logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    काठमाडौंका घरघरमा मिनी क्यासिनो !

    काठमाडौंका घरघरमा मिनी क्यासिनो !

    4.5K
    Shares

    काठमाडाैं । बुधबार राति कागेश्वरी मनहरा नगरपालिकास्थित हरहर महादेव चोकमा कमला दहालको घरमा अड्डा जमाएर जुवा खेलिरहेका जुवाडेलाई प्रहरीले नियन्त्रणमा लियो। जुवाको खालमा प्रहरी पुग्दा चकित बन्यो। मिनी क्यासिनोमा निगरानी गर्न बेलाबखत पुग्ने प्रहरी अधिकारीले घर भित्रै अड्डा जमाएर बसेका जुवाडेको हर्कत देखेर छक्क पर्नु स्वभाविक थियो। 

    खेल्ने, हेर्ने र रेक्की गर्न बसेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिँदा जुवाको खालबाट नगद १८ लाख ७५ हजार पाँच बरामद गर्‍यो। राती साढे १२ बजे प्रहरी पुग्दा भागदौड भने मच्चिन पाएन। क्यासिनोमा प्रयोग हुने क्वाइनलाई आधार मानेर जुवा खेलाइएको थियो । जुवाको खालबाट प्रहरीले ४० वडा ग्रीन क्वाइन, ८० वटा रेड क्वाइन र एक सय ४० वटा ब्लु क्वाइन बरामद गरेको थियो। जुवा खेलाउनेले एउटा ग्रीन क्वाइनलाई १० रुपैयाँ, एउटा रेड क्वाइनलाई पाँच सय रुपैयाँ र एउटा ब्लु क्वाइनलाई हजार रुपैयाँ मानेका थिए। 

    जुवा एक महिलाले खेलाइरहेकी थिइन्। ठूलो धनराशीसहित जुवा खेल्न बसेको सूचनाको आधारमा प्रहरीले छापामारेको यो घटना पनि प्रहरीका लागि ठूलै उपलब्धी बन्यो। छिमेकीकै सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो। जुवाको खालमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूसम्बद्ध युवाहरु समेत खेलिरहेका थिए।

    pakrau 1.jpg

    काठमाडौंका घरमा मिनी क्यासिनोकै रुप दिएर जुवा खेलाउने गरेको यो घटना एउटा प्रतिनिधिमूलक मात्रै हो। काठमाडौं मातहतका प्रहरीले गत मंसिरदेखि असोजको पहिलो सातासम्म ८९ वटा जुवाको अखडामा छापा मारिसकेको दृष्टान्त छ। सबैभन्दा बढी जुवा खेल्ने र खेलाउने स्थान भनेको बौद्ध, थानकोट र लैनचौर परेका छन्। यी स्थानमा ११ महिनाको अवधिमा क्रमशः २०, १३ र १३ वटा जुवाको खालमा प्रहरीले छापा मारिसकेको छ। 

    ११ महिनामा प्रहरीले जुवाको खालबाट मात्रै एक करोड ७९ लाख ३४ हजार नौ सय ८७ रुपैयाँ बरामद गरिसकेको छ। यो रकम राज्यको ढुकुटीमा गइसक्यो। 

    डीएसपीले नेतृत्व गर्ने १४ वटा वृत्त मध्ये १२ वटा वृत्तले जुवाको अड्डामा छापा मारिसकेका छन्। सिंहदरबार वृत्त र कमलपोखरी वृत्तले भने ११ महिनामा एउटा पनि जुवामा आँखा पुर्‍याएको देखिँदैन। 

    गत भदौ १ गते राति १० बजे तारकेश्वर नगरपालिका वडा नं. ८ भेटघाट चोकस्थित मुना बुढाथोकीको घरमा जुवा खेल्दै गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको थियो। वृत्त वालाजुबाट  डीएसपी निर्मल बुढाथोकी आफैँ खटिएर जुवाको खालमा छापा मारेका थिए। प्रहरीले जुवाको खालबाट दुई लाख ६९ हजार नौ सय बरामद गरेको थियो। 

    यसअघि साउन २४ गते बानेश्वर प्रहरीले मध्यबानेश्वरमा रामकृष्ण केसीको साढे दुई तलाको घरको ग्राउन्ड फ्लोरमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको थियो। जुवाको खालबाट प्रहरीले चार लाख ४८ हजार पाँच सय रुपैयाँ बरामद गरेको थियो। जुवाको खालबाट प्रहरीले विभिन्न बैंकका चेक, रकम जम्मा गरेको भउचर लगायतका समाग्री बरामद गरेको थियो। 

    प्रहरीले जुवा खेलेको सूचना पाएसम्म छापामारेर नियन्त्रणमा लिई कारबाही गरेको बताउँछन्, महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी अशोक सिंह। राजधानी त्यो पनि रिङरोड आसपासका क्षेत्रमा गोप्य रुपमा घर नै भाडामा लिएर मिनी क्यासिनो शैलीमा जुवा खेल्ने गरेको सूचना पाएसँगै प्रहरीले कारबाही अगाडी बढाएको दावी सिंहको छ। उनले भने,‘घरै पिच्छे जुवा खेल्ने गरेको छ भनेर सोध्ने कुरा पनि होइन। जुवातास नखेलौँ भनेर सचेतना गर्दै आएका छौँ। तर, पनि नियन्त्रण छैन।’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार जुवाको कानुन कडा भए पनि कार्यान्वयन पक्ष फितलो भएकाले जुवा मौलाइरहेको छ। ‘जुवा खेल्ने र खेलाउनेलाई पनि कानुनमा जेलसजायको व्यवस्था छ’, ती अधिकृतले भने,‘ तर जुवा खालबाट पैसा बरामद भएपछि राष्ट्रको ढुकुटीमा जान्छ भनेर खेल्नेलाई धरौटीमा छाडिदिने व्यवस्थाले निरुत्साहनको पाटो कमजोर भएको छ।’ 

    pakrau 2.jpg

    कानुनमा के छ ?

    मुलुकी अपराध संहिताले बाजी राख्नेहरुमाथि पनि कडा सजायको व्यवस्था गरेको छ । जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेहरुलाई जेल सँजायको व्यवस्था गरेको छ। 

    संहितामा उल्लेख भए अनुसार जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । तर, सिडियो कार्यालयले धरौटीलाई प्राथमिकतामा राखेको पाइन्छ। दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था कानुनमा छ। 

    तेस्रोपटक पनि जुवा खेल्ने र खेलाउने समातिएमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिने व्यवस्था कानुनमा उल्लेख गरिएको छ। जुवा खेल्नेमात्र नभइ अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ ।

    यस्ताे छ तथ्यांक 

    वृत्तको नाममुद्दा दर्ता संख्यापक्राउ संख्याबरामद रकम
    थानकोट१३९१९८४८६०
    लैनचौर१३१०९२९९९९००
    बालाजु४५५३२३६०
    महाराजगंज६०१४४६४३०
    बानेश्वर४७२५९६९१०
    कालिमाटी५०३४२४७४०
    किर्तिपुर३२५००३६२
    जनसेवा४९१९७६०८५
    गौशाला१७१६०५२०
    स्वयम्भू२४६२७१३०
    दरबारमार्ग२०११४४०००
    सिंहदरबारछैनछैनछैन
    कमलपोखरीछैनछैनछैन


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend