logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • पाँच महिनापछि बेनी–दरबाङ सडक निर्माण पुनः सुरु

    पाँच महिनापछि बेनी–दरबाङ सडक निर्माण पुनः सुरु

    7K
    Shares

    म्याग्दी । बेनी–दरबाङ सडक निर्माणको मुख्य ठेकेदार पाँच महिनापछि काममा फर्किएको छ । 

    जिल्लाको रणनीतिक महत्वको सो सडक खण्डलाई सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको थियो । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई पूर्णता दिन मुख्य ठेकेदारले बल्ल काम सम्हालेका हो ।

    समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधि दयाराम थापा गत चैतदेखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो । मुख्य ठेकेदार समानान्तरण निर्माण कम्पनीका इञ्जिनीयर महेन्द्र शाहले सडक निर्माणलाई पूर्णता दिने गरी काम शुरुआत गरेको जानकारी दिए । 

    ‘यही भदौ पहिलो हप्तादेखिनै ४० मजदूर, छ स्काभेटर, चार टिपर, एक ट्र्याक्टर र एक ब्याकुहोलोडरले काम गरिरहेका छन्’, उनले भने, ‘आगामी वैशाख महिनाभित्र कालोपत्रे गर्ने लक्ष्यसहित उपकरण र मजदूरको सङ्ख्या बढाएर फरक–फरक ठाउँमा परिचालन गर्दैछौँ ।’ 

    बाह्र किलोमिटर ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइका दरले कालोपत्रे गर्ने जनाइएको छ । विसं २०७४ असोज ४ गते रु। ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका इञ्जिनीयर सन्तोष अर्यालले पछिल्लो पटक आगामी चैत महिनासम्म ठेक्काको म्याद थपिएको जानकारी दिए ।

    चोथौ पटक म्याद थप भएको यो आयोजनाका ठेकेदारले पर्याप्त मजदूर र उपकरण परिचालन तथा सामग्री जुटाउन नसक्दा ढिलाइ भएको हो । म्याग्दीको ‘लाईफ लाइन’ मानिने २०६३ मा मार्ग खुलेको बेनी–दरवाङ सडक बर्खामा बाढी र पहिरोले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । बेनी–तातोपानी खण्डको सडक विस्तार गरेर अधिकांश ठाउँमा बेस राखेको थियो । बाँकी रहेको नाली, पर्खाल निर्माण र पहिरो पन्छाउने काम सुरु गरेको ठेकेदार कम्पनीका इञ्जिनीयर शाहले बताए। बर्खा रोकिएपछि बेनी–तातोपानी खण्डमा कालोपत्रे र तातोपानी–सिम खण्डमा विस्तार, पर्खाल र नाली निर्माण सुरु गर्ने उनले बताए ।

    तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । 

    कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौताको तयारी गरेको कार्यालयका इञ्जिनीयर सञ्जय सुवेदीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend