logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र

    विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र

    3.5K
    Shares

    काठमाडाैं । विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भुमिकाको अभाव तथा स्थान सुनिश्चित नगरि योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो । 

    विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन वर्ष पुगेको छ । २०७७ साल चैत्र २ गते विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमकाबीच आकाशे पुलको विधिवत् शिलान्यास गरेका थिए । 

    त्यसयता आकाशे पुलको डिजाइन गरि ठेक्का समेत लगाइए पनि हालसम्म पुल निर्माणले पूर्णता पाउन सकेको छैन । पुल बनाउने ठाउँको स्थलगत अध्ययन नगरी निर्माण प्रक्रियालाई अघि बढाइएको तथा सम्बन्धित निकायको ढिलासुस्तीका कारण निर्माण अलपत्र परेको स्थानीय तथा सरोकारवालाहरुले बताउने गरेका छन् ।

    महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ साल फागुन १६ गते टेण्डर निकालेको थियो । त्यसको झण्डै एक वर्षपछि अर्थात् २०७७ माघ २८ गतेमात्र महानगरले ढिला गरी ठेकेदारहरुको टेण्डर स्वीकृत गरेको थियो । नगरक्षेत्रको सुन्दरता अभिवृद्धि र सडक वारपार गर्न पैदल यात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछि र कंचनबाडीचोकमा गरि तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउनेगरि योजना अघि बढाइएको छ । 

    त्यसमध्ये बरगाछी समेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर १२ को कला बिल्डर्सले पाएको छ भने कंचनबाडी चोकमा आरके बिल्डर्सले निर्माणको ठेक्का पाएको छ । 

    महानगरले तीनवटै पुलका लागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ । घाँसचोक र बरगाछीमा आकाशे पुल निर्माणको जिम्मा पाएको कला बिल्डर्सले आवश्यक सामाग्री र प्राविधिक भारतबाट झिकाइसके पनि बनाउने ठाँउको सुनिश्चिता हुन नसक्दा निर्माणले पूर्णता पाउन नसकेको बताएको छ । 

    यसअघि भट्टीमोड छेउको घाँसचोकमा पुल बनाउने भनिए पनि त्यो ठाँउमा अन्य संरचना निर्माण हुने भएपछि त्यहाँको पुललाई पाञ्चाली मोडमा सारिएपछि विवाद सृजना भएको हो । कला बिल्डर्सले सो ठाँउमा भदौ १८ गते यता जग निर्माणको काम सुरु गरे पनि स्थानियको विरोधका कारण निर्माण कार्य रोकिएको छ । पुल निर्माण गर्न लागिएको छेउका जग्गा धनीहरुसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित जग्गा धनीहरुले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्डर्सका प्रोपाइटर सञ्जय यादव बताउँछन् ।

    विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले भने महानगरको विकाससँग जोडिएको विषयवस्तुमा सबैले सहयोग गर्नुपर्ने बताए । देखिएका विवादहरुलाई समाधान गरेर चाँडै निर्माणलाई पूर्णता दिने उनकाे भनाइ छ ।

    महानगरपालिकाले आकाशे पुलको अवधारणा ल्याए पनि सरोकारवाला पक्षहरुसँग पर्याप्त छलफल नगरिएको र स्थानीयलाई विश्वासमा लिन नसकिएका कारण निर्माण सम्पन्न हुन सकेको छैन । यसको समयमा निर्माण कार्य सम्पन्न गर्नका लागि सरोकारवाला सबै पक्ष र निकायबीच समन्वय हुन जरुरी देखिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend