टी विभाजन हुँदा गुट परिवर्तन गरेका आचार्यले मुख्यमन्त्री पद उपहार पाएका हुन्। माधव नेपाल समूहलाई छोडेर संस्थापन पक्ष अर्थात् केपी ओली समूहमा प्रवेश गर्दा बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री उपहार पाइन् भने प्रदेश १ मा आचार्यले मुख्यमन्त्रीको जिम्मेवारी पाए। नेपाल समूह छोडेका दुई नेताले गुट परिवर्तन गरेको केही दिनमै मुख्यमन्त्री पद उपहार पाएका हुन्। शेरधन राईको राजीनामा स्वीकृत भए लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नवनियुक्त मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

    Bhim-Achrya-CM.jpg

    शैक्षिक योग्यता र राजनीति
    व्यवस्थापन विषयमा स्नातकोत्तर तह अध्ययन गरेका आचार्य विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका हुन्। २०३२ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर उनी राजनीतिमा प्रवेश गरे।  २०३५-३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय भएर लागेपछि उनको राजनीतिप्रतिको लगाभ बढेको हो। 

    २०३६ सालमा इन्जिनियरिङ अध्ययन संस्थानको स्ववियु सचिव बनेपछि उनको राजनीतिमा नेतृत्वदायी भूमिकाको सुरुवात भयो। २०३८ सालमा सरस्वती बहुमुखी क्याम्पस, लैनचौरको स्ववियु सचिवमा निर्वाचित भएका आचार्य २०३८ सालमा तत्कालीन नेकपा (माले) को युथ लिगको सचिव बने। 

    २०३९ सालमा सम्पन्न अनेरास्ववियुको सातौं राष्ट्रिय सम्मेलनबाट उनी महासचिवमा निर्वाचित भए। स्ववियुको महासचिव बनेपछि उनले विद्यार्थी राजनीतिबाटै राष्ट्रिय राजनीतिका पाइला अगाडि सारेका हुन्।  २०३९ सालमा नेकपा (माले) लिडिङ युथ लिगको सचिवमा बनेर काम गरेका आचार्य २०४१ सालमा राजकाज मुद्दा अन्तर्गत २ वर्ष जेल र पटक पटक गरी ११ पटक गिरफ्तार भए।

    एमालेभित्र इमान्दार नेताको परिचय बनाएका आचार्य २०४४ सालमा नेकपा (माले) उपत्यका विद्यार्थी क्षेत्र हेर्ने पार्टी जिल्ला कमिटीको सचिव र अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य निर्वाचित भए।

    राजनीतिक परिवर्तनसँगै २०४६ सालको जनआन्दोलनमा नेकपा (माले) द्वारा गठित “प्रजातान्त्रिक आन्दोलन समन्वय समिति”मा उनले सचिवको भूमिका निर्वाह गरेका थिए।

    २०४६ पछि राष्ट्रिय राजनीतिमा सक्रिय आचार्य २०४६ सालको जनआन्दोलनको योजना निर्माणमा संलग्न भए।  २०४७-२०५५ सम्म नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीको सचिव बनेका आचार्य २०५४ सालमा नेपालगंजमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

    sapatha12.jpg

    विद्यार्थी, जिल्ला हुँदै केन्द्रीय राजनीतिमा होमिएका आचार्य २०५७÷०५८ मा पार्टी केन्द्रीय कार्यालयको सचिव बने। २०५८-२०६५ सम्म पार्टीको कोशी अञ्चल ईन्चार्ज बनेका आचार्य २०६४ को संविधानसभा सदस्य हुन्। राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आचार्यसँग २०६५- २०६९ सम्म नेकपा (एमाले) संसदीय÷संविधान सभा दलको प्रमुख सचेतक बनेर काम गरेको अनुभव छ।

    लाभको पद कमैमात्र लिएका आचार्य २०७० सालमा गठित मन्त्रिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा थिए। एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सचिव बनेका आचार्य एमाले प्रदेश १ का संयोजक हुन्।

    यसअघि २०७४ माघ २६ गते प्रदेश १ एमाले संसदीय दलको निर्वाचनमा राईका प्रतिस्पर्धी बनेका आचार्यले २४ मत ल्याएका थिए। राई भने प्रदेशसभाका ५१ सदस्यमध्ये २६ मत ल्याएर संसदीय दलको नेता चयन भएका थिए। प्रदेश १ मा ओली पक्षका मुख्यमन्त्री राई अल्पमतमा पर्ने  भएपछि राजीनामा दिन राजी भएका हुन् । राईले राजीनामा दिए लगत्तै उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । राई भने प्रदेशको नाम समेत नराखी मुख्यमन्त्री पदबाट बिदा भए ।

    bhim and sherdahn.jpg

    एमालेभित्रको विवादमा माधव नेपाल समूहमा रहेका आचार्य मुख्यमन्त्री बन्ने सम्भावना देखेपछि दोस्रो पुस्ताका १० नेतासहित ओली समूहमा प्रवेश गरेका हुन्। बागमती प्रदेशमासमेत माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्य ओली समूहमा प्रवेश गरेर मुख्यमन्त्री बनिसकेकी छन्।

    माधव नेपालले भने बुधबार नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)को प्रमाणपत्र निर्वाचन आयोगबाट पाइसकेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend