राज्यब्यबस्था समितिको बैठकमा मन्त्रीनै अनुपस्थित भएपछि…

जेठ २४ काठमाडौँ लोक सेवा आयोगले हालै मात्र स्थानीय तहका लागि विज्ञापन आह्वान गरेको छ। यसरी बिज्ञापन गर्दा अधिकार क्षेत्र हनन् भएको भनि विवाद उत्पन्न भइरहेको बेलामा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुले विज्ञापनफिर्ता लिन माग गरेका छन्। समितिको शुक्रबार बैठकमा बोल्दै सांसदहरुले प्रदेश लोकसेवा आयोगको ऐन निर्माण गर्नुपर्ने र संघीयताको मर्मअनुसार विज्ञापन गर्न माग गर्दै तत्कालका लागि फिर्ता लिन माग गरेका हुन्।

बैठकमा बोल्दै सत्तारुढ नेकपा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले समावेशी सिद्धान्तसमेत विपरीत रहेको विज्ञापन तत्काल रोक्न निर्देशन दिनुपर्ने राय राखेका थिए। बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सरकारले संघियताको मर्म विपरीत हुने गरी लोकसेवावाट विज्ञापन गरेकाले तत्काल रोकिनुपर्ने माग गरे।

राजपाका सांसद राजेन्द्र महतोले लोकसेवा आयोगको विज्ञापन केन्द्रीय मानसिकताको आधारमा आएको आरोप लगाए। सरकारले पछाडि परेका वर्गलाई थप अवसर नदिने उद्देश्यले विज्ञापन गरिएको उनको तर्क थियो। विज्ञापन तत्काल नरोकिए आफूहरु सशक्त आन्दोलनमा उत्रने उनको भनाइ थियो।

संसदको राज्य व्यवस्था समितिका सांसदहरुले लोकसेवा आयोगसँगको छलफलपछि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित उपस्थित नभएकोमा आपत्ति जनाए।संसदीय समितिमा बोलाउँदा मन्त्री उपस्थित हुन अस्वीकार गर्दै जिल्ला भ्रमणमा गएको भन्दै सांसदहरुले उनको आलोचना गरेका हुन्।

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस