logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

    नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

    2.8K
    Shares

    काठमाडौं । अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले प्रतियोगिताको १३औं संस्करणमा इतिहास रचेको हो ।

    खेलको आठौं मिनेटमा सुमन रेजाको गोलसँगै पछाडी परेको नेपालले १० जनामा सीमित भएको बंगलादेशविरुद्ध ८८औं मिनेटमा बराबरी गोल फर्काउँदै फाइनल यात्रा तय गर्‍यो ।

    नेपालले गोलका लागि बनाएको क्लियर चान्समा पेनाल्टी एरिया बाहिर आएर फाउल गरेसँगै बंगलादेशका गोलकिपर रहमान जिकोले रातो कार्ड पाएका थिए ।

    त्यससँगै १० जनामा सीमित भएको बंगलादेशका खेलाडीले १८ यार्ड बक्समा अञ्जनमाथि फाउल गरेसँगै नेपालले पेनाल्टी पाएको थियो ।

    nepali-football12.jpg

     माल्दिभ्समा जारी प्रतियोगिताको फाइनल पुग्नका लागि कम्तिमा बराबरी नतिजा निकाल्नु पर्ने बाध्यतामा रहेको नेपालले आठौं मिनेटमा गोल खाएको थियो ।

    मालेस्थित नेसनल फुटबल स्टेडियममा  भएको खेलको आठौं मिनेटमा नेपाली डिफेन्डर गौतम श्रेष्ठले विपक्षी खेलाडीमाथि खराब ट्याकले गरेसँगै बंगलादेशले फ्रि-किक पाएको थियो ।

    सोही फ्रि-किकमा कप्तान जमल भुयाको पासमा सुमन रेजाले हेडरमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन् । फ्रि-किक नेपाली खेलाडीको बारमा लागेर ६ यार्ड बक्सभित्र  डिफ्लेक्ट भएको थियो । नेपाली डिफेन्डर दिनेश राजवंशीको कमजोरीको फाइदा उठाउँदै सुमन रेजाले गोल गरेका थिए ।

    खेलको दोस्रो मिनेटमै गोलका लागि सुन्दर मौका बनाएको नेपालविरुद्ध बंगलादेशका डिफेन्डर टोपु बर्मानले खराब फाउल गर्दै असफल बनाइदिएका थिए । लास्ट म्यान डिफेन्डर रहेका बर्मानले नेपाली फरवार्ड नवयुग श्रेष्ठलाई पेनाल्टी एरिया ठीक अगाडि तानेर लडाउँदै नेपाललाई गोल गर्न रोकेका थिए । सोही फाउलका कारण उनले दोस्रो मिनेटमै पहेँलो कार्डको सामना गर्नुपरेको थियो ।

    खेलको सुरुआतदेखि नै गोलका लागि प्रयासरत नेपालले केही मौका सृजना गरे पनि सदुपयोग गर्न सकेको छैन । सुरुआतदेखि नै मिसपास र बल पोसेसनमा संघर्ष गरिरहेको नेपालले पहिलो हाफको अन्त्यतिर सम्हालिने प्रयास गरेको थियो ।

    पहिलो हाफको इन्जुरी समयमा रोहित चन्दको क्रसमा आयुष घलानको सुन्दर हेडर फ्रेममा नपर्दा नेपाल बराबरी गर्न दुर्भाग्यशाली रह्यो । त्यसअघि रोहित चन्दले पनि सुन्दर मौका गुमाएका थिए ।

    प्रतियोगिता १३औं संस्करण सम्म आइपुग्दा नेपाल भने एक पटक पनि फाइनल पुग्न सकेको थिएन ।

    प्रतियोगिताको पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलको नतिजामा हराएको थियो । त्यस्तै, तेस्रो खेममा भारतसँग १-० ले पराजित नेपालले बंगलादेशविरुद्ध महत्त्वपूर्ण १ अंक हासिल गर्दै शीर्ष दुईमा स्थान बनाएको हो ।

    राउन्ड रोबिन लिग पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । आजै हुने माल्दिभ्स र भारतबीचको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ ।

    nepal (1).jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend