logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • रियल बेटिस र इल्चे विजयी

    रियल बेटिस र इल्चे विजयी

    3.2K
    Shares

    एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल बेटिस र इल्चे विजयी भएका छन् । रियल बेटिसले ग्रानाडालाई उसैको मैदानमा २–१ गोलले हरायो । अर्को प्रतिस्पर्धात्मक खेलमा इल्चेले गेटाफेमाथि १–० गोलको कठिन जित निकाल्यो । 

    रियल बेटिसको जितमा रोड्री र सर्जियो कानालेसले गोल गरे । ग्रानाडाका लुइस सुवारेजले सान्त्वना गोल गरेका थिए । रोड्रीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पाहुना टोलीको उत्साह बढाए । उनले गुईडो रोड्रीग्वेजको पासमा गोल गरेका थिए । 

    त्यसपछि ६६औं मिनेटमा ग्रानाडाका लुइसले गोलगर्दै खेललाई १–१ को बराबरीमा ल्याए । लुइसले रुवेन रोचिनाको पासमा गोल गरेका थिए । रोमाञ्चक खेलको ८९औं मिनेटमा सर्जियोले गोलगर्दै रियल बेटिसलाई जिताए । उनले पनि गुईडो रोड्रीग्वेजको पासमा गोल गरेका थिए । 

    खेलमा बेटिसले ५७ र ग्रानाडाले ४३ प्रतिशत बल पोसेसन राखेको थियो । बेटिसका सर्जियो कानालेस ‘म्यान अफ दी म्याच’ भए । जितसँगै बेटिस नवौं स्थानमा उक्लिएको छ । बेटिसले चार खेलबाट पाँच अंक बनाएको छ । पराजित ग्रानाडा दुई अंक सहित १७औं स्थानमा छ । 

    यसैगरी अर्को खेलमा इल्चेलाई जिताउन लुकास पेरेज नायक बने । लुकासले ६९औं मिनेटमा जोहन मोजिकाको पासमा गोल गरेका थिए । खेलमा गेटाफेले ५६ प्रतिशत बल पोसेसन राखेको गेटाफेले गोल फर्काउन सकेन । इल्चेका जोहन मोजिका ‘म्यान अफ दी म्याच’ भए । जितसँगै चार खेलबाट पाँच अंक बनाएको इल्चे १०औं स्थानमा छ । पराजित गेटाफे अंकबिहिन बन्दै १९औं स्थानमा छ । 

    लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १० अंक छ । रियलसँगै समान १० अंक बनाएको भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड गोलअन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष प्रशारण भईरहेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend