logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • दसैंमा नेपालीले कति खान्छन् मासु ? : ९ करोड १९ लाख किलो मासु खपत

    दसैंमा नेपालीले कति खान्छन् मासु ? : ९ करोड १९ लाख किलो मासु खपत

    4.2K
    Shares

    काठमाडौं । नेपालीको आँगनमा दसैंको आगमन आइपुगेको छ । यो पर्बको मुख्य आकर्षण भनेको मासु, रंगीचंगी लुगाफाटो र आफुभन्दा ठूलोबाट आशिष लिने हो । दसैं मान्नेहरुका लागि मासु नभई हुँदैन । उसो शाकाहारी समुदायले पनि दसैं उल्लासमय वातावरणमै मनाउने गर्छन् । तर दसैं र  मासु भनेको एक अर्काको पर्यायवाची शब्द हुन् ।

    मासुबिना दसैं खल्लो मानिन्छ । उच्च वर्गदेखि दैनिक ज्यालादारीमा काम गर्ने समूहले पनि सकेसम्म मासुको जोहो गरी दसैं मनाउने चलन छ । चाहे त्यो खसीबोका नभए कुखुराको नै सहि ।

    नेपालमा सबैभन्दा बढी मासुको खपत दसैंको ७ दिनको अवधीमा हुन्छ । पशु सेवा विभागकाअनुसार दसैँको समयमा अन्य समयभन्दा मासुको खपत झण्डै आठ गुणाले बढ्छ । सप्तमीदेखि प्रतिव्यक्ति मासुको उपभोग दर दैनिक २८ ग्रामबाट बढेर सरदर दुई सय १२ ग्राम पुग्छ ।

    विभागका अनुसार दसैंको अवधीमा उपत्यकासहित देशभर गरी राँगा, माछा, खसीबोका र च्याङग्राको ९ करोड १९ लाख ६ हजार किलो मासुको खपत हुन्छ । यसको बजार मूल्य ७५ अर्ब ५६ करोड २० लाख ८० हजार रुपैयाँ हुन आउँछ । कुखुरा, हाँस, बंगुरलगायतका मासुको लेखाजोखा यसमा छैन् । अर्थात दसैंको अवधीमा नेपालीले यो मूल्यबराबरको मासु सेवन गर्दैआएका छन् ।

    दसैँमा देवी दुर्गालाई बली दिन तथा घरमा मार हानेर मासु खाने चलन बढ्दै गएकाले उपत्यकासहित देशभर साढे ७५ अर्बको मासु नेपालमा उपभोग हुन्छ ।  विभागका वरिष्ठ पशु विकास अधिकृत तथा प्रवक्ता चन्द्र ढकालकाअनुसार दसैंको अवधीमा उपत्यकामा ५० हजार खसीबोकाको माग हुन्छ । यस्तै उपत्यका बाहेकको क्षेत्रमा ३० लाख गोटा खसीबोकाको माग हुन्छ । ‘सामान्य दिनभन्दा दसैंको समयमा दैनिक खपत करिब दोब्बर परिमाणले बढ्छ,’ ढकालले भने ।

    यस्तै यो समयमा ५ हजार गोटाको संख्यामा च्याङग्रा पनि खपत हुन्छ । यही अवधीमा १ हजार ५ सय गोटा राँगा पाडा पनि खपत हुन्छ । दसैंको ७ दिनको अवधीमा ४९ हजार गोटा हाँस, १ हजार २ सय ९५ गोटा बंगुर र ९१ हजार किलो माछाको पनि माग हुन्छ । 

    सामान्य दिनमा उपत्यकामा दैनिक १ हजार १ सयदेखि १ हजार २ सयको संख्यामा खसीबोका खपत भएपनि दसैं सुरु हुनासाथ उपत्यकामा खसीबोकाको माग बृद्धि भएर दैनिक ७ हजार १ सय ४२ गोटासम्म पुग्छ । गत् बर्ष कोभिडको महामारीको चर्को संक्रमण फैलिएका कारण त्यो बर्ष सर्वसाधारणले चाहेर नि रमाइलो गरी दसैं मनाउन पाएका थिएनन् । 

    यो वर्ष अधिकाँश नेपालीले कोभिडविरुद्धको खोप लगाएको र कोभिडको संक्रमण दर पनि निक्कै घट्दो अवस्थामा भएकाले दसैं मान्न सर्वसाधारण निक्कै हौसिएका छन् । यसले गर्दा मासुजन्य बस्तुको बजार निक्कै तातिएको छ ।

    ६४ अर्ब ५ करोड रुपैयाँको खसीबोका 

    सरकारको आधिकारिक तथ्याँकअनुसार दसैंमा उपत्यकासहित देशभर ३० लाख ५० हजार गोटा खसीबोका खपत हुन्छ । विभागअनुसार औषत ३० किलोको एउटा खसीको औषत मूल्य प्रतिकिलो ७ सय रुपैयाँ मान्दा ३० लाख ५० हजार गोटा खसीबोकाको मूूल्य ६४ अर्ब ५ करोड रुपैयाँ आउँछ । अर्थात दसैंको समयमा औषत ६४ अर्ब ५ करोड रुपैयाँबराबरको खसीबोकाको कारोबार हुन्छ ।

    यसलाई टुक्राउँदा उपत्यकामा मात्रै १ अर्ब ५ करोड रुपैयाँबराबरको ५० हजार गोटा खसीबोका बिक्री हुन्छ । यस्तै ६३ अर्ब रुपैयाँबराबरको ३० लाख गोटा उपत्यकाबाहेक देशभरको क्षेत्रमा बिक्री हुन्छ ।

    ११ अर्ब २५ करोडको राँगा

    दसैंको अवधीमा खसीबोकापछि राँगा पाडाको मासु अत्याधिक खपत हुन्छ । खास गरी नेवार समूदायमा राँगाको छोइला, कचिला, भुटन, कबाब, ममलगायतका परिकार बनाएर खाने चलन अत्याधिक भएकाले यो वेला राँगा पाडाको मासुको उपभोग दर पनि निक्कै बढ्छ ।

    दसैंको समयमा १ हजार ५ सय गोटा राँगाको माग हुन्छ । यही हाराहारीमा करिब खपत पनि हुन्छ ।  राँगा व्यवसायी बुद्ध साहीकाअनुसार बजारमा तीन प्रकारको राँगा पाडाको बजारिकरण हुन्छ । ५० देखि ९० किलो, ९० किलोदेखि १७० किलो र २०० सयदेखि २ सय ५० किलो गरी तीन प्रकारको राँगा, पाडा, भैसीको बजारिकरण हुन्छ । यसमध्ये बजारमा सबैभन्दा बढी १७० किलो तौलको बढी बिक्री हुन्छ । उनकाअनुसार १०० किलो औषत तौल भएको १ हजार ५ सय राँगा, पाडा, भैसीलाई जनही ७५ हजार रुपैयाँका दरले हिसाव गर्दा ११ अर्ब २५ करोड रुपैयाँबराबरको दसैंको अवधीमा यसको कारोबार हुन्छ ।

    २२ करोड ७५ लाखको च्याङग्रा

    दसैंको अवधीमा मुख्यगरी काठमाडौं र पोखरामा च्याङग्राको कारोबार हुन्छ । सरकारी तथ्याँकअनुसार उपत्यकामा २ हजार र पोखरामा ३ हजार २ सयको संख्यामा च्याङग्राको बिक्री हुन्छ । तर ५ हजार गोटाकै हिसाव गर्दा औषत ३५ किलोको जिउँदो च्याङग्रालाई प्रतिकिलो औषत मूल्य १ हजार ३ सयका दरले २२ करोड ७५ लाख रुपैयाँबराबरको दसैंको अवधीमा यसको कारोबार हुन्छ ।

    साढे ३ करोडको माछा

    पशु सेवा विभागकाअनुसार दसैंको अवधीमा ९१ हजार किलो माछा पनि खपत हुन्छ । ३ करोड ४५ लाख रुपैयाँबराबरको जिउँदो र आयातित माछा पनि नेपालमा खपत हुन्छ । औषत मूल्य ३ सय ८० रुपैयाँका दरले ३ करोड ४५ लाख रुपैयाँबराबरको ९१ हजार किलो जिउँदो र आयातित माछाको बजारिकरण दसैंको समयमा हुन्छ 

    माग पुरा गर्न यसरी हुँदैछ आपूर्ति

    विभागका प्रवक्ता ढकालकाअनुसार उपत्यका र देशभरकै मासुजन्य बस्तुको माग पुरा गर्न आपूर्ति गर्ने प्रणालीलाई कडाईका साथ कार्यान्वयनमा ल्याइएको छ । 

    ‘स्वदेशी बजारमा मासुजन्य वस्तुको जे जति माग छ, त्यसलाई पुरा गर्न आन्तरिक रुपमा कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याएका छौं,’ प्रवक्ता ढकालले भने,‘खसीबोकाको देशभर कूल मागमध्ये अहिले करिब ९५ प्रतिशत स्वदेशी उत्पादनबाट पुरा हुँदैआएको छ ।’ बाहिरबाट सबै प्रक्रिया पूरा गरी करिब ५ प्रतिशतको हाराहारीमा मात्रै खसीबोका आयात भइरहेको विभागको दाबी छ । 

    विभागकाअनुसार खसीबोकाको माग पुरा गर्न हेफर इन्टरनेशनलसँग आवद्ध रहेका सहकारीमार्फत उपत्यकामा ५१ हजार ३ सय २३ गोटा आपूर्ति गर्न सुरु भएको छ । यस्तै बाख्रा व्यवसायी महासंघ(हेफरसँग आवद्धसमेत गरी) उपत्यकामै ६० हजार गोटा आपूर्ति हुन सुरु भएको छ । त्यस्तै खसीबोकाको स्थानीय व्यवसायीमार्फत उपत्यका आसपासका क्षेत्रबाट ८ हजार गोटा प्रतिदिन आपूर्ति हुने व्यवस्था मिलाइएको छ । 

    यसैगरी खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीले २ हजार गोटा खसीबोका भित्र्याएको छ । विभागकाअनुसार दसैंमा राँगाको मासुको अभाव हुन नदिन राँगा भैसी व्यवसायी संघमार्फत १ हजार र अन्य व्यवसायी तथा व्यापारीमार्फत थप ५ सय राँगा भित्र्याउने कार्ययोजनालाई कार्यान्वयनमा ल्याइएको छ ।

    स्वदेशमै १ खर्बको ५४ लाख गोटा खसीबोका उत्पादन्

    विभागकाअनुसार नेपालमा बाख्राजात (बाख्रा, खसीबोका, पाठापाठी) कूल जनसंख्या १ करोड ४० लाख छ । यसबाट बैज्ञानिक हिसाबअनुसार ३६ प्रतिशतका दरले वार्षिक ५४ लाखको संख्यामा खसीबोका मात्रै उत्पादन हुन्छ ।  ५४ लाख खसीबोकामध्ये करिब २५ प्रतिशतका दरले १२ लाख गोटा औपचारिक रुपमा ठूलो सहरी बजारमा र बाँकी स्थानीय र नजिककै बजारमा खपत हुन्छ । 

    विभागका प्रवक्ता ढकालकाअनुसार औषध २५ किलो मानेर औषत मूल्य ७ सयको दरले ९४ अर्ब ५० करोड रुपैयाँबराबरको ५४ लाख खसीबोका स्वदेशमा उत्पादन भइरहेका छन् ।

    भारतसहित तेश्रो मुलुकबाट ४३ करोड ८३ लाखको खसी र खसीको मासु आयात  

    २०७७ चैतदेखि २०७८ को बैशाख, जेठ, साउन र भदौंमा गरेर नेपालमा ४३ करोड ८३ लाख मूल्यबराबरको खसी र विभिन्न मासुजन्य जनावरको तयारी मासु नेपालमा आयात भएको थियो । 

    २०७७ चैतमा नै तत्कालिन प्रधानमन्त्री केपी ओलीले मासुजन्य पदार्थमा मुलुक आत्मनिर्भर भएको भनेर घोषणा गरेका थिए । त्यही बर्ष अर्थात २०७७ चैतमै २ करोड ५१ लाख मूल्यबराबरको १ लाख २८ हजार ५ सय ५८ किलो विभिन्न प्रकारको मासु नेपालमा आयात भएको थियो ।  

    यस्तै २०७८ को बैशाखमा २ करोड ५१ लाख मूल्यबराबरकै १ लाख २८ हजार ५ सय ५८ किलो विभिन्न प्रकारको मासु आयात भएको थियो । त्यस्तै २०७८ जेठमा २ करोड ८१ लाख ८६ हजार मूल्यबराबरको १ लाख ४८ हजार ५ सय ५८ किलो, साउनमा ३० लाख मूल्यको २० हजार किलो र भदौंमा १ करोड १० लाख ८५ हजार मूल्यको ४९ हजार ९ सय ९९ किलो विभिन्न प्रकारको मासु आयात भएको थियो ।

    चालु बर्ष २०७८ को बैशाख, जेठ, साउन र भदौंमा गरी नेपालमा भारतसहित तेश्रो मुलुकबाट ३४ करोड ५७ लाख ३७ हजार मूल्यबराबरको ४२ हजार ९० गोटा खसीबोका पनि आयात भएको छ । 

    जसअनुसार बैशाखमा ९ करोड ६४ लाख ५८ हजारको १२ हजार ५ सय ६७ गोटा, जेठमा ९ करोड ६४ लाख ५८ हजारको १२ हजार ५ सय ६७ गोटा, साउनमा ४ करोड ४५ लाख ३३ हजारको ४ हजार ९ सय १३ र भदौंमा १० करोड ८२ लाख ८८ हजार मूल्यबराबरको १२ हजार ४३ गोटा जिउँदो खसीबोका आयात भएको थियो ।
                                           


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend