logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • तिहारमा झिलिमिली वत्ति : यो वर्ष ३५ करोडको आयात, आयात र व्यापार दुवै कम

    तिहारमा झिलिमिली वत्ति : यो वर्ष ३५ करोडको आयात, आयात र व्यापार दुवै कम

    4.9K
    Shares

    काठमाडौं । हिन्दु संस्कृतिअनुसार बिहीबार देशभर उज्यालोको पर्व तिहार मनाइँदैछ । तिहार अर्थात् लक्ष्मी पुजा । यसमा झिलिमिली बत्ति, सयपत्री पुष्प, भाइमसलालगायतको महत्व उत्तिकै हुन्छ । यस्ता वस्तु बिना तिहार खल्लो मानिन्छ । 

    कोभिड १९ को महामारीबीच पनि तिहार मनाउन नेपालीले सम्पूर्ण तयारी गरेका छन् ।  ग्रामिण भेग जहाँ बत्ति पुगेको छैन, त्यहाँ आज पनि मट्टीतेल, तोरीको तेल, डिजेलको प्रयोग गरी स- सानो टुकी, पाला र दियो बनाएर उज्यालो बनाउने चलन छ । त्यस्तै मैनवत्ति वालेर पनि घर आँगन उज्यालो बनाइन्छ । बत्ति पुगेको सहर बजारमा भने विभिन्न प्रकारको विद्युतीय बत्तिकै महत्व हुन्छ । 

    प्रत्येक घर, कार्यालय, महल, पसल, वगैचा, होटेल, रेष्टुँरालगायतमा विद्युतीय झिलिमिली बत्तिले उज्यालो बनाएर अन्धयारो रातलाई रंगीचंगी बनाएको हुन्छ ।

    कोभिड १९ को कारणले बजार थोर वहुत साँघुरिए पनि बजारमा यो बर्षको तिहारका लागि करिब ३५ करोडको झिलिमिली वक्तिको आयात भएर कारोबार भइरहेको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । अघिल्लो बर्ष भने ५० करोडको आयात भएर यस्तो झिलिमिली बत्तिको कारोबार भएको थियो ।

    महासंघका महासचिब कोमल पोख्रेलकाअनुसार कोभिडको चर्को महामारीकाबीच अघिल्लो बर्ष गुलजारमय बनेको झिलिमिली वत्तिको व्यापार यो वर्ष भने केही सुनसान देखिएको छ । सडक किनारमै ठूलो व्यापार हुने झिलिमिली बत्तीको यो वर्ष निक्कै कम देखा परेको छ । 

    कारण हो, कोभिडका कारण चीन जान असहज, तातोपानी र रसुवागढी नाका अवरुद्ध, ति दुवै नाका सहज रुपमा सञ्चालनमा नआउँदा आयात गर्न व्यवसायीको उदासिनता र अहिले पनि ठूलो परिमाणमा ति दुवै नाका पारि नै ठूलो परिमाणमा यस्ता बक्ति अलपत्र परेका छन् ।

    ‘यसबाहेक अन्तर्राष्ट्रिय बजारमा यस्ता बत्ति बनाउन प्रयोग हुने कच्चा पदार्थको मूल्यमा बृद्धि र इन्धनमा भएको मूल्यवृद्धिका कारण ढुवानी खर्च बढ्दा यो बर्ष त्यति ठूलो परिमाणमा झिलिमिली वत्ति आयात हुन सकेन,’ महासचिव पोख्रेलले भने,‘यही कारणले गर्दा यो बर्ष यस्ता झिलिमिली बत्तिको मूल्य १५ प्रतिशतले महँगो पनि भएको छ ।’ 

    light 2.jpgकोभिडले आयात कम व्यापार पनि कम
    कोभिडका कारण यो बर्ष झिलिमिली वत्तिको आयात करिब ३० प्रतिशतले घटेको महासंघका पोख्रेलले जानकारी दिए । देवकोटाकाअनुसार २०७६ सालको तिहारताका करिब ७० करोड रुपैयाँको झिलिमिली बत्ती आयात भएर बजारिकरण भएको थियो । २०७५ मा करिब १ अर्बको झिलिमिलि बत्ती आयात भएको थियो  । 

    सरकारी निकाय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र(टीइपीसी) काअनुसार २०७७।७८ मा १ अर्ब ९६ करोड मूल्यबराबरको विभिन्न प्रकारको वक्ति आयात भएको थियो । जसमध्ये चीनबाट १ अर्ब ३३ करोड, भारतबाट ५६ करोड र अन्य मुलुकबाट ६ करोड मूल्यबराबरको वत्ति आयात भएको थियो ।

    ‘गत् बर्षको तुलनामा यो वर्ष आयात पनि कम भएको छ, ब्यापार पनि कम भएको छ,’ पोख्रेलले भने । उनकाअनुसार लोडसेडिङ्गको अवस्था हट्दै गएपछि यस्ता वत्तिको व्यापार  बढेको छ ।

    तिहारमा बालिने यस्ता झिलिमिली वत्ति छिमेकी मुलुक भारत, चीनसहित केही अन्य मुलुकबाट आयात हुन्छ । यसमध्ये पनि चीनबाट करिब ८० प्रतिशत, भारतबाट १५–१६ प्रतिशत र बाँकी अन्य मुलुकबाट आयात हुन्छ । 

    tihar light 1.jpgन्युनतम १३५ देखि २५ हजारसम्मको झिलिमिली बत्ती
    यो वर्ष बजारमा न्युनतम १ सय ३५ देखि २५ हजार रुपैयाँसम्मको झिलिमिली वत्ति उपलब्ध छन् । यसवाहेक देवी देउताको फोटोमा जडित झिलिमिली बत्तिको व्यापार पनि यो वेला अत्याधिक हुन्छ । उपभोक्ताले वत्तिको आकार प्रकार, वत्तिको उज्यालोको अवस्था र टिकाउपनको आधारमा रोजेर खरिद गर्न सक्ने पोख्रेलको भनाई छ ।

    महासंघकाअनुसार नेपालमा करिब ४ हजार व्यवसायीले विद्युतीय झिलिमिली वत्तिको व्यापार गर्छन् । राजधानीमा भने कोटेश्वर, बानेश्वर, महावौद्ध, असन, न्युरोडलगायतका स्थानमा यसको अत्याधिक व्यापार छ ।

    अन्य समयभन्दा तिहारको समयमा एलईडी बत्ती, डिस्को वक्ति ६० लिड, १०० लिड, माला वत्ति, घुम्ने वत्ति र झिलिमिली झालर, लहरे, रोप लाइट, पाइप लाइटको ब्यापार झण्डै ८० प्रतिशतले बृद्धि हुने महासंघले जनाएको छ ।

    यसमध्ये पनि तिहारको समयमा सबैभन्दा बढी झालर र लहरे वत्तिको सबैभन्दा प्रयोग हुने गरेको बताइएको छ । ‘घरको अगाडिको भागलाई माथिदेखि तलसम्म छोप्ने गरी झालर वत्ति र लहरे वत्ति र रोप लाइटको अत्याधिक बिक्री हुन्छ,’ पोख्रेलले भने ।

    यस्ता झिलिमिली बत्तिको कूल वार्षिक कारोबारमध्ये झण्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । बाँकी छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, होटेल र रेष्टुँरा सजावटका लागि प्रयोग हुने गर्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend