logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • विधिमा कांग्रेस हाक्न अब म सभापति हुनुपर्छ : प्रकाशमान सिंह

    विधिमा कांग्रेस हाक्न अब म सभापति हुनुपर्छ : प्रकाशमान सिंह

    7.7K
    Shares

    कम्युनिस्ट पार्टी टुटफुट भइराखेका बेला नेपाली कांग्रेस १४ औं महाधिवेशनको दौडमा छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा फेरि सभापति बन्ने दाउमा छन्। देउवाबाहेक आधा दर्जन शीर्ष नेताको दौड सभापतिका लागि देखिन्छ। वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलसहित मैदानमा छन्। बिमलेन्द्र निधिले सभापति उम्मेदवारको रुपमा कार्यालय नै खोलेर प्रचारप्रसार सुरु गरेका छन्। सभापति उम्मेदवारको रुपमा कृष्णप्रसाद सिटौलाको दौडधुप पनि कम छैन। त्यही दौडमा नेता प्रकाशमान सिंह समेत सरिक छन्। नेता सिंहसँग कांग्रेस महाधिवेशन, पछिल्लो राजनीतिक घटनाक्रम र एमसीसी सम्झौताको विषयमा सुनौलो नेपालका सम्पादक दिनेश लुइटेलले गरेको कुराकानीको सम्पादित अंश : 

    कांग्रेस महाधिवेशनको मिति किन बिरालोले बच्चा सारेजस्तै तपाईंहरु निरन्तर सारिरहनु हुन्छ ?
    वर्तमान नेतृत्व असफल भयो भनेर हामीले भन्दै आएका छौँ। हाम्रा शीर्ष नेताले ठूलो संघर्ष गर्नु भएको छ। तर, महाधिवेशन प्रतिनिधिले दिएको म्यान्डेड अनुसार अगाडि बढ्नुपर्छ। उहाँहरुले यत्तिबेला पार्टी विधानले दिएको कर्तव्य निर्वाह गर्न नसक्दाको परिणाम हो। पार्टी सभापतिले जनताको चाहना र कंग्रेसका संस्थापक नेताले पार्टीमा बनाएको गरिमालाई व्यवस्थापन गर्न सक्नु भएन। सभापतिलाई महाधिवेशन गर्ने कन्फिडेन्ट नै नभएको देखिएको छ। लथालिंग तरिकाले पार्टी चलाएर कसैको भविष्य राम्रो हुँदेन। कांग्रेसलाई संस्थागत रुपमा अगाडि बढ्नुपर्छ। वर्तमान एजेन्डालाई स्थापित गरेर अगाडि बढनुपर्छ। आम नागरिकको चाहना पनि यही हो। जुन विधानमा टेकेर सभापति बन्नुभयो त्यसलाई नै उहाँले निरन्तर उलंघन गर्नुभयो। विधि र प्रक्रिया अनुसार महाधिवेशन गर्नुपर्छ। तिथि मिति तोकेर कार्यतालिका प्रकाशित गरेर मात्र हुँदैन। पार्टी सभापतिले पार्टीको विधानलाई नमान्दा अहिलेको परिणाम हामीले भोग्नु परेको छ। 

    अब महाधिवेशन मंसिरमै हुन्छ भन्नेर कसरी विश्वास गर्ने ? 
    महाधिवेशन गर्न धेरै ढिला भइसक्यो। संवैधानिक बाध्यतासमेत छ। त्योसमेत टरिसकेको छ। गर्न नसके पनि हामी लागि परेका छौँ भनेर निर्वाचन आयोगलाई पठाएको कुरा समाचारमा पढ्दै छौँ। समयमा गर्न नसक्नु नै वर्तमान नेतृत्वको असफलता हो। यो कुरा मैले भन्नै पर्दैन कामले देखाएको छ। 

    तपाईंको उम्मेदवारी घोषणा कहिले ?
    मैले भन्दै आएको छु। म नेचुरल रुपमै पार्टी सभापतिको उम्मेदवार हुँ। कतिपयले गणेशमानको छोरा भन्छन्। म नेताको छोरा हुँ। तर, म व्यवसायमा लागेर थाकेपछि राजनीतिमा आएको होइन। म साधारण कार्यकर्ता हुँदै केन्द्रको राजनीतिमा आइपुगेको छु। मलाई साधारण कार्यकर्ताले फिल्डमा काम गर्दाका समस्या, समाजले हेर्ने दृष्टि कस्तो हुन्छ भन्ने राम्रोसँग थाहा छ। राजनीतिमा लाग्नु भनेको सेवाको क्षेत्र हो। 
    पार्टीमा विधि, प्रक्रियाबाट विचलित भएर गरेका निर्णयविरुद्ध आवाज उठाउनुपर्छ। म विधिको विषयमा प्रश्न उठाउने मात्र होइन, पदमा गएपछि कार्यान्वयन गर्नुपर्छ भन्ने कुरामा प्रतिवद्ध छु। मेरो अनुभव पनि हो। दोस्रो नम्बर मात्र भएर पार्टीमा चाहेर पनि केही हुँदैन। १३ औं महाधिवेशनपछि कांग्रेस कमजोर हुँदा कम्युनिस्टको हालीमुहाली भयो। म नेतृत्वमा आएर कांग्रेसलाई सक्षम बनाउन चाहन्छु। यदि १४ औँ महाधिवेशनमा अनुभवी व्यक्तिलाई सभापति बनाउन नसके यो पार्टी प्रजापरिषद्को बाटोमा पुग्छ। 

    शेरबहादुर देउवासँगै आधा दर्जन नेता पार्टी सभापतिका उम्मेदवार हुनुहुन्छ। अन्य भन्दा तपाईं किन फरक ? 
    म संगठनकर्ता हुँ। काठमाडौं जिल्लामा सभापति हुँदा नमुना नै संगठन बनेको थियो। म अरु नेता जस्तो होइन। म २४ घण्टामा न्युनतम १६ घण्टा फास्टिङमा बस्छु। पार्टीलाई नेतृत्व गर्न स्वाास्थ्य हुनुपर्छ। स्वास्थ्य भएमात्र पार्टीको नेतृत्व गर्न सकिन्छ। अनुभव कम छैन। जेल गएको छु। लाठी खाएको छु। साधारण कार्यकर्ताले भोगेका सबै अनुभव मसँग छन्। समयको माग अनुसार १४ औं महाधिवेशनपछि पार्टीलाई प्रभावकारी बनाउन मेरो नेतृत्व आवश्यक छ। विधिमा पार्टीलाई चलाउन मेरो उम्मेदवारी पार्टी सभापतिका लागि हो। 

    सुरुमा उम्मेदवारी घोषणा गर्ने तर अन्तिममा शीर्ष नेताको पछाडि लाग्ने चलन छ। तपाईंमाथि पनि त्यही आरोप छ, स्वीकार गर्नुहुन्छ ? 
    १३ औं महाधिवेशनमा मैले वरिष्ठ नेता रामचन्द्र पौडेललााई सहयोग गरेको हुँ। तर, एउटा समय आएपछि शीर्ष नेताले नेतृत्वबाट हात झिक्नुपर्छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अब नेतृत्व हस्तान्तरण गर्नुपर्छ। आजको समयमा नयाँ नेतृत्व आए पार्टी राम्रो हुन्छ भनेर मैले अनुरोध गरिराखेको छु। हामी प्रजातान्त्रिक विचार र पद्धतिमा अगाडि बढ्नुपर्छ। 

    prakashman-singh.jpg

    प्रजातान्त्रिक पार्टी भन्नुहुन्छ। सभापतिले जे भन्नुभयो त्यही स्वीकार गर्नुहुन्छ किन ? 
    होइन हामीले पार्टीलाई विधि र विधानको आधारमा अगाडि बढाउनुपर्छ भनेर भनेका छौँ। हामीले नोट अफ डिसेन्ट राखेका छौँ। पार्टी सभापतिका अगाडि कुरा राखेका छौँ। विधि र नियम विपरित पार्टी सभापतिले गरेका कुराको विरोध गरेका छौँ।  

    कांग्रेसका त्यागी नेता गणेशमान सिंहको छोरा हुनुहुन्छ। उहाँको त्याग प्रधानमन्त्री पद दिँदा पनि नखाने खालको थियो। अहिले पार्टी सभापतिको उम्मेदवार हुनुहुन्छ। गणेशमानको मार्ग अनुशरण गर्न कति कठिन रहेछ ?

    मैले १३ औं महाधिवेशनको समयमा रामचन्द्र पौडेललाई साथ दिएको हुँ। म सबैको कुरा सुन्छु। पार्टीलाई राम्रो हुनेगरी पद छोडेकै छु। अघिल्लो अधिवेशनमा डा. शशांक कोइरालालाई महामन्त्री पद छोडेकै हुँ। पार्टी लथालिंग हुँदा हेरेर बसेको भन्दै गाली गरेपछि म १४ औं महाधिवेशनमा पार्टी सभापतिको रुपमा अगाडि बढेको हुँ। 

    गणेशमानको त्यागको ब्याज खाएर नेता बन्नु भयो भन्ने आरोप पनि छ, के भन्नु हुन्छ ?
    म व्यवसाय गरेर राजनीतिमा प्रवेश गरेको भए ब्याज खायो भन्न मिल्थ्यो। म तल्लो तहदेखि केन्द्रीय राजनीतिमा छु। म संगठक हुँ। मेरो रुचि नै त्यही हो। यस्ता आरोपको कुनै अर्थ छैन।

    यत्ति ठूलो लोकतान्त्रिक पार्टी कांग्रेस अहिले चाहिँ किन लोकतान्त्रिक बन्न सकेन ?
    नेतृत्व गर्ने मान्छेमा कमिकमजोरी छ। महाधिवेशन भएन भने गुपचुप हुन्छन्। चुनाव आएमात्र उठ्छन्। यसरी हुँदैन। पार्टीलाई जीवन्त बनाउनुपर्छ। एउटा स्वास्थ्य मान्छे जो २४ घण्टा सक्रिय हुन्छ। पार्टीलाई अधिवेशन र चुनावताका मात्र सक्रिय बनाउने होइन। पार्टी विधान अनुसार वडादेखि केन्द्रसम्मका कमिटीलाई क्रियाशिल राख्नुपर्छ। यो गर्न नसक्दा पार्टी असान्दर्भिक र कमजोर हुन्छ।

    जतिसुकै उम्मेदवारी घोषणा भए पनि अहिलेको अवस्थामा सभापति शेरबहादुर देउवालाई चुनौती दिने नेता पार्टीमै नभएको बताइन्छ। यथार्थ के हो ?
    ५६ जिल्लाको वडा अधिवेशन भएपछि उहाँले किन महाधिवेशन मिति हेरफेर गर्नुभयो ? यसरी दुःख दिनु हुँदैन। विधि र नियम अनुसार क्रियाशिल सदस्यता दिनुपर्छ। उहाँहरु आफ्ना मान्छे राख्न सक्रिय हुनुहुन्छ। निर्वाचन समिति स्वतन्त्र हुनुपर्छ। निर्वाचन समितिले गर्ने काम जिल्ला सभापतिले गर्ने ? यो त भएन नि। यो शैलीले पार्टीलाई राम्रो भएको छैन।

    २० जिल्लामा किन वडा अधिवेशन हुन सकेन ?
    १३ औं महाधिवेशनपछि हरेक चार महिनामा अधिवेशन हुन्छ भन्ने सबैलाई थाहा थियो। क्रियाशिल सदस्य सबै पार्टी सभापतिले आफैसँग राख्न थालेपछि समस्या हुन्छ। २० जिल्लामा उहाँहरु हिसाबकिताब गर्दै हुनुहुन्छ। उहाँहरु थपथाप गरेर मात्र अधिवेशन गर्ने तयारीमा हुनुहुन्छ। डडेलधुरामा जिल्ला सभापतिलाई अस्वीकार गर्ने अनि ललितपुरमा जिल्ला सभापतिले सूची सार्वजनिक गर्ने ? यो त गलत छ। यसकै असर २० जिल्लामा देखिएको छ।

    सभापति देउवाकै गृहजिल्ला डडेलधुरामा किन यत्ति धेरै विवाद ?
    यो घटनाले पार्टी सभापति र कांग्रेसलाई राम्रो गरेको छैन। उहाँलाई हामीले अनुरोधसमेत गरेका थियौँ। उहाँले म मिलाउँछु भन्नु भयो तर अन्तिममा प्रहरी लगाएर मिलाउनु भएछ !  

    तल्लो पुस्ताका नेता किन संयुक्त उम्मेदवारी दिनुहुन्न ? 
    राजनीतिमा मात्र होइन सबै व्यवसायमा पदको खोजी हुन्छ। म यो पार्टीलाई विधि र सिद्धान्तको आधारमा चलाउन चाहन्छु। राष्ट्र संकटमा पर्दा कांग्रेसले जन्मकालदेखि नै नेतृत्वदायी भूमिका खेलेको छ। पार्टी संस्थागत हुन नसक्दा कांग्रेस कही पुगेन। वडा, पालिका, प्रदेश, संघीय निर्वाचन क्षेत्र र सात प्रदेशसँगै केन्द्रीय कमिटीलाई जीवन्त बनाउने काम म गर्न सक्छु। त्यसका लागि म विश्वस्त छु। 

    अब सरकार र संसदका कुरा गरौँ। जनताले प्रतिपक्षी दलमा बस्न जनमत दिए। तर, तपाईंहरु गलत बाटोबाट सरकारमा पुग्नुभयो होइन ?
    हामी प्रतिपक्षमै बस्नुपर्छ भनेर बसेका हौँ। दुई तिहाइको सरकारले संविधान मिच्न थालेपछि हामी सरकारमा पुगेका छौँ। कानुन भनेको मै हुँ भनेर दुई तिहाइको सरकार अगाडि बढेपछि त्यसलाई रोक्न हामी सत्तामा पुगेका हौँ। पुराना अभ्यासलाई रोक्न संविधानमा केही प्रावधान राख्यौँ। तर, त्यसलाई केपी ओलीले उलंघन गरेपछि हामी सत्तामा पुगेका छौँ। 

    सरकार किन दुई महिनासम्म विस्तार हुन सकेन ?
    विस्तार नभए पनि सरकार त छ नि। ओलीको सरकार भन्दा हजार गुणा राम्रो छ। कोरोना बढेका बेला बेसारपानी खाए हुन्छ भनेर हेलचेक्याँई गरेर बस्नु भएको थियो। जब पाँच हजार मान्छे बितेपछि मात्र उहाँको होस् खुलेको हो। हामीले काम गर्ने प्रयास गरेका छौँ।

    prakashman1.jpg

    कांग्रेसको सकार बनेपछि के भयो त ? 
    खोपको मात्र बढेको छ। १९ प्रतिशतले पहिलो डोज खोप लिएका छन्। दोस्रो डोज नै खोप लिनेको संख्या १८ प्रतिशत बढी छ।

    मन्त्रीमा तपाईंको पनि दाबेदारी बाँकी छ, भनिन्छ नि ? 
    अहिले छैन। मैले पार्टीको संगठनमा जोड दिनुपर्छ। पार्टी राम्रो भएपछि मात्र मन्त्रीको कुरा आउछ।

    संसदका गतिविधिलाई कसरी लिनु भएको छ ?
    संसदको बदनाम गर्नेकाम प्रतिपक्षी दलले गरेको छ। यस्तै गरेपछि मात्र सबैको ध्यानाकर्षण हुने भएकाले यस्तो गरेको हो कि ? हामी पनि प्रतिपक्षको भूमिकामा थियौँ। हामीले जिम्मेवार ढंगले भूमिका निर्वाह गर्यौँ। एमालेको शैली गलत छ।

    एमसीसीको विषयमा तपाईंको धारण के ? 
    म एकदम प्रष्ट छु। राजनीतिमा इमान्दारीता देखाउनुपर्छ। एमसीसी सम्झौता कांग्रेसले मात्र गरेको होइन। कम्युनिस्ट पार्टी सकारमा हुँदा अगाडि बढेको हो। सरकारमा हुँदा कसैले विरोध नगर्ने अनि प्रतिपक्षमा पुगेपछि विरोध गर्ने शैली ठिक छैन। राजनीतिक पार्टी र नेता जिम्मेवार हुनुपर्छ। देशको हितमा छ भने त्यसलाई कार्यान्वयन गर्नुपर्छ।

    सम्भौता भइसकेको अनुदानको विषयमा किन यत्तिधेरै विरोध भइराखेको होला ?
    प्रजातान्त्रिक मुलुक हो। विरोधको आवाज पनि सुन्नुपर्छ। अहिले सरकारले प्रष्ट पार्ने प्रयास गरेको छ। नेपालको विकासलाई कुन मोडलमा अगाडि बढाउने भन्ने योजना आवश्यक पर्छ। एमसीसीको कार्यक्रमको मोडालिटी अरु विकासका परियोजनामा लागू गर्न सकियो भने राम्रो हुन्छ।

    एमसीसी स्वीकार गर्नुपर्छ भने तपाईंको धारणा हो ? 
    कांग्रेसले सम्झौता गरेको हो। सम्झौता गरिसकेपछि संसदको विधि प्रक्रिया पूरा गरेर अगाडि लानुपर्छ। देशलाई विकास गर्नुपर्ने छ भने शंकाको दृष्टिले हेर्नु हुँदैन। कि हामीले विश्वमा हामी एक्लो देश हो भन्न सक्नुपर्छ। नत्र खुला समाजमा सहयोग लिने र दिने गर्नुपर्छ। यसमा राष्ट्रियताको विषयमा अप्ठेरो पर्दैन भनिसकेपछि अब फेरि किन फर्किने ?

    अधिकांश विद्वानले यसको विरोध गरिराखेका छन् नि ? 
    अधिकांशको के के स्वार्थ होला। पत्रकारिता पनि मिसन पत्रकारिता छ। बौद्धिक व्यक्ति पनि स्वार्थमा अल्झिएका छन्। देश विकासका लागि एमसीसी उपयोग गर्दा के बिग्रन्छ ? 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend