logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • बागमती प्रदेशले ल्यायो एग्रिगेटर सूचना बैक

    बागमती प्रदेशले ल्यायो एग्रिगेटर सूचना बैक

    3.1K
    Shares

    काठमाडौं । करीव दुई बर्षको गृहकार्यपछि बागमति प्रदेशको सञ्चार रजिष्ट्रार कार्यालयले उक्त प्रदेशमा एकीकृत रुपमा सूचना संकलन र भण्डारण गर्ने  उद्देश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा ल्याएको छ । 

    प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार शुक्रबार प्रदेशको राजधानी हेटौंडामा आन्तरिक मामिला तथा कानून मन्त्री डा अजयक्रान्ति शाक्यले उक्त सूचना बैंकको उदघाटन गरेका हुन् ।  बागमती प्रदेशको सूचना बैंकमा प्रदेशका सात वटै मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट एकीकृत रुपमा पाउन सक्ने व्यवस्था मिलाइएको छ । 

    ‘नेपालमा पहिलो पटक बागमती प्रदेशमा सूचना बैंक सञ्चालनमा आउनु गर्वको बिषय हो । अहिले १४ वटा कार्यालयको सूचना उक्त बैंकमार्फत आउने व्यवस्था मिलाइएको छ ।  बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहका सूचना आउने सक्ने गरी बनाउन थप तयारी भइरहेको छ ।  सूचना बैंकलाई व्यवस्थित गर्न निर्देशक समितिले निर्देशन दिनेछ,’ मन्त्री शाक्यले भने, ‘अव बागमती प्रदेशको सूचना पाउन भौतारिनु पर्दैन, सूचना बैंकमा सर्च गर्दा हुन्छ ।’ बागमती प्रदेशले सूचना प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको यो एउटा गतिलो उदाहरण हो । 

    मन्त्री शाक्यका अनुसार मन्त्रालयले बागमती प्रदेशका सबै ऐन कानून एपमा राखेर चाँडै ल्याउने गृहकार्य  गरिरहेको छ । ‘त्यसका लागि मन्त्रालय दत्तचित्त भएर लागिरहेको छ,’ मन्त्री शाक्यले भने । 

    आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव मदन भुजेलले सूचना बैंकको प्रभावकारीता र उपयोगितालाई बढाउनु पर्नेमा जोड दिए । ‘यो सूचना बैंकको उपयोग पत्रकार र आम नागरिकले भरपुर रुपमा प्राप्त गर्न सक्नुहुनेछ,’ सचिव भुजेलले भने,’बागमती प्रदेशमा बनेको यो सूचना बैंक अरु प्रदेशका लागि पनि सिक्न लायक नमूना बन्न सक्छ ।’ 

    बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले यो बैंक सञ्चालनमा आइसकेपछि अब  उपभोक्ताले सूचना प्राप्त गर्नका लागि सम्बन्धित कार्यालयको वेवसाइट सर्च गर्नु नपर्ने जानकारी दिए ।  सूचना बैंकको पोर्टलमा सर्च गर्दा ती १४ वटै कार्यालयका वेवसाइटमा राखिएका सूचना पाउन सक्ने गरी बनाइएको छ ।

    ‘बागमती प्रदेशका सबै कार्यालय र स्थानीय तहलाई यो सूचना बैंकमा लिंक गर्दा यो बागमती प्रदेशको सूचना बैंकले पूर्णता पाउनेछ । यसरी नै बाँकी ६ वटा प्रदेशले पनि आ आफनो प्रदेशको सूचना बैंक बनाइदिए संघीय सरकारले सात वटै प्रदेशका सूचना बैंकलाई लिंक गरी नेपालको सूचना बैक बनाउन सकिन्छ ।’ 

    सञ्चार रजिष्ट्रार सापकोटाका अनुसार नेपालमा पहिलो पटक बनेको सूचना बैकको पोर्टलबाट अहिले बागमती प्रदेशका १४ वटै कार्यालयका सूचना वा दस्तावेजहरु डाउनलोड गर्न सकिन्छ ।

    गभर्नेस अटोमेसन सोलुसनले तयार गरेको सूचना बैंकमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा, आन्तरिक मामिला तथा  कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय,भौतिक पूर्वाधार बिकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा  वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग, सञ्चार रजिष्ट्रारको कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, यातायात पूर्वाधार निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वेवसाइटमा राखिएका सूचना सूचना बैंकमा संग्रहित गराइएको छ ।

    सुशासन र पारदर्शीताका लागि सूचना महत्वपूर्ण हुन्छ। यसलाई आत्मसाथ गर्दै नेपालको संविधानले प्रत्याभुत गरेको बिचार र अभिव्यक्तिको स्वतन्त्रता, सञ्चार एवं सूचनाको हक संरक्षण र सम्बर्धन गर्दै  प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ को दफा ५५ बमोजिम यो सूचना बैंक बनेको हो ।

    प्रदेश सूचनाको हक सम्बन्धी ऐन, २०७६ को दफा ३, ४ र ५ बमोजिम प्रदेश सरकारले सरकारी तथा सार्वजनिक निकायबाट प्रकाशित नागरिकसँग सरोकार राख्ने र सार्वजनिक महत्वको सूचनाहरु संकलन, भण्डारण र वितरण गर्न सूचना बैंक उपयोगी हुने भएकाले सञ्‍चार रजिष्ट्रारको कार्यालयले सूचना बैंकको स्थापना गरेको हो । 

    आधिकारिक सार्वजनिक सूचनाहरु छिटो तथ सहज रुपमा  प्राप्त गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्न, डिजिटल नेपाल र डिजिटल बागमती प्रदेश बनाउने सरकारको उद्देश्यलाई साकार पार्न प्रदेशका सबै मन्त्रालय र अन्तर्गतका कार्यालयका सूचनालाई एक ठाउँमा केन्द्रित गरी सूचनाका उपभोक्तासम्म पुरयाउन एग्रिगेटरका रुपमा पनि सूचना बैंक उपयोगी हुनेछ ।

    हाल प्रदेशका १४ वटा कार्यालयका वेवसाइटमा राखिएका सूचना तथा अन्य महत्वपुर्ण सामग्री सूचना प्रविधिको प्रयोग मार्फत तत्कालै सूचना बैंकमा संग्रहित हुनेछ । सूचना बैंकमा समेटिएका कार्यालयको सूचनाका लागि सम्बन्धित कार्यालयको वेवसाइटमा नगइकन प्राप्त गर्न सकिनेछ भने सम्बन्धित कार्यालयको वेवसाइटमा पनि सूचना बैंक मार्फत नै पुग्न सकिनेछ ।

    संसारभरका नेपाली नागरिकलाई बागमती प्रदेशको सूचना प्राप्त गर्ने भोक सहजै मेटाउने उद्देश्यले तयार गरिएको यो सूचना बैंकलाई आगामी दिनमा बिस्तार गर्दै लगिनेछ । कुनै पनि बिषय पूर्ण नभए जस्तै सूचना बैकमा यहाँहरुको निरन्तरको चासो, जिज्ञासा र सुझावले यसलाई पूर्णता तर्फ अघि बढाँउन मद्दत पुरयाउँनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend