logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • यू-२३ एसियन कप छनोट : नेपाल र इन्डोनेशिया भिड्दै

    यू-२३ एसियन कप छनोट : नेपाल र इन्डोनेशिया भिड्दै

    5.1K
    Shares

    काठमाडौ । छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः ‘एएफसी यू-२३ एसियन कप २०२२ छनोट’ खेल्दैछ ।

    त्यसअघि नेपालले आज शुक्रबार इण्डोनेसिया यू-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यसअघि नै ताजकिस्तानको दुसन्वे पुगेको नेपाली टोली र इण्डोनेसिया एएफसी छनोट खेलअघि तयारी स्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

    नेपाल र इण्डोनेसियाबीचको खेल स्थानीय समयअनुसार अपराह्न ४ बजे सुरु हुनेछ ।

    नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन प्रतियोगिताको पूर्वसन्ध्यामा इण्डोनेसियासँगको मैत्रीपूर्ण खेल टोलीको कमी कमजोरी पत्ता लगाउन हुने र उक्त खेल कमजोरी सुधारको मौकासमेत हुने बताउँछन् ।

    ‘इन्डोनेसियाविरुद्ध खेलेपछि आफ्नो टिम कस्तो छ ? कुन स्तरमा छ, थाहा हुन्छ’, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका महर्जन भन्छन् ।

    यस खेलले नेपाली टोलीको सुरुवाती ११ समेत पहिचान गर्नेछ । ताजकिस्तान उड्नुअघिसम्म नेपाली टोलीले अन्तिम २३ खेलाडी सम्मिलित भएर आफ्नो अभ्यास सत्र बढाउन सकेन ।

    माल्दिभ्सको मालेमा भएको साफ च्याम्पियनसिप उपविजेता टोलीमा यू-२३ टोलीबाट छ जना खेलाडी रहेका थिए । यी खेलाडी बिहान काठमाडौं अवतरण हुँदा भोलिपल्टै ताजकिस्तान उडे ।

    यद्यपि, नेपाली टोलीले ताजकिस्तान पुगेर दुई दिन अभ्यास सत्र बढाइसकेको छ । प्रशिक्षक बालगोपाल इण्डोनेसियाविरुद्ध खेलबाट नेपालको सुरुवाती ११ (प्लेइङ सेट) समेत तय हुने बताउँछन् ।

    ‘अभ्यास सत्र कम भएकाले सुरुवाती ११ समेत तय गर्न पाएको थिएन । खेलाडीसमेत जम्मा भएका थिएनन् । यस खेलले टिमको सुरुवाती ११ तय गर्नसमेत सहज हुनेछ’, प्रशिक्षक महर्जनले भने ।

    नेपाली टोलीमा १० जना खेलाडीले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । साफ उपविजेता टोलीबाट मनीष डाँगी, आयुष घलान, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, सुमन अर्याल र नितिन थापा रहेका छन् ।

    राष्ट्रिय टोलीबाट खेलिसकेका अभिषेक रिजाल, दर्शन गुरुङ, राजन गुरुङ, एरिक विष्ट र विशाल श्रेष्ठ छन् । राष्ट्रिय टोलीमा विशालले डेब्यु पाएका छैनन् ।

    कप्तान तथा गोलरक्षक अर्पण कार्की, शिशिर लेखी, रन्दीप पौडेल, सेसेहाङ आङ्देम्बे, अनिल महर्जन, रोशन पहाडी, राजिव लोप्चन जस्ता खेलाडीले टोलीमा साथ दिनेछन् ।

    एएफसी छनोटको समूह ‘बी’मा रहेको नेपालले बलिया इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले समूह ‘बी’मा एसियाको शीर्षस्थानमा रहेको इरानसँग ८ कात्तिकमा खेल्नेछ । इराक फिफा वरीयतामा २२औँ स्थानमा छ ।

    दोस्रो प्रतिद्वन्द्वी हो आयोजक ताजकिस्तान । फिफा वरीयतामा ११८औँ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले ११ गते खेल्नेछ । तेस्रो प्रतिद्वन्द्वी लेवनान ९७औँ स्थानमा छ । लेवनानसँग नेपालले १४ गते खेल्नेछ । नेपाल भने १६८औँ स्थानमा छ ।

    समूह ‘जी’मा रहेको इण्डानेसियाले एसियाली पावर हाउस अस्ट्रेलिया, चीन र ब्रुनाईसँग प्रतिस्पर्धा गर्नेछ ।

    ताजकिस्तान उड्नुअघि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पछिल्लो साफमा नेपालले ल्याएको नतिजाबाट एक प्रकारको ऊर्जा रहेको र नेपालले बलियो प्रस्तुति दिने बताएका छन् ।

    ‘राष्ट्रिय छ खेलाडी र अन्य गरी धेरै खेलाडी छन् । साफ उपविजेता भएर आएकाले खेलाडीमा ऊर्जा छ । सिनियर टोलीबाट खेलिरहेकाले धेरै गाह्रो छैन । कुनै पोजिसनमा अभ्यास अभावका कारण कठिनाइ छ’, उनले भने, ‘खेलाडी मानसिक रूपमा बलिया छन् । खेलाडीले आफ्नो क्षमताअनुसार खेले भने राम्रो नजिता आउँछ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend