अब सांसदपनि पेपरलेस, ३३४ सांसदलाई ल्यापटप बाँडिने

जेठ २८ काठमान्डौ संघीय सांसदका सबै सदस्यलाई पेपरलेस बनाउने भन्दै सरकारले ल्यापटप बाँड्ने भएको छ। संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी गत १९ जेठमा बोलपत्र आह्वान गरेको छ। यसअन्तर्गत प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउनेछन्।

पेपर प्रिन्ट र फोटोकपीका लागि सचिवालयको ठूलो रकम खर्च हुने गरेको भन्दै सचिवालयलाई क्रमश पेपरलेस बनाउने अभियानस्वरुप ल्यापटप उपलब्ध गराउन लागिएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

सचिवालय स्रोतका अनुसार सांसदका लागि ल्यापटप खरीद गर्न अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेपछि बोलपत्र आह्वान गरिएको हो। पहिलो र दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलका नेता र प्रमुख सचेतकलाई ल्यापटप बाँडिएको थियो। त्यसका लागि भने गैरसरकारी संस्थाले रकम उपलब्ध गराएको थियो। यसपटक राज्यकोषबाट करीव साढे ३ करोड रकम खर्चेर सांसदका लागि ल्यापटप किन्न लागिएको हो।

संसदमा ल्यापटप तथा कम्प्युटर चलाउन नजान्ने सांसदहरु धेरै छन् र उनीहरुलाई ल्यापटप प्रयोगसम्बन्धी सामान्य तालिम दिने योजना सचिवालयको छ।

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस