प्रेस काउन्सिलका अध्यक्षको पत्रिका र प्रधानमन्त्रीको सचिबालयको जुहारी

जेठ १० काठमाण्डौ प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ प्रधान सम्पादक रहेको जनआस्था साप्ताहिकले झुठो समाचार छापेको भन्दै प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेको छ। जनआस्थाले जेठ ८ गते बुधबारको अंकमा विदेशबाट अपराधीको बाढी शीर्षकमा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीलाई असान्दर्भिक रूपमा समाचारमा मुछिएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले विज्ञप्ति निकालेका हुन्।

विदेशबाट आएका अपराधीलाई प्रहरीले पक्राउ गरेको र छुटाउन अली गएको भन्ने समाचार जनआस्थाले प्रकाशित गरेको थियो। तर उक्त समाचारमा सत्यता नभएको अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अपराधीलाई प्रहरीले पक्राउ गरेको र उनीहरूलाई छुटाउन अली प्रहरी परिसर टेकु गएको भन्दै समाचारमा उल्लेख गरेको विवरण नै झुठो भएको पनि अर्यालले विज्ञप्तिमा उल्लेख गरेका छन्।

अलीलाई असान्दर्भिक रूपमा मुछिएकोप्रति प्रधानमन्त्रीको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। अपराधीलाई प्रहरीले पक्राउ गरेको र अली छुटाउन गएको काल्पनिक कथा खडा गरी जनआस्था साप्ताहिकले भ्रम सिर्जना गरेको छ विज्ञप्तिमा भनिएको छ अली जेठ ७ गते मंगलबार ९ बजेर ३० मिनेटमा प्रहरी परिसर टेकु पुगेर पक्राउ परेका अभियुक्तलाई भेटी फर्केको कपोलकल्पित दाबी समाचारमा गरिएको छ। उक्त कुरा त्यहाँको सीसी क्यामेरामा कैद भएको अत्यन्त झुठो भ्रामक र सुनियोजित अफवाह उक्त सामग्रीले प्रसार गरेको छ। व्यक्तिको जीउ ज्यानको सुरक्षामा गम्भीर असर पर्ने गरी जनआस्थाले समाचार तयार पारेको र पत्रकारिताको आचारसंहिता अनुरूप सम्बन्धित व्यक्ति अलीसँग बुझ्ने प्रयास पनि नगरेको विज्ञप्तिमा उल्लेख छ।समाचारमा प्रहरी परिसर टेकुका डिएसपी सन्तोष तामाङको भनाइ पनि नराखिएको अर्यालले जनाएका छन्।

धार्मिक आपराधिक समूहसँगको सम्पर्क रहेको अर्थ लाग्ने गरी सम्प्रेषण गरिएको झुठो समाचारले व्यक्तिको सुरक्षामा उत्पन्न हुनसक्ने परिस्थितिप्रति संवेदनशील नहुनु र पत्रकारिताको न्युनतम आचरण निर्वाह नगर्नु यस पेशाको आधारभुत मूल्य मान्यता र धर्मको उलंघन हो। चरित्र हत्या गर्दै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्‍याउने गरी नियोजित रूपमा गरिएको दुष्प्रचारप्रति प्रधानमन्त्री कार्यालयको खेद व्यक्त गर्दछ। विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिबारेको जिज्ञासामा जनआस्थाका प्रधान सम्पादक तथा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले समाचारबारे लिखित रूपमा प्रेस काउन्सिलमा भने उजुरी नपरेको बताए। उनले जनआस्थाले छापेको समाचार भने सही भएको दावी गरे।

शुक्र, जेष्ठ १०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस