logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • घोडाघोडी नगरपालिकालाई पर्यटकीय हब बनाउँछौँ : मेयर चौधरी 

    घोडाघोडी नगरपालिकालाई पर्यटकीय हब बनाउँछौँ : मेयर चौधरी 

    6.7K
    Shares

    कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले नगरपालिकालाई पर्यटक र शिक्षाको हब बनाउने बताएका छन्। शिक्षा लिनका निम्ति घोडाघोडी जानुपर्छ भन्ने बनाउने उनको योजना छ। सुनौलो नेपालसँगको कुराकानीमा   घोडाघोडी ताललाई अध्ययनको केन्द्र बनाउन आफू लागि परेको उनले बताएका हुन्।

    तालक्षेत्र तराईको सबैभन्दा ठूलो सिमसार र जैविक क्षेत्र भएको उनको भनाइ छ। उनले यो क्षेत्र शिक्षाको नमुना स्थल बन्ने उल्लेख गरे। ‘घोडाघोडी नगरपालिका घोडाघोडी ताल क्षेत्रको नामबाट रहन गएको हो। घोडाघोडी तालक्षेत्र नेपालको तराई क्षेत्रको सबैभन्दा ठूलो सिमसार क्षेत्र हो। यो जैविक क्षेत्र हो’, चौधरी भन्छन्, ‘हामी निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि शैक्षिक अवस्थालाई माथि उठाएका छौँ। यसलाई शैक्षिक हब बनाउनका निम्ति लागि परेका छौँ।’

    शिक्षा लिनका निम्ति घोडाघोडी जानुपर्छ भन्ने अवस्था बनाउने उनको भनाइ छ। अध्ययनका निम्ति भए पनि घोडाघोडी एक पटक पुग्नुपर्छ भन्ने बनाउने अभियानमा मेयर चौधरी लागि परेका छन्।

    घोडाघोडी ताल एउटा सपनाको केन्द्र भएको भन्दै उनले सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्घोष गरे। विगतमा सरकारले यसको पहिचान गर्न नसके पनि स्थानीय सरकारले यसको प्रचारप्रसार गरिरहेको उनको भनाइ छ। नगरपालिकाले घोडाघोडी ताल क्षेत्र संरक्षणका निम्ति घोडाघोडी पर्यटन बोर्ड गठन गरेर काम भइरहेको उनले बताए। 

    ‘घोडाघोडी ताल हाम्रो एउटा सपना हो। नगरपालिकालाई पर्यटकीय हबको प्रमुख गन्तव्य बनाउन सकिन्छ। सुदूरपश्चिमको शुक्लाफाँटा,  खप्तड, रामारोसनपछि घोडाघोडी ताल नै प्रमुख गन्तव्य हो’, चौधरी भन्छन्, ‘विगतमा नेपाल सरकारले यसलाई धेरै पहिचान गर्न सकेन। जब हामी स्थानीय सरकार पुग्यौँ तब घोडाघोडी पर्यटन बोर्ड बनाएका छौँ।’ 

    बोर्डले पर्यटन, वन र वातावरणको क्षेत्रमा काम गरिरहेको उनले बताए। बोर्डको अध्ययनबाट नै पर्यटकीय सम्भावनाको पहिचान गर्ने उनको भनाइ छ।

    ‘बोर्डमार्फत त्यसलाई संरक्षण गर्ने र पर्यटकीय सम्भावनाको विकास गर्ने सन्दर्भमा लागि परेका छौँ। अहिले जलाधारको विकास गर्ने गरी काम भइराखेको छ’, मेयर चौधरीले थपे, ‘घोडाघोडी ताल प्रवेशका निम्ति गेट बन्दैछ। धार्मिक क्षेत्र छ। त्यहाँ वर्षमा १०–११ पटक धार्मिक मेला लाग्छन्। ताल क्षेत्र घुम्नका निम्ति बाटो बनाउने काम गर्दैछौँ। पर्खाल राखेर ताल संरक्षणको काम गर्दैछौँ।’ 

    जलथर जनावरको संरक्षण केन्द्र बनाउने गरी गुरु योजना तयार पारेर संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएको उनले बताए। ‘जलथर जनावरको संरक्षण केन्द्र बनाउन लागेका छौँ। नगरका पर्यटकीय क्षेत्र अध्ययनका लागि बनेको बोर्डले गुरु योजना बनाइसकेको छ’, उनले भने, ‘यो विषयमा संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौँ।’ 

    घोडाघोडी ताल क्षेत्र पाइने पन्छीको पहिचानको काम भइराखेको र पारिस्थितिक प्रणाली अनुसार पहिचान र संरक्षणमा लागेको उनले बताए। ‘ताल क्षेत्रमा पाइने पन्छीको पहिचान गरेका छौँ। त्यसमा के गर्दा संरक्षण गर्न सकिन्छ र पारिस्थितिक प्रणाली कसरी अक्षुण रहन्छ भन्ने कुरामा सचेत छौँ’, मेयर चौधरीले भने, ‘त्यसलाई एउटा जैविक चिडियाघर बनाउन लागेका छौँ।’
    ताल घुमेर चरा अवलोकनका लागि पैदल मार्ग बनाउन नगरपालिकाले काम गरिराखेको छ। ‘अहिले तीन किलोमिटर लामो पैदल मार्ग बनाउने काम भइराखेको छ। कोभिड नआएको भए धेरै कुरा देख्न सकिन्थ्यो’, चौधरी भन्छन्, जैविक विविधतालाई कायम राख्ने गरी निर्माणको काम हुन्छ।’ 

    घोडाघोडी नगरपालिकामा मात्र ६८ वटा सामुदायिक वन छन्। डुबान र कटानका कारण विकासमा समस्या भएको उनको भनाइ छ। यसअघि गाडा मात्र छिर्ने बाटोलाई फराकिलो पारेको र सडक निर्माणसँगै विस्तारलाई तीव्रता दिएको उनको भनाइ छ।  

    ‘समथर जमिन भए पनि घोडाघोडी नगरपालिकामा मात्र ६८ वटा सामुदायिक वन छन्’, मेयर चौधरी भन्छन्, ‘डुवानले भंगालो हुँदा विकास चुनौतीपूर्ण छ। चुनौतिकै बीच सडकको विस्तार गरेका छौँ। गाडा नछिर्ने बाटोलाई फराकिलो बनाएका छौँ।’   


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend