प्रधानमन्त्रीको युरोप भ्रमण अघि जेनेभामा लेनिन बिष्टले हाले नेपाल बिरुद्ध उजुरी, के होला अब

जेठ २४ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार तय गरेको स्वीट्जरल्याण्डको भ्रमणको पूर्वसन्ध्यामा सोही देशको जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदको कार्यालयमा बिहीबार पूर्व बाल सैनिक लेनिन बिष्टले नेपाल सरकारविरुद्ध निवेदन दर्ता गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शनिबारदेखि स्वीजरल्यान्डसहित तीनवटा युरोपेली देशको भ्रमण गर्न लागिरहेको अवस्थामा तत्कालीन बाल सैनिकले जेनेभामा पुगेर सो निवेदन दर्ता गराएका हुन्। नेपालका पूर्व बालसैनिकहरुको बारेमा मानवअधिकार परिषद्मा ध्यानाकर्षण होस् भनेर आफूले निवेदन दर्ता गराएको उनले बताएका छन्। उनले निवेदनमा नेपालका पूर्व बाल सैनिकहरुको अवस्थाबारे जानकारी गराउने उद्देश्यसहित सात बुँदे माग समेटिएको खुलाएका छन्।

उनले मानवअधिकार परिषद्मा बुझाएको निवेदनमा २००७ साल देखिको नेपालको आन्दोलनको विषय चर्चा गर्दै २०४६ सालको आन्दोलन माओवादीको सशस्त्र युद्ध सो युद्ध शुरु हुनुअघि उनीहरुले त्यतिबेला सरकारलाई बुझाएको ४० बुँदे ज्ञापनपत्र, जनआन्दोलन २ को सफलता त्यसपछि भएको शान्ति संझौतासम्मका कुरा उल्लेख गरिएका छन्। सरकारले आफूहरुलाई अयोग्य भन्न नमिल्ने अरुलाई जस्तै आफूहरुलाई पनि गणतन्त्रका योद्धाका रुपमा पहिचान दिनु पर्ने बाल सैनिकलाई भर्ना गर्दा उनीहरुमाथि भएको अत्याचार स्वीकार गर्नुपर्ने पूर्व लडाकुलाई रिहा गर्नु पर्ने लगायत माग गरिएको छ।

शान्ति प्रक्रियाका क्रममा संयुक्त राष्ट्र संघले २ हजार ९७३ जनालाई बाल सैनिक बनाएको उनले उल्लेख गरेका छन्। आफूहरुले शुरु देखि नै रोजगारीको अवसरको लागि आवाज उठाएको तर त्यसको सुनुवाई नभएको जनाउँदै आफूहरुलाई ठूलो मानसिक र शारीरिक यातना भइरहेको बताएका छन्। बिष्ट यसपछि फ्रान्स पुगेर त्यहाँका सांसदलाई जेनेभामा दर्ता गरेको पत्र दिने बुझिएको छ।

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस