logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • संखुवासभा हत्या प्रकरण : नमिठो बचनले नरसंहार..

    संखुवासभा हत्या प्रकरण : नमिठो बचनले नरसंहार..

    4K
    Shares

    काठमाडौं। संखुवासभा सामूहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए। त्यसका उनी गाउँमा खेताला खोज्न बिहानै आफ्नो घरबाट निस्किए। बिहान पाँच बजेतिर घर माथिको बाटो हुँदै उकालो लागेका थिए।

    तर जुन घरबाट खेताला खोज्न उकालो लागे, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले बाटोमै तेजबहादुरलाई पछाडिबाट टाउकोमा हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।

    जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार मृतक तेजबहादुर दुई सय मिटर माथिका भतिजो नाता समेत पर्ने छिमेकी लोकबहादुरको घरमा उनका दुई दाजुभाइलाई खेताला भन्न गएका थिए। त्यही बेला लोकबहादुरले बाटोमै पछाडिबाट हिर्काएर तेजबहादुरको हत्या गरेको बयानमा स्वीकार गरेका छन्। 

    अनुसन्धानमा संलग्न प्रहरीका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। तर घटनास्थलमा घरका अन्य सदस्य आएपछि अरुलाई पनि मार्न बाध्य भएको उनको भनाइ छ ।

    लोकबहादुरले तेजबहादुरसहित उनकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या गरेका थिए।

    सबै कराउन थालेपछि आत्तिएका उनले पछि घरतिर गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ। प्रहीले यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर सबै जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ। 

    किन भयो नरसंहार ?

    तेजबहादुरलाई हत्या गर्नुपछाडि प्रहरीले बलियो कारण खुलाउन सकेको छैन। प्रहरीले आरोपित लोकबहादुरको घरमा रगत लतपतिएको कपडा र हत्यामा प्रयोग भएको हतियार भने बरामद गरेको छ। 

    आरोपित लोकबहादुरले मृतक तेजबहादुरले हेप्ने र नमिठो बचन लगाउने गरेको बताएका छन्।  तेजबहादुरका दुई छोरा विदेशमा छन्। लोकबहादुरलाई आफू विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो। तेजबहादुरको अरुलाई हेप्ने प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन। हेपाई खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन्।

    एक वर्षअघि उनकै घरमा लोकबहादुरकी आमा लडेकी थिइन्। गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भयो।

    आमाको मृत्यु पछाडि तेजबहादुरकै षडयन्त्र भएको लोकबहादुरको बुझाइ रहेछ। छटनाको अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यही रिसले हत्या गरेछन्।’ प्रहरीका अनुसार लोकबहादुर मानिसक रोगीसमेत रहेको खुलेको छ। लोकबहादुरले एक वर्ष अघिदेखि मानिसक रोगको औषधि समेत सेवन गर्ने गरेको पाइएको छ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend