पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिए-देउबा

जेठ ३ काठमान्डौ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दावी गरेका छन्। देउवाले निर्वाचनमा पार्टीलाई हराउनेहरु पार्टी भित्र बलशाली भएकाले पार्टी संकटमा फसेको तर्क पनि गरे। शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कार्वाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो पनि गरे।

सभापति देउवाले दुइ कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको दोहोर्याउँदै सो हारको दोषी आफुलाई मात्रै लाउने गरेकोमा आपत्ति पनि जनाए। मञ्चमै रहेका नेता कृष्णप्रसाद सिटौलालाई सभापति देउवाले पुष्पकमल दाहाललाई मिलाउनका लागि निर्वाचनका बेला वार्तामा पठाएको तर मिलाउन नसकेको पनि स्मरण गराए। उनले आफूलाई मात्रै आरोप लगाएर पार्टीका नेताहरुले गैर प्रजातान्त्रिक गतिविधि गरिरहेको आरोप पनि लगाए।

कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग माग गरे। उनले पार्टी कमजोर हुनुको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने पनि बताए।नेता सिटौलाले पार्टी भित्र गुट हुनु स्वभाविकै भए पनि कलह चाँहि हुनै नहुने पनि स्पष्ट पारे।

शुक्र, जेष्ठ ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस