मोहन बिक्रमको रअ प्रकरण महाधिवेशन कब्जा गर्न रचिएको चालबाजी मात्र

मार्क्सवादले हामीलाई कुनै पनि चिजको व्याख्या मात्र होइन त्यसलाई बदल्न भनेको छ । कोहि पनि मार्क्सवादीले कुनै पनि चिजको व्याख्या मात्र गर्दैन, त्यसलाइ बदल्ने काम गर्दछ । द्वन्द्वात्मक भौतिकवादको मुल मर्म पनि त्यसैमा अन्तरनिहित छ । त्यस अवस्थामा नेकपा(मसाल) ले अङ्गाल्ने कार्यदिशा त्यसको व्यबहारिक कार्यान्वयनमा जानुपर्दथ्यो । आजसम्म मसालले आफ्नो कार्यदिशालाई परिस्थितिको नाममा कार्यान्वयन गर्ने होइन त्यसलाई गोलमोटल गर्ने काम गर्दै आयो । विशेष गरेर मसाल महामन्त्रीले महाधिवेशनहरुमा केही क्रान्तिकारी कुरा गर्ने तर व्यवहारमा ठिक त्यसको विपरीत गर्ने भएकोले नेकपा(मसाल) मा कार्यदिशाको कार्यान्वयनमा समस्या पैदा भएको हो ।

आठौं महाधिवेशनपुर्व मैले मसाल महामन्त्रीले कम्युनिष्ट आन्दोलनलाई कसरी गलत दिशा मोडिरहेका छन अनुशासनको नाममा कसरी पार्टी कार्यकर्ताहरुलाई भयभित बनाएर पार्टीमा एकलौटी गर्दैछन । पार्टी फुटको हल्ला चलाएर कसरी आफ्नो दक्षिणपन्थी अभिष्ट लागू गराउन खोजेका छन पार्टी आन्दोलन र क्रान्तिको सैद्धान्तिक लेपनमा विगतको एउटा इतिहासको उदाहरणमा कसरी पार्टी कब्जा गर्न खोज्दैछन प्रतिक्रियावादी राज्यसत्ताका सिआइडी देखि दलाल-तस्करहरुसङ्ग के कसरी सेटिङ्ग मिलाएर काम गर्छन आफ्नो परिवारको लागि पार्टी भित्र कसरी कृतिम बहुमत सृजना गरेर त्यसलाई मार्क्सवादी-लेनिनवादी वताएर क्रान्तिकारी आन्दोलन माथी प्रहार गर्दछन पार्टी भित्र के-कसरी आर्थीक अराजकता मच्चाइएको छ पार्टीमा फरक मत राख्ने नेता कार्यकर्ताको के कसरी कत्लेआम गरिन्छ पार्टीमा आफुले गरेका गलत क्रियाकलापलाई ढाकछोप गर्न के कसरी षड्यन्त्रहरु निर्माण गरिन्छ लगायतका विषयमा प्रमाण सहित केही प्रकाश हाल्ने प्रयत्न गरेको थिए । आज ती सबै प्रमाणित भएका छन । सत्य साबित भएका छन । मसाल महाधिवेशनले मैले उठाएका विषयहरुलाई गलत भनेर भन्ने हिम्मत नै गरेन ।

अहिले आठौं महाधिवेशन सकिएको छ । आठौं महाधिवेशनले राजनितिक हिसाबले स्पष्ट रुपमा दक्षिणपन्थी दिशा समातेको छ । साङ्गठनिक हिसाबले मोहन बिक्रमले केही आफ्ना कर्मचारीहरु भर्ती गरेका छन । फरक मत राख्ने नेताहरुलाई केन्द्रीय समितिबाट हटाइएको छ । मोहन बिक्रमका प्रस्तावहरुलाई हुबहु स्विकार गर्ने एउटा जम्बो जमातलाई राजनितीक व्युरोमा जम्मा गरिएको छ । तस्करहरुसङ्ग चुचेघाटी मिलाउनेहरुलाई हेडक्वाटरमा महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरिएको छ । पार्टी विरोधी अभियानमा लागेकाहरुलाई मोहन बिक्रमको विरोध नगर्ने शर्तमा अनुशासन विभागदेखी अन्य विभागहरुमा भर्ती गरिएको छ । आठौं महाधिवेशनपछिको टिम हेर्दा लाग्छ यो पार्टी विचारले त दक्षिणपन्थी भयो भयो त्यही दक्षिणपन्थी विचारलाई बचाउने टिम पनि छैन । इतिहासदेखी वर्तमानसम्मलाई एकपटक गहिरिएर हेर्ने भने नेकपा(मसाल) पार्टी नेतृत्वको योजना र दुरदृष्टीमा बाचेको रहेनछ पार्टी भित्रका इमानदार कार्यकर्ताहरुले बचाएको पार्टी रहेछ ।

आठौं महाधिवेशनपछि खासमा मलाई लेख्ने रहर थिएन । म चुपचाप नै बसेको थिए । जब मसाल हेडक्वाटरले मलाई (विरभुषण पटनायक) भारतिय खुपिया एजेन्सी रअ को एजेन्ट भएकोले मलाई खोज्ने जुन योजना बनायो तयसपछी मैले अब थप लेख्नुपर्ने भयो र म अब निरन्तर यो वा त्यो प्रकारलेनेकपा(मसाल)को दक्षिणपन्थी कार्यदिशा र त्यस पार्टीले सर्वाहारा वर्ग माथी गर्दै आएको र आउने हमलाका विरुद्ध लड्नको लागि आएको छु । र मैले मसाल हेडक्वाटरलाई चुनौती दिन चाहन्छु मैले लेखेमा कुरा असत्य हुन भनेर पार्टी नेतृत्व र नेतृत्वका रक्षकहरुले लिखितम रुपमा मेरा लेखहरुको खण्डन गरेर जवाफ दिन सकुन । मैले लेख प्रकाशित गरेका मिडियाहरु मार्फत वा आफ्ना मुखपत्र मार्फत भए पनि जवाफ दिन सकुन । त्यो प्रकारको आट र हिम्मत भए म सार्वजनिक रुपमा नै बहस गर्न आउनेछु ।

आठौं महाधिवेशन अगाडि भारतिय खुपिया एजेन्सी रअ ले पार्टी फुट पार्न खोजेको छ भनेर जो-जो कुर्लदै हिडे वास्तवमा तिनिहरु नै रअ को एजेन्ट हुन सक्छन । रअ ले अलपमत पक्षको दस्तावेजलाई उपयोग गर्न निर्देशन दिएको छ भनेर जो जसले ठोकुवा गरेका थिए, तिनिहरुलाई नै रअ ले परिचालन गरेको हुन सक्ने सम्भावनालाई अस्विकार गर्न सकिन्न । यदि रअ ले नेकपा(मसाल) लाई फुट पार्न खोजेको प्रमाणहरु महामन्त्रीसङ्ग भएको भए त्यो महाधिवेशनमा किन प्रस्तुत गरिएन विगतमा जस्तै फरक मत राख्नेहरुले पार्टी छोडेर गए भने आफ्नो विश्लेषण सहि भएको दावा गरौंला भनेर आत्मरत्ती भुलभुलैयामा रमाउने मोहन बिक्रमको मनोगतवादी चिन्तनको कारण नै पार्टीलाई रअ ले फुटाउन खोजेको आरोप लगाइएको हो भन्नेमा आज कुनै विवाद आवश्यक छैन । यदि रअ ले पार्टीमा फुट पार्न खोजेको कुनै प्रमाण भए चुनौतिका साथ सार्वजनिक गरेर देखाए हुन्छ । होइन भने आफ्नो दक्षिणपन्थी कार्यदिशा पास गर्न फरक मत पक्षलाई लगाएका अनेकौं झुटहरु केवल झुटमा नै रुपान्तरण भएका छन, मोहन बिक्रमसङ्ग कुनै तथ्य नै छैन । रअ को भ्रमजाल फिजाएर पार्टी कब्जा गर्नु बाहेक मोहन बिक्रमसङ्ग अरु कुनै उपाय नभएपछी चलाइएको हल्ला आज आएर पानीको फोका जस्तो भएको छ । न त्यहाँ कुनै प्रमाणहरु छन न कुनै तर्क । दक्षिणपन्थी कार्यदिशालाई ढाकछोप गर्न मोहन बिक्रमले चलाएको हल्ला आज हावामा विलाएको छ ।

नेपालको नयाँ जनवादी क्रान्तिको लागि आज मात्र होइन मोहन बिक्रमसङ्ग विगतमा पनि कुनै योजना नै थिएन । मोहन बिक्रमलाई पिर थियो त केवल आफ्नो महामन्त्री पदको मात्र पिर थियो । क्रान्तिकारी सपनाहरु मोहन बिक्रमका थिएनन, महान सर्वाहारा वर्गको मुक्तिको कुरा पार्टी प्रशिक्षणको लागि मात्र थिए, व्यबहारिक कार्यान्वयनको लागि थिएनन । मोहन बिक्रमको अनुशासनको वात आफ्नो कुरा मात्र ठिक अरु सबै बेठिक सावित गर्नमा नै केन्द्रीत थिए । पाचौं महाधिवेशनपछि कारवाही खाएका मोहन बिक्रमले विचारधाराको रक्षाको नाममा पार्टी फुटाएका थिए । पदलोलुपको आरोप लाग्ने डरले केही समय चित्र बहादुर केसि लाई सयोजक बनाएका थिए । नेपालको कम्युनिस्ट आन्दोलनमा सबै भन्दा बढी पदलोलुप कोहि छ भने त्यो मोहन बिक्रम नै हो । यसको पुष्टि भर्खर सम्पन्न आठौं महाधिवेशनबाट ८६ वर्षको उमेरमा पनि महामन्त्री पड्काएबाट नै प्रमाणित हुन्छ । महाधिवेशनमा प्रतिनिधिहरुले विरभुषण पटनायक सुप्रीया लगायतकाले मिडियामा सार्वजनिक गरेको विषयको तथ्यपुर्ण जवाफ दिन किन सकिएन दुश्मन शक्तिका एजेन्ट भन्दिएर आलटाल गर्न मात्र किन खोजियो गधा धोएर गाई बन्दैन हेक्का राखियोस ।

मैले यो लेखलाई त्यति धेरै तन्काउन लागिन । तर एउटा कुरा ख्याल गर्दै जानू महामन्त्री कमरेड तपाइले कैयौं पार्टी सिसिएमहरुलाई प्रयोग गरेर साम्राज्यवादी एनजीओ/आइएनजिओहरुबाट रकम लिएको समेत प्रमाणहरु बाहिर मिडियामा आउनेछन । कम्युनिस्ट आन्दोलनमा सिद्धान्त र दर्शनको नाममा कथित ठोस परिस्थितिको ठोस विष्लेषणको नाममा पार्टी माथी लादिएको तपाइको अधिनायकवादको पर्दाफास निश्चित रुपले हुनेछ । त्यो मात्र होइन हजारौं कार्यकर्ताको रगत र पसिनामा पार्टी कार्यलय किन्नको लागि जम्मा भएको रकममा कसरी सेटिङ मिलाएर दाइ हालियो भन्ने कुरा पनि बाहिर आउनेछन । तपाइको पार्टीको हेडक्वाटरमा रहेर कम्युनिष्टको आवरणमा कसरी निजि परिवारको सुख समृद्धिको लागि राज्यका विरुद्ध कतिसम्मको अपराध गरिएको छ त्यसको सार्वजनिक पनि गरिनेछ । र अन्तमा मैले उठाएका विषयहरु गलत हुन भनेर त्यसको खण्डण गर्न पुन चुनौती दिन चाहन्छु । धन्यवाद ।

शुक्र, असार २०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस