logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    मोतिपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी सरकारले जनही एक लाख दिने

    मोतिपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी सरकारले जनही एक लाख दिने

    6.3K
    Shares

    बुटवल । रुपन्देहीको मोतिपुरमा आइतबार भएको झडपमा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ ।

    प्रदेश सरकारले ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख किरिया खर्च दिने निर्णय गरेको हो । औद्यागिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने व्यक्तिहरूले प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि आइतबार दोहोरो झडप भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाउँदा चारजनाको मृत्यु भएको हो । मृतकका परिवारलाई जनही एक एक लाख दिने निर्णय भएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए । 

    मुख्यमन्त्री, आन्तरिक मामिला तथा सञ्चार मन्त्री, सुरक्षा परिषद्सहितको बैठकले सोमबार सो निर्णय गरेको हो । बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घटना अध्ययन गरी सुझाव दिन कार्यदल पनि गठन गरेको छ । 

    बैठकमा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकार वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न तयार रहेको बताएका थिए । वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न प्रदेश सरकारले अध्ययन गरिरहेको भन्दै उनले अहिले विवाद भएको ठाउँ प्रदेशले नचलाएको र औद्योगिक ग्राम नै हडप्न आएपछि प्रहरीले सुरक्षाको लागि गोली चलाएको उल्लेख गरे । 

    आगामी दिन सो स्थानमा थप क्षति हुन नदिन प्रहरी संवेदनशील हुने, घाइतेहरूको प्रदेश सरकारले उपचार गर्ने र सुकुम्बासीको पहिचानका लागि छिटो कार्य अघि बढाउने बैठकले निर्णय गरेको छ ।   

    सोमबारको घटनाबारे जिल्लाका सबै सुरक्षा निकायले मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ब्रिफिङ गरेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend