logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • बागमती प्रदेशसभाको बैठक सुरु, विश्वासको मत लिने समय भने धकेलिने

    बागमती प्रदेशसभाको बैठक सुरु, विश्वासको मत लिने समय भने धकेलिने

    3.4K
    Shares

    मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ ।

    सत्तारुढ एमालेले आजका लागि बोलाइएको बैठक सार्न सभामुखलाई आग्रह गरे पनि आजको बैठक सञ्चालनमा आएकाे प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

    ९ भदौमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि आह्वान गरिएको बैठकमा उनले विश्वासको मत लिने बताइएको छ । तर सत्तारुढ दल एमालेले बैठक रोक्न माग गर्दै आएकाले आज शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रक्रिया अघि बढ्ला वा नबढ्ला भन्नेमा अन्योलता छ । 

    २४ असोजमा आजका लागि बैठक आह्वान गरे पनि यो बीचमा सरकार जोगाउनका लागि शाक्यले आवश्यक समर्थन जुटाउन नसकेकाले एमालेले आजका लागि डाकिएको बैठक सार्न माग गरेको थियो । उसले आफ्नो पार्टीको वडा तथा पालिका अधिवेशन ६-९ असोजसम्म परेकाले समस्या हुने भन्दै आजका लागि बोलाइएको बैठक सारी आगामी ११ कात्तिकसम्म बोलाउन सभामुखलाई आग्रह गरेको थियो । एमालेले बैठक नै सार्न आग्रह गरे पनि सभामुखले बैठक सञ्चालन गर्ने अठोट लिएका छन् । 

    प्रदेशका १३ जना सांसद माधवकुमार नेपाल नेतृत्वको एमाले विभाजन बनी बनेको एकीकृत समाजवादीमा लागेपछि मुख्यमन्त्री शाक्यलाई जम्मा ४३ जना सांसदकोमात्र समर्थन कायम रहेर अल्पमतमा छन् । उनी एमालेको एकल बहुमत सांसदको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । 

    एमालेको आग्रह बमोजिम सभामुखले बैठक नसारे पनि आजको बैठकमा एमाले सांसद अनुपस्थित हुने र अर्को मितिमा हुने बैठकमा मात्रै उपस्थित हुने चेतावनी एमालेले दिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले आफूहरुको आग्रह विपरीत आह्वान गरिने आजको बैठकमा एमालेका सांसद उपस्थित हुन नसक्ने बताइसकेका छन् । आजको बैठक सुरु गरेर औपचारिक मन्तव्य तथा सांसदको धारणा राखेर सभामुखले एमालेको माग बमोजिम स्थगित गर्ने सम्भावना रहेको बुझिएको छ । 

    बागमती प्रदेशमा सरकार परिवर्तनको चर्चा भइरहेका बेला यहीँ सरकारलाई निरन्तरता दिनका लागि सत्तारुढ एमालेले अहिले अनेक उपाय खोजी रहेको विपक्षी गठबन्धनको आरोप छ । प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धन सरकार बनाउनका लागि बहुमत पनि पुग्छ । विभाजनअघि स्पष्ट बहुमत रहेको एमालेको ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यलाई अहिले आफ्नै पार्टीको जम्मा ४३ सांसदको समर्थन रहेको छ ।

    सरकार बनाउनका लागि १०९ जना सांसदको बहुमत संख्या आवश्यक पर्दछ । गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग १३ जना सांसद गरी ५८ जना बहुमत सांसद रहेका छन् । प्रदेशसभामा विवेकशील साझाका २, नेमकिपाका २, राप्रपाका २ र जसपाका १ जना सांसद रहेका छन् । 

    नयाँ सरकारको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले दाबी गरिरहेका छन् । केन्द्रीय गठबन्धनको सहमतिका आधारमा बागमती प्रदेशमा सरकारको नेतृत्व नेकपा एसले पाउने बताइएको छ । यस्तै, कांग्रेसका इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको नेतृत्वको कुरा केन्द्रमा लिखित रुपमा सहमति भई नसकेकाले आफूहरुको दाबी रहेको बताएका छन् । बानियाँको दाबीलाई गठबन्धनका नेताहले भने अनावश्यक बार्गेनिङ भनी टिप्पणी गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend