logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • माधव नेपालको पार्टी र शीतको आयु उही, घाम लाग्यो कि चैट ! (भिडियोसहित) 

    माधव नेपालको पार्टी र शीतको आयु उही, घाम लाग्यो कि चैट ! (भिडियोसहित) 

    6.3K
    Shares

    जब कम्युनिस्ट सत्तामा पुग्छन् तब फुटको खेल सुरु हुन्छ । माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेपछि  केन्द्र, प्रदेशदेखि स्थानीय सरकारसम्म उथलपुथल छ । नेता आरोप प्रत्यारोपमा व्यस्त हुँदा कार्यकर्ता विचलित छन् । एमाले विभाजनले कसलाई फाइदा भयो ? कसलाई घाटा भयो ? अब एमालेको भविष्य कस्तो होला ? थुप्रै प्रश्न उठेका छन् । एमाले र एकीकृत समाजवादी पार्टीका नेताका आआफ्नै तर्क छन् । पूर्वमन्त्री एवम् एमाले नेता गोकुल बास्कोटा माधव नेपालको पार्टी र शीतको आयु उही भएको बताउँँछन् । घाम लागेपछि त्यो चट हुने उनको तर्क छ। पार्टीले कारवाहीको सिफारिस गरेका सांसदलाई सभामुखले जोगाएको भन्दै उनले एमालेलाई कमजोर बनाउँछु  भन्ने सभामुखको भ्रम १५–१६ महिनापछि प्रष्ट हुने बताएका छन् । बास्कोटाले नेकपा विभाजन प्रचण्ड र माधव नेपालको अवैधानिक गर्भाधानको दोष देख्छन् । बास्कोटासँग सुनौलो नेपालका सम्पादक दिनेश लुइटेलले गरेको कुराकानी :

    – अरुलाई दोष लगाउन सजिलो छ । नेकपा एमाले विभाजनमा तपाईं आफ्नो दोष कति देख्नु हुन्छ ? 

    हामी एउटा मात्र दोष जिम्मा लिन्छौँ । हामीले एउटा सिस्टम नै खराब लिएर आएछौँ । जसले चुनाव जित्छ उसले नेतृत्व गर्छ भन्ने सिस्टम बन्द गर्नुपर्ने रैछ । त्यो बन्द गर्न सकेनौँ । त्यसले गर्दा समस्या भयो । नेताहरुका इच्छा पूरा भएनन् । त्यसप्रति दुःख छ । हामीले त्यो चाहिँ गल्ती गरेछौँ ।

    vlcsnap-2021-09-01-17h29m35s483.png

    – के गर्नु पर्थ्यो होला त ?

    जसले जिते पनि हार्नेलाई पनि नेतृत्व दिनुपर्छ भनेर लेख्नु पर्ने रहेछ विधानमा । 

    – यो त व्यङ्ग्य मात्र भयो नि ? 

    तपाईं सबैलाई थाहा छ । महाधिवेशनमा केपी ओलीले जित्नुभयो । चुनावको नेतृत्व उहाँले नै गर्नुभयो । अर्को अधिवेशन भएको छैन । उहाँले नै माओवादीसँग मिलाएर चुनावी तालमेल गर्नुभयो । त्यसको लाभ माओवादीले पनि पायो । एमालेले मात्र पाएको होइन । अध्यक्षमा पाँच वर्ष कुर्नसक्ने धैर्यता माधव नेपालमा भएन । सरकारमा पाँच  वर्ष कुर्नसक्ने धैर्यता माधव नेपाल र प्रचण्ड दुवैजनामा भएन । उहाँहरुले आफ्नो पार्टी आफै ढाल्नुभयो । हामीले दोषको के जिम्मा लिने र ? उहाँहरुले मागेको चिज नदिनु गल्ती भयो ।

    – पार्टी विभाजन त भइसक्यो,

    विभाजन होइन चोइटियो । माओवादीसँग मिल्न सकिएन । माधव नेपाललाई एमाले भएन ।

    – पार्टी चोइटिनुमा पनि अध्यक्ष ओलीको जय–जयकार गर्ने समूहको दोष होला ? 

    आलोचना गर्दा तपाईंलाई पनि झोक चल्छ । मान्छेको विशेषता नै त्यही हो । कस्तो गजब भन्दा ठिक हुन्छ । प्रशंसा खोज्ने कारण हुन्छ । कुनै पनि कुरा अकारण हुँदैन । प्रशंसा नै राजनीतिक कारण हो त ? हामीले त्यसरी पनि हेर्नुपर्छ । पार्टी अध्यक्षको प्रशंसा गरे भनेर जलन हुन्छ भने अब निन्दा गर्नुपर्‍यो । उहाँहरु निन्दा गर्दागर्दै बाहिरिने ठाउँमा पुग्नु भएको हो ।

    vlcsnap-2021-09-01-17h30m07s349.png

    – एमाले फुटमा पाार्टीभित्र पहिला आगो लगाउने, अनि रमिता हेर्नेलाई के भन्नुहुन्छ ? 

    उकास्ने र उकास्या भरमा चल्नु नै गलत हो । १० नेताले माधव नेपाललाई हनुमानको जस्तो शक्ति छ, पहाड नाघ्न सक्नुहुन्छ, समुन्द्र फड्किन सक्नुहुन्छ आफ्ना लागि होइन रामका लागि पुच्छरमा आगो झोस्न सक्नुहुन्छ भनेर उकासिदिँदा पुच्छरमा आगो लगाएर आफैँ जल्छन् भने हामी के गरौँ ?

    – सत्तामा पुगेपछि अध्यादेशबाट सत्ता चलाउने प्रयास गर्नुभयो । बाहिर आएपछि अध्यादेशले आफैँलाई खाने स्थिति आयो होइन त ?

    होइन हामी खुशी छौँ । यो २० प्रतिशत किन राख्या होला ? माधव नेपाललाई जाने मन छ भने प्रतिशतले रोक्न सक्नुहुन्न तपाईँ । पार्टी भनेको विचार हो, दृष्टिकोण हो, व्यवहार हो । तपाईं व्यवहारिक रुपमा मिल्न सक्नु हुन्न भने प्रतिशत र अनुशासनको डण्डाले केही गर्न सक्नु हुन्न । माधव नेपाललाई पाार्टी फुटाएर जानु परेपछि हामीले छेकवार लगााएर, बर्लिन वाल खडा गरेर, सगरमाथा खडा गरेर नजाऊ भन्दा पनि मान्दैनन् । व्यक्तिको स्वयम् प्रतिवद्धता चाहिन्छ । उहाँलाई एमाले चाहिँदैन भने फर्काउनुपर्ने कारण के छ ? उहाँ एक पटक होइन १५ वर्ष महासचिव बन्नुभयो । उहाँले पार्टीलाई भर्‍याङ मात्र बनाउनुभयो । अब उहाँको पार्टीमा गएका साथीहरुले पनि उहाँलाई भर्‍याङ मात्र बनाउँछन् । 

    एमालेमा पार्टी फुट्नु अगाडि माधव नेपाालको योगदान छ नि ? 

    एमालेको इतिहास छ । केशरजंग राजमाझीको पनि योगदान छ । उहाँले भत्काएर हिँडिसक्नुभयो नि, के नामधारी पार्टी बनाएर । न आन्दोलनको मैदानबाट जन्मियो । समानुपातिक मान्छेका मत बटुलेर पार्टी बनाएर के हुन्छ ? माधव नेपालको पार्टीले एउटा सिट जित्दैन । धाक जे दिए पनि हुन्छ । पुँजीवादी पार्टीसँग मिल्नुभएको छ । उहाँले के गफ दिने भन्या । उहाँले १६–१७ महिना मजा गर्नुहुन्छ । त्यसपछि माधव नेपालको सकियो । शीतको आयु र माधव नेपालको पार्टीको आयु उही हो । घाम लागेपछि चट् !

    vlcsnap-2021-09-01-17h29m51s186.png

    –पार्टी विभाजनमा देशी विदेशी शक्तिको खेल छ भनिन्छ नि ? 

    पार्टी विभाजनमा देश विदेशी शक्तिको भूमिका छैन । यो पार्टीको एकतालाई ध्वस्त पार्ने भनेको जंगली महत्वकांक्षा प्रचण्ड र माधव नेपालको हो । अवैधानिक गर्भाधान र गठजोड माधव नेपाल र प्रचण्डको हो । ईर्ष्या र कुण्ठाको राजनीति माधव नेपाल र प्रचण्डको हो । पदीय भोक र महत्वकांक्षाले पूरै भौँतारिएर जे भेट्यो त्यही खाने तरिकाले दौडिने काम गरेको अधैर्यताको नमूना उनीहरु हुन् । उनीहरुलाई रुपान्तरण गर्न सकिएला कि भन्ने थियो त्यो सकिएन । अब चुनाव हुन्छ । त्यसपछि माधव नेपाल रछ्यानमा हो कि चुह्लोमा बस्ने हो भन्ने कुरा जनताले फैसला गर्छन् । 

    – देउवाको दोष छ कि छैन पार्टी विभाजनमा ? 

    विभाजनमा देउवाको दोष छैन । उहाँलाई माधव नेपाल र प्रचण्डले प्रधानमन्त्री पद किस्तिमा बेचेका छन् । 

    – एमाले सांसदमाथि कारबाहीको सिफारिस भएपछिको सभामुखको भूमिकालाई कसरी हेर्नु भएको छ ? 

    सभामुख त सभामुख नै होइन रहेछन् । दलको कारबाही सभामुखले फेर्न सक्दैन । दलले कानुन अनुसार कारबाही गरिसकेपछि त्यसमा अध्ययनको अनुसन्धानको खोजबिनको, जाँचको, पुनरावेदनको कुनै व्यवस्था छैन । उनले खुरुक्क सूचना टाँसीदिने हो । सभामुखले तीनवटा मानक बनाए । सरिता गिरीलाई एक घण्टामा, टोपबहादुर र लेखराजहरुलाई ४८ घण्टामा र यतापट्टी ४८ दिनमा पनि नगर्नेगरी ! भनेपछि यो कुन लोकतान्त्रिक काम गरेको हो र ? उहाँ त पार्टीको कार्यकर्ता हो । प्रचण्डले जे भने त्यही गर्नुभयो । माधव नेपालको सहयोगी बन्नुभयो । एमालेलाई कमजोर बनाउँछु  भन्ने सभामुखको भ्रम पनि १५–१६ महिनापछि प्रष्ट हुन्छ ।

    vlcsnap-2021-09-01-17h30m45s534.png

    –तपाईंहरुको पक्षमा निर्णय नहुँदा सभामुख नै होइन भन्न मिल्छ र ? 

    पक्ष विपक्ष होइन । उहाँ सभामुख हो । तर सभामुखको मर्यादामा रहनु भएन भन्न खोज्या हो । सभामुखको भूमिका र दायित्वमा रहनु भएन भन्या हो । उहाँलाई भन्नु केही छैन, सदन चलाएर देखाउनू । उहाँको क्षमता त्यहाँ देखौँला । म तपाईँको मिडियामार्फत् भन्न चाहन्छु कोही कर्मचारी अर्थात् अरु प्रशासनका निकायहरुले कर्के नजर लगाउनु पर्दैन एमाले सकियो भनेर । चोइटिएको भनेको पार्टीको हैसियत के छ ? अन्य झुत्राझाम्राको के छ ? एमाले त मुढो हो मुढो । दर्के पानीमा पनि सल्केपछि मजाले सल्किन्छ । माघको ठन्डीमा पनि सल्केपछि हम्मेसी गल्दैन । 

    – केपी ओली तानाशाह बने भनेर आरोप लगाउनेलाई के भन्नुहुन्छ ?
     
    तानाशाह हुन त केपी ओलीले सैनिक प्रयोग गरेर, सत्ता कब्जा गरेर संविधान पैतालामुनी हाल्नुपर्‍यो नि । उनीहरु संविधान मिचेर परमादेशी सरकार बनाउँछन् र रातारात अध्यादेशी पार्टी बनाउँछन् । हिजो प्रतिगमन भन्ने मुख अनुहार, मान्छे, पार्टी, नेता के के भन्नुहुन्छ यिनै हुन् । त्यो त कार्यान्वयनमा आएन । 

    – सत्ता गठबन्धनको सहकार्य चुनावसम्म भन्ने छ त !

    उपियँहरुको एकता हुन्छ भन्ने मलाई विश्वास लाग्दैन । उपियाँको पनि एकता हुन्छ त ? ४५ दिनमा सरकार बनाउन सकेनन् । समयको बर्बादी अहिले चुनाव भइसक्थ्यो नि ! जनताको अधिकार खोसेर हिँडेका छन् । 

    – संघीयताको खुसुक्क घुसाइयो भन्नु भएको छ । तपाईं भन्नु भएको सांस्कृति राज्यको बहस चाहिँ के हो ? 

    यो लागू भइसक्यो । संविधानपछि पहिलो सरकार केपी ओलीको बन्यो । संघीयता लागू केपी ओलीले गर्नुभयो । संघीयता प्रशासनीक हिसाबले नेपालमा चाहिने थिएन । संघीयताको नेपालमा स्वीकारोक्ति नै षड्यन्त्रपूर्ण भयो । भारत गणतन्त्र भारत हो । संघीयता कुनै प्रणाली होइन । प्रशासनिक कुरा हो । 

    स्थानीय तहलाई सबै अधिकार दिए भइगयो नि । कुनै पनि प्रदेश आर्थिक रुपले सम्पन्न छैनन् । आफैँ कमाएर चलेको अवस्था प्रदेशको देखिएन । प्रशासनिक डेलिभरी दिएको छैन । राष्ट्रिय नीति बनाउने ठाउँमा त्यो छैन । ठूला योजना संघले गर्ने हो । संघीयता पहिला जातिगत आयो, अर्को क्षेत्रीय आयो । यो षड्यन्त्रकारी, डाका, नेपाल सिध्याउने, डलरे, बाहिरबाट फन्डिङ गरिएको विचारै फन्डिङ गरेको कुराबाट आएको हो । मान्नुपर्छ भन्छन् । संघीयताको  विरोधी हुँ । विरोध गरिरहन्छु । संघीयता खत्तम गर्नु चलखेलको कुरा होइन ।

    vlcsnap-2021-09-01-17h28m54s495.png

    – एमसीसीको विषयमा धारणा के छ ? 

    सरकारले ल्याउनुपर्छ । पहिला सरकारले ल्याएर सभामुखलाई दिएको थियो । तर, सभामुखले त्यो पोका फुकाउनु भएन । त्यसलाई बहसमा ल्याउनु भएन । सम्झौतामा के–के छ भनेर हेर्ने फुर्सद कसैलाई पनि भएन । हल्लैहल्लाको देश हो यो कोही विरुद्धमा देखिएका हुन् । सभामुखले पोका फुकाइदिएको भए हामी नेपाललाई आर्थिक, विकास निर्माणमा लाभ के हुन्छ हामी हेर्थ्यौँ । पहिला संसदमा आएपछि हामी छलफल गरौँला । वादभन्दा बाहिर नेपाली भएर सोच्नुपर्छ । 

    – तपाईंलाई सामाजिक सञ्जालमा सधैँ ‘७० करोड’ को प्रश्नले खेदिरहन्छ । किन ?
     
    ७० करोड कहाँ थियो ? कस्तो थियो ? कसले खायो ? कसले दियो ? कहाँबाट आयो ? कसैले मसँग छ तेरो गोलीमा हालिदिन्छु भनेर ल्याएको त होइन होला ? केही स्वार्थ थियो होला ? केही काम थियो होला । सम्झौता कहाँ भयो ? चिज के थियो ? झण्डै एक हजार पेज थियो कसैले हेरेकै छैनन् । कसको प्रस्ताव के थियो हेरेकै छैनन् । निर्णय भयो कि भएन हेरेकै छैनन् । सम्झौता भयो कि भएन हेरेका छैनन् । निकासा भयो कि भएन हेरेकै छैनन् । अनि कसैले नक्कली सक्कली अनेक बनाउँछन् । कसले के बनाएको हुन्छ यता हेर्छु म बोले जस्तो लाग्छ । उता हेर्छु म नै बोलेको जस्तो लााग्छ । डीप फेक प्रयोग गर्ने गरे । केहीलाई यसलाई खेद भनेर पैसा दिएका छन् भने खेदेका हुन् । २८ अर्बको हल्ला चलेको छ । मलाई २८ अर्ब कसैले देखाइदिनुपर्‍यो, नेपाल सरकारको प्रस्ताव । कसैको प्रस्ताव आएको वा हामीले त्यो स्वीकार गरेको । त्यो देखाइदिए म राजनीति नै गर्दिनँ, ल । सजायको कुरा छोडौँ । यसमा मेरो चुनौती हो । प्रश्न उठेपछि मैले मन्त्री पदबाट राजीनामा दिएको हुँ । मलाई सत्ताको संरक्षण चाहिएन । यस मामलामा पार्टीको पनि संरक्षण चाहिँदैन । कसैको आग्रहले गोकुल बाँस्कोटा भ्रष्ट हुँदैन ।

    थप भिडियोमा 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend