यी व्यक्ति जसले श्रीलङ्कामा आक्रमण गर्न आउने आक्रमणकारीलाई रोके, सयौको ज्यान बचाए !

बिबिसी

श्रीलङ्कामा गत आइतवार भएको एउटा विस्फोटनमा परेर ज्यान गुमाएका एक व्यक्तिको परिवारले उनका कारण धेरैको ज्यान जोगिएको बताएको छ।इस्टरको उपलक्ष्यमा प्रार्थना गर्न भेला भएका इसाईहरूलाई लक्ष्य गरी आत्मघाती आक्रमण गर्न आएका एक सन्दिग्ध व्यक्तिलाई रमेश राजुले गिर्जाघरमा छिर्न दिएका थिएनन्। ती आक्रमणकारी गिर्जाघरभित्र छिरेको भए त्यहाँ धेरै जना हताहत हुन सक्थे।श्रीलङ्काको पूर्वी तटस्थित बट्टिकलोआमा क्रिशन्थिनी रमेशको घरबाहिर एउटा ठूलो पोस्टर झुन्डाइएको छ।त्यसमा देब्रेपट्टि हाँसिरहेका एक पुरुषको तस्बिर छ।ती ४० वर्षीय पुरुषको नाम रमेश राजु हो। उनी भवन निर्माण गर्ने ठेकेदार थिए।

बलौटे बाटो हुँदै हामी उनको घर पुग्दा केही मानिसहरू प्लास्टिकको कुर्सीमा बसिराखेका थिए।यो समुदायमा परिवारजन र इष्टमित्रहरू उत्सवमा जस्तै कसैको मृत्यु हुँदा पनि एक ठाउँमा भेला हुन्छन्।नातेदार र इष्टमित्र राजुप्रति श्रद्धाञ्जलि व्यक्त गर्न भेला भएका थिए। कोही व्याकुल भएर फोन खेलाउँदै थिए भने कोही रुँदै थिए।रियो सारी लगाएकी एक महिला डाँको छोडेर रुँदै थिइन्।

भिड छिचोल्दै अगाडि गएपछि हाम्रो परिचय क्रिशन्थिनी र उनका छोराछोरी रुक्शिका र निरुबानसँग गराइयो। रुक्शिका १४ वर्षकी र निरुबान १२ वर्षका छन्।क्रिशन्थिनी जाइअन गिर्जाघरमा भएको विद्यालयमा आइतवार पढाउन जान्छिन्।सधैँको जस्तै गत आइतवार पनि उनी पढाउन गइन्।

पति रमेश र उनले छोराछोरालाई प्रत्येक हप्ता गिर्जाघर लाने गरेका थिए। यसपालि पनि उनीहरू गए।कक्षा सकिएपछि क्रिशन्थिनी र केही अरू केटाकेटी खाजा खान बाहिर निस्किए। इस्टरको प्रार्थना सुरु भइसकेको थिएन।ठूलो झोला बोकेर आएको एउटा मान्छेलाई गिर्जाघरको आँगनमा देखेपछि रमेशले उनलाई रोके।ती व्यक्तिले उनलाई आफूले भिडिओ क्यामरा बोकेको र प्रार्थना गरेको दृश्य खिच्न आएको बताए।

“मेरा श्रीमान्‌लाई केही अनुचित छ जस्तो लाग्यो। र उहाँले त्यो व्यक्तिलाई पहिला अनुमति लिएको हुनुपर्ने भन्नुभयो,” क्रिशन्थिनीले मलाई बताइन्।रमेशले उनलाई भित्र जान दिएनन्।त्यो दिन गिर्जाघरमा झन्डै साढे चार सय मानिस थिए।प्रार्थनाका लगि गिर्जाघर फर्किँदै गर्दा क्रिशन्थिनीले ठूलो विस्फोटनको आवाज सुनिन्।सबै जना अत्तालिए। कोही आफन्त र इष्टमित्रको स्थिति बुझ्न पर्खाल चढेर भुइँतिर हेर्न थाले।भवनहरूमा आगो लागेकाले मानिसहरू यताउता भाग्न थाले।

क्रिशन्थिनी र उनको परिवार रमेशलाई खोज्न एउटा अस्पतालपछि अर्को अस्पतालतिर कुदे।घण्टौँपछि रमेशको शव भेटियो।उनको घटनास्थलमै मृत्यु भएको थियो। त्यही स्थानमा जहाँ क्रिशन्थिनीले उनलाई अन्तिम पटक देखेकी थिइन्।रमेशको परिवार फेरि एकजुट भयो, तर अन्तिम चोटि।

रमेशलाई सोमवार समाधिस्थ गरियो। स्थानीय प्रहरीहरू पनि उनको अन्तिम संस्कारमा सहभागी भएका थिए।उनले जे गरे त्यसबाट उनको मृत्यु भयो तर धेरैको ज्यान जोगियो।मसँग कुरा गर्दा क्रिशन्थिनीले पहिला आँसु झारेकी थिइनन्। आफ्ना जीवनसाथीको स्मरण गर्दै जाँदा भने उनी रुन थालिन्।यी ४० वर्षीया महिलाका लागि वियोगको पीडा नौलो हैन। श्रीलङ्कामा भएको गृहयुद्धमा उनले आमाबुवाको हत्या भएको थियो।

उनले भनिन्, “म धेरै सानो हुँदा आमाको हत्या भयो। उहाँको घाँटी काटिएको थियो। केही वर्षपछि बुवालाई पनि शङ्कास्पद परिस्थितिमा मारियो।”फेरि पछि २००४ को सुनामीमा अर्की आफन्तको मृत्यु भयो।देशको मनोरम यो पूर्वी तटमा वियोगका ठूला घटनाहरू भएका छन्। क्रिशन्थिनीजस्ता व्यक्तिले तिनको पीडा भोग्नुपरेको छ।उनका पति रमेश फर्केर आउँदैनन्। तर उनको वीरताले अरूलाई वियोगको पीडाबाट जोगायो। यही एउटा कुराले उनले चित्त बुझाउनुपर्नेछ।

 

 

बिहि, बैशाख १२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस