logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • अल्मुताइरीको लुकामारी खेल !

    अल्मुताइरीको लुकामारी खेल !

    8.8K
    Shares

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कार्यगत क्षमताका हिसाले नेपाली फुटबलले पाएको विदेशी प्रशिक्षकमध्ये राम्रा प्रशिक्षक मानिन्छन् । तर उनको ब्यवहार र केटाकेटी पनले फुटबल वित्तमा नकारात्मक छाप छाडेको छ । सामाजिक सञ्जालमा हतारमा टिप्पणी लेख्ने र पछि पछुताउने उनको शैली अझै हटेको छैन । 

    तीन महिनाअघिनै अखिल नेपाल फुटबल संघ (एन्फ) का प्रथम उपाध्यक्ष पंकज विक्रम नेम्वाङमाथि सम्पूर्ण दोष थोपरेर सामाजिक सञ्जाल फेसबुकमा राजीनामाको घोषणा गरेका अल्मुताइरीले त्यतिबेला न प्रशिक्षक पद छाडे । न त उपाध्यक्षमाथि लगाएको दोषको पुष्टि नै गर्न सके । 

    प्रशिक्षक र उपाध्यक्ष नेम्वाङबीच विवादको विषयले नेपाली फुटबलमा एक खाले तरंग नै ल्यायो । फुटबल विवाद युवा तथा खेलकुद मन्त्रालय हुँदै राष्ट्रिय खेलकुद परिषद् (रोखप) छिर्‍यो । मन्त्रालयको निर्देशनमा राखेपले छानविन समिति समेत गठन गर्‍यो । 

    एन्फा स्वयंले विवाद समाधान गर्न सकेन । राखेपद्वारा गठित छानविन समितिले पनि विवादको समाधान गर्न सकेन । अल्मुताइरी र पंकजबीचको विवाद अझै समाधान भइसकेको अवस्था छैन । 

    तत्कालका लागि १३औं साफको तयारीमा असर पर्ने हिसाबले अल्मुताइरीको गलत प्रवृतिलाई एन्फाले ढाकछोप गरेको थियो । अल्मुताइरी राम्रा प्रशिक्षक हुन्, त्यसमा दुई मत छैन । उनले वान टिम, वान गोल, जय नेपाल भन्ने नारा नै बनाएर नेपाली फुटबल टोलीलाई एकताबद्ध बनाए । उनको प्रशिक्षणमा पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो । यसअघि बलिया टोलीविरुद्ध गोल गर्न नसकिरहेको नेपाललाई अल्मुताइरीको आगमनले केही हदसम्म बलियो बनाएको पनि पक्कै हो । 

    तर, प्रशिक्षकको डिउटी मैदानमा भन्दा फुटबल राजनीतिमा बढी देखिएपछि अल्मुताइरीको ब्यवहारले एन्फाको संरचनामा दखल पुर्‍याएको एन्फाकै पदाधिकारी बताउँछन् । 

    राखेपद्वारा गठित छानविन समितिको रिपोर्टमा समेत अल्मुताइरीलाई सामाजिक सञ्जालमा नचाँहिदो टिप्पणी नखेल्न सचेत गराइएको थियो । त्यसलाई उनले खासै वास्ता गरेनन् । माल्दिभ्समा गतसाता सम्पन्न साफको फाइनलमा भारतसँग पराजित भएपछि प्रशिक्षक अल्मुताइरी नेपाल नआइ कतार पुगे ।

    भारतसँगको फाइनल खेलअघि उनले त्यही खेल नै नेपाली टोलीसँग आफ्नो अन्तिम खेल हुने घोषणा गरेका थिए । साफले प्रतिबन्ध लगाएपछि भारतसँगको फाइनल खेल ‘स्ट्याण्ड’मा बसेर हेरेका उनले खेल सकिएपछि नेपाल आफ्नो मुटुमा रहेको र कसैले हटाउन नसक्ने प्रतिक्रिया समेत दिएका थिए । 

    आगामी मार्चसम्म नेपाली टोलीको प्रशिक्षकको सम्झौता कायम रहेका अल्मुताइरीले टोलीको प्रशिक्षक पद छाडेको भनेपछि उनलाई फकाउन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधर कम्मर कसेर लागे । अध्यक्ष शेर्पाले बुधबार नै अल्मुताइरीसँग भेट गरेको फोटो फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आजको हाम्रो छलफल ।’

    प्रशिक्षक अल्मुताइरीले बुधबार मात्र फिफाले आयोजना गरेको ‘फ्युचर अफ फुटबल’ भिडियो कन्फरेन्समा नेपालकै प्रतिनिधित्व समेत गरेका छन् । उक्त भिडियो कन्फरेन्समा हरेक देशका पुरुष राष्ट्रिय टोलीका प्रशिक्षकहरु सहभागी थिए । यसबाट स्पस्ट हुन्छ उनी नेपाल छाड्न तयार छैनन् । उनी नेपाललाई घुर्क्याइरहेका छन् । 

    एन्फाले गत चैतमा एक वर्षका लागि अल्मुताइरीसँग सम्झौता गरेको थियो । अल्मुताइरी कतार फुटबल संघको सहयोगमा २०२२ मार्च सम्मका लागि नेपाली टोलीको प्रशिक्षक बनेका हुन् । 

    सामाजिक सञ्जालमा चाहिँदो र नचाँहिदाे टिप्पणी लेख्न माहिर अल्मुताइरीले पछिल्लो सात महिनामा धेरै नेपाली फुटबल समर्थकको मन जितेका छन् । तर उनले आफ्नो हैसियत र मर्यादालाई बिर्सेर केटाकेटी पन देखाएको स्पस्ट देखिन्छ । त्यसैले अल्मुताइरी अहिले नेपाली फुटबलसँगै लुकामारी खेल पनि खेलिरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend