संसदमा गगन थापाको सम्बोधन होसियार मुख थुन्ने कानुन बन्दैछ ५ बर्ष जेल र १५ लाख जरिवाना तिर्नु पर्ला (भिडियो) !

नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि र मिडिया काउन्सिल विधेयकमार्फत् सरकारले मुख थुन्ने कानुन बनाउन लागेको बताएका छन्।प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै थापाले ‘सरकारी संरक्षणमा व्यक्तिको मानमर्दन गाली बेइज्जती गरिरहन पाउने तर सरकारलाई मन नपर्दा गाली बेइज्जती शिष्टाचार वा नैतिकताको नाममा जुन बेला मन लाग्यो जसको जतिखेर मुख थुन्ने गरी कानुन बनाउन लागेको’ बताए।

केही दिनअघि बेलायतको अक्सफोर्ड युनियनमा मन्तव्य राख्दै प्रधानमन्त्रीले भन्नुभयो देशलाई समृद्ध बनाउनका लागि अभिव्यक्ति स्वतन्त्रताको महत्त्व कति हुन्छ भन्ने मलाई राम्रोसँग थाहा छ। प्रधानमन्त्रीले पक्कै पनि यो बेलायतको बारेमा कुरा गर्नुभएको हो।

नेपालमा अभिव्यक्ति स्वतन्त्रताको हालत, सरकारले के गरिरहेको छ हामी सबैलाई थाहा छ। शासकीय शैलीमाथि प्रश्न गरियो भनेर पशुपति शर्माको गीत बन्द गर्न लगाएको अस्तिमात्रै हो। सनातनदेखि चलिआएको संस्कृति संरक्षणको दायित्व बोकेको राज्यले गुठीलाई मासेर नेपालको सांस्कृतिक पहिचान र सम्पदा मास्ने षडयन्त्रका बारेमा बोल्ने मुख थुन्न लाठी र पानी फ्याँकेको त झन् अस्तिमात्रै हो।एब्सर्डिस्ट ह्युमर’को विधामा रहेर एउटा चलचित्रको समीक्षा गरेवापत प्रनेश गौतम बिनाकारण केही दिनदेखि हिरासतमा छन्। यी केही प्रतिनिधि घटनामात्रै हुन्।घटना घट्यो भन्दा पनि सरकारले यसलाई कसरी लियो, यो महत्त्वपूर्ण कुरा हो। स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन भन्दै यी प्रत्येक घटनामा सरकारको भूमिका ठीक भएको भन्ने उसको दलिल छ। यो नै डरलाग्दो छ।

हाम्रो संविधानले विचार अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकको रुपमा स्थापित गर्दै भन्छ– यो आधारभूत अधिकारको आत्मा हो। यो कसैले दिने होइन। कसैबाट पाउने होइन। यो अहरणीय छ।हो हाम्रो सार्वभौमसत्ता स्वाधिनता अखण्डता हाम्रो जातजाति र धर्मको बीचमा खलल पुर्‍याउने खालका कुनै अभिव्यक्ति भयो भने जातीय भेदभाव छुवाछुतलाई दुरुत्साहन गर्ने भयो भने वा गाली बेइज्जति गर्ने अवस्था भयो भने मनासिव प्रतिबन्ध लगाउन पाइन्छ। कुनै व्यक्तिले आफ्नो अधिकारको प्रयोग गर्दा राज्य समाज वा अर्को व्यक्तिलाई अपुरणीय क्षति पुर्‍याउने अवस्था नबनोस् भनेर अपवादको रुपमा यो व्यवस्थाको प्रयोग हुन्छ भन्ने मानिएको हुन्छ। यो नै नर्म बन्न गयो भने स्थिति डरलाग्दो हुन्छ। जुन अहिले बन्न जाँदैछ।यहाँ त सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान नै ध्वस्त गर्ने गरी गाली बेइज्जति गरिरहन पाउने तर सरकारलाई मन नपर्दा गाली बेइज्जति, शिष्टाचार वा नैतिकताको नाममा जुन बेला मन लाग्यो जसको जतिखेर जहाँ मन लाग्यो त्यही ठाउँमा मुख थुन्न पाउने गरी सरकारले कानुन बनाउन लागेको छ।

नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद संसदबाट पारित गर्न खोजिएको सूचना प्रविधि विधेयक भन्छ– कुनै पनि व्यक्तिलाई जिस्काउने, झुक्याउने, होच्याउने हतोत्साहित गर्ने धम्क्याउने आसयले सामाजिक सञ्जालमा सन्देश सम्प्रेषित गरेमा ५ वर्ष कैद र १५ लाख रुपैयाँसम्मको जरिवाना भोग्नुपर्नेछ।

जिस्काउने होच्याउनेको परिभाषा के? यस्तै अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्तिको स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भारतको सर्वोच्च अदालतले सन् २०१५ मा सिंगल भर्सेस युनियन इन्डियाको मुद्दामा २००२ मा बनेको भारतको सूचना प्रविधि ऐनको दफा ६६ एलाई असंवैधानिक भन्दै खारेज गरेको थियो।

आइत, असार १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस