logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • महाकवि देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन

    महाकवि देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन

    7.6K
    Shares

    काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइएको छ । शुक्रवार नेपाल प्रज्ञा–प्रतिष्ठानले एक औपचारिक कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाइएको हो ।

    जन्मजयन्तीको अवसर पारेर प्रज्ञा–प्रतिष्ठानको महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयमा उनको व्यक्तित्व चर्चा तथा रचनावाचन कार्यक्रमसमेत गरिएकोे छ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कार्तिक २७ गते भएको थियो ।

    कार्यक्रममा कवि देवी नेपालले महाकवि देवकोटाको व्यक्तित्व बारे चर्चा गर्दै देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीको पक्षहरु विभिन्न भएपनि कृतित्वको पक्ष सबैभन्दा बलियो भएको बताइन् । उनले महाकवि देवकोटाले नेपाली भाषा प्रकाशिनी समिति, युगवाणी र इन्द्रेणी पत्रिकाको सम्पादक, नेपाली साहित्य परिषद्को सभापति, काव्य प्रतिष्ठानको अध्यक्ष लगायतको जिम्मेवारीमा रहेर उल्लेखनीय काम गरेको बताइन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको परिकल्पनाकार नै महाकवि देवकोटा भएको उनको भनाई छ ।

    कवि नेपालले महाकवि देवकोटाले वि.सं. १९९१ साल मंसिर १५ गतेको गोरखापत्रमा कविता प्रकाशन गरेर नेपाली साहित्यमा औपचारिक रुपमा प्रवेश गरेको भन्दै उनले २४ वर्ष ९ महिना १४ दिनसम्म औपचारिक रुपमा कविता लेखनको कर्म गरेको बताइन् ।

    त्यसैगरी कार्यक्रममा कवि मञ्जिला अनिलले पनि महाकवि देवकोटाले आफ्नो जीवनकालमा लेखेको अन्तिम कविता वाचन गरेर सुनाइन् । उनले देवकोटाले मानवतावादी धारमा कविता लेख्ने गरेको उल्लेख गरिन् । महाकवि देवकोटाले लेखेको कविता वाचन गरेर कवि रेजिना आपगाईंले पनि उनीप्रति सम्मान व्यक्त गरिन् ।

    महाकवि देवकोटाको निधन वि.सं. २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटाको जन्म लक्ष्मीपूजाको दिन भएपनि प्रज्ञा प्रतिष्ठानले महाकविको जन्म दिवसको पूर्वसन्ध्यामा कार्यक्रम गरी महाकविको योगदानको स्मरण गरेको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend