प्रभु बैंकले लियो ५.२ प्रतिशत ब्याजदरमा ऋण प्रबाहको स्किम, यस्तो छ ऋण लिने प्रक्रिया !

काठमाडौं : प्रभु बैंकले ५.२ प्रतिशत ब्याजदरमा ऋण दिनेगरी ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको परिपत्रानुसार बैंकले पनि सहुलियतपूर्ण कर्जाका लागि ५.२ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गरी ७ वटा योजना सार्वजनिक गरेका हुन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकले सहुलियतपूर्ण ऋण प्रवाहका ७ प्रकारका कर्जा योजना सार्वजनिक गरेको छ। जसअनुसार व्यावसायिक कृषि तथा पशुपंक्षीको विकासका लागि ५ करोड कर्जा दिन सकिने योजना छ।

त्यसैगरी, शिक्षित युवा तथा रोजगारीका लागि ५ वर्षका लागि ७ लाख कर्जा प्रवाह गर्ने योजना रहेको पनि प्रमुख कार्यकारी अधिकृत शेरचनले जानकारी दिए। त्यसका लागि कम्तिमा स्नातक तह उतीर्ण गरेको तथा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ। बैंकले स्वदेशबाट फर्किएका युवाका लागि १० लाख कर्जा प्रवाह गर्ने योजना तय गरेको छ। ग्रिन कार्ड होल्डरको हकमा भने सो योजना लागू नहुने पनि बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले स्पष्ट पारे। महिला उद्यमशीलताका लागि ५ वर्षका लागि १५ लाख, दलितहरूको व्यवसाय उत्थानका लागि १० लाख, उच्च, प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितका लागि ५ वर्षका लागि ३ लाख कर्जा प्रवाह गर्न सकिने योजना पनि बैंकले सार्वजनिक गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले ती सबै योजना बैंकका सबै शाखाहरुबाट दिने व्यवस्था गरिएको पनि बताए। प्रभु बैंकले सबै स्थानीय तहमा बैंक सेवा पुर्‍याउन ब्रान्चलेस बैंकिङ प्रणाली सुरु गर्ने तयारी पनि गरेको छ। ७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय १५ वटामा मात्रै बैंकिङ सेवा पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ। प्रमुख कार्यकारी अधिकृत शेरचनले बैंकिङ सेवा संचालनका लागि कठिनाई भइरहेका बाँकी स्थानीय तहमा पनि ब्रान्चलेस बैंकिङ प्रणाली स्थापना गर्ने तयारी गरिएको बताए। बैंकले १० लाखभन्दा बढिको कर्जाका लागि संस्था र १ करोडभन्दा बढिका लागि कम्पनी दर्ता भएको हुनुपर्ने पनि स्पष्ट पारेको छ

 

 

 

शुक्र, बैशाख ६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस