प्रधानमन्त्री ओलीलाई आफ्नै सांसद र नेताको प्रश्न भारतसंग झुकेकै हो र ?

काठमाडौँ — भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतीय सरकारसामु झुकेको भन्दै सत्तारूढ दलकै सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरूले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको बताएका छन् ।

प्रधानमन्त्री ओली भने सांसदहरूको आलोचनाप्रति आक्रोशित बनेका थिए । उनले फौजी सिपाहीले जस्तै सरकारको प्रतिरक्षा गर्न सांसदहरूलाई निर्देशनसमेत दिए । एक सांसदका अनुसार सत्तारूढ दलकै नेता तथा सांसदहरूले सरकारका कामकारबाहीलाई लिएर संसद्, संसदीय समिति र सार्वजनिक मञ्चमा आलोचना गरेकामा प्रधानमन्त्री ओलीले आक्रोश पोखेका थिए । यो खबर आजको कान्तिपुर दैनिकमा छ।

बैठकमा उनले दल र पार्टीको बैठकबाहेक अन्य फोरमबाट सरकारको आलोचना नगर्न सांसदहरूलाई सचेतसमेत गराएका छन् । उनले संसद्मा सरकारको प्रतिरक्षा गर्ने काम सत्तापक्षका सांसदहरूको भएको उल्लेख गर्दै सरकारको विरोध गर्नु संसदीय मान्यता र मर्यादाविपरीत हुनेसमेत बताएका थिए । ‘संसद् र बाहिर सरकारमाथि गरिएको आलोचनाको हिसाबकिताब लिइन्छ भन्ने शैलीमा उहाँले जवाफ दिनुभयो,’ स्रोतले भन्यो ।

वरिष्ठ नेता माधव नेपालप्रति लक्षित गर्दै ओलीले पार्टीभित्र कटुतापूर्ण सम्बन्ध हुन आवश्यक नरहेको बताए । ‘हामी सबै एउटै डुंगामा सवार छौं, यो कुरा सबैले मनन गर्नुपर्छ,’ उनले भनेका थिए । संसद् मातहतका संसदीय समितिहरूले सरकारलाई असहयोग पुग्ने गरी निर्णय गर्न थालेकामा पनि ओलीको असन्तुष्टि थियो । ओलीअघि बोलेका २२ सांसदमध्ये अधिकांशले सरकारको आलोचना गरेका थिए । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको अभिव्यक्ति र सरकारको कामकारबाहीले पार्टीको साख गिरेको धेरैको भनाइ थियो । कतिपयले सरकारको खुलेरै प्रतिरक्षा गरे ।

अधिकांश सांसदले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गर्ने सरकारको निर्णयको विरोधमा धारणा राखेका थिए । भारतको दबाबपछि पर्याप्त प्रयोगशाला नभएको भन्दै सरकारले तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गर्ने निर्णय गरेको थियो । ‘चाहे आयातित होस् वा स्वदेशी, मानव स्वास्थ्यमा गम्भीर असर गर्ने विषादीयुक्त तरकारी र फलफूलमा प्रतिबन्ध लगाउनुपर्थ्यो । तर, सरकारलाई कस्तो बाध्यता आइलाग्यो र रोक्नुपर्‍यो ?’ सांसदहरूले प्रधानमन्त्री ओलीलाई सोधेका थिए, ‘सरकार भारतीय दबाबका सामु झुकेकै हो ?’ उनीहरूले सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रहसमेत गरे ।

आइत, असार २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस