logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • बेलायत जान चाहने नर्ससँग कसैले पैसा उठाए उजुरी दिनुस् : श्रम मन्त्रालय

    बेलायत जान चाहने नर्ससँग कसैले पैसा उठाए उजुरी दिनुस् : श्रम मन्त्रालय

    4.1K
    Shares

    काठमाडौं । नर्सहरूलाई बेलायत पठाउने बहानामा कसैले पैसा असुल्न खोजे वैदेशिक रोजगार विभाग वा प्रहरीमा तुरून्तै ठगी मुद्दा दर्ता गराउन श्रम मन्त्रालयले आग्रह गरेको छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नर्ससँग पैसा असुल्न खोजे तुरून्तै ठगी मुद्दा दर्ता गर्न श्रम मन्त्रालयले अपिल गरेको हो। श्रममन्त्री शेरबहादुर कुँवरले शून्य शुल्कमा दुई सरकारबीच भएको सम्झौतामा अन्य कुनै एजेन्सीको भूमिका नहुने भन्दै कसैले प्रलोभनमा पारेर पैसा असुल्न खोजे उजुरी गर्न भनेका छन्।

    ‘सम्झौता कार्यान्वयनमा आउनुअघि नै विभिन्न प्रलोभनमा पैसा असुल्न खोजेको सुनेका छौं, त्यो गैरकानुनी हो। कसैले बेलायतको सरकारी कोटामा पठाइदिने भनेर पैसा लिन खोजेमा त्यो सरासर ठगी हो,’ कुँवरले भने । श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले सम्झौता कार्यान्वयनका निम्ति कार्यविधि बनाउने प्रक्रिया भइरहेको बताए। यसमा तेस्रो पक्षको संलग्नता नहुने भन्दै कसैले पैसा लिन खोजे तुरून्तै विभागमा उजुरी दिन अनुरोध गरे ।

    ‘बेलायतको सरकारी सेवामा जान चाहने जनशक्तिका लागि निश्चित प्रक्रियाहरू छन्। उनीहरूले अंग्रेजी भाषाको परीक्षा पास गरेको प्रमाणपत्र र शैक्षिक योग्यताका साथै कामको अनुभवका प्रमाणपत्र पेश गरेपछि दुबै पक्षका सरकारी प्रतिनिधि बसेर छनौट गर्ने हो। यसमा निजी कम्पनी वा एजेन्सी कसैको पनि भूमिका हुँदैन। कसैले पैसा लिन खोजे विभाग पुगेर वा प्रहरीसमक्ष ठगी मुद्दा दर्ता गर्नुस्,’ पोखरेलले भने।

    बेलायतमा ६ महिनाभित्र नेपालबाट जनशक्ति लैजाने बताएको थियो। पहिलो चरणमा सय जना लैजाने गरी तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको छ। बेलायत आउन इच्छुक जनशक्तिसँग पैसा असुल्न काम विभिन्न एजेन्सीले गरेको रिपोर्ट बेलायती पत्रिका द गार्डियनमा प्रकाशित भएको थियो। उक्त रिपोर्टमा बेलायती श्रम विज्ञहरूले नेपाली नर्सहरू बेलायत आउनुअघि नै शोषणमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

    विभिन्न बहानामा पैसा उठाउने क्रम नरोकिए नेपालबाट नर्स ल्याउने प्रक्रिया नै रोक्नु पर्ने उनीहरूको चेतावनी छ। बेलायतमा स्वास्थ्य जनशक्तिको अभाव पूर्तिका लागि त्यहाँको स्वास्थ्य विभाग व्यवस्थित र नैतिक तरिकाले जनशक्ति भर्तीको पक्षमा छ।नेपालसँग भएको सम्झौता अनुसार त्यस योजनामा बेलायत जान चाहने कामदारसँग कुनै पनि अतिरिक्त शुल्क असुल्न पाइने छैन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend