लगातारको बर्षाले देशैभर ठुलो जनधनको क्षति,८ जनाको ज्यान गयो

असार २७ काठमाडौं लगातारको बर्षाका कारण आएको बाढी पहिरोमा परि अहिलेसम्म ८ जनाको ज्यान गएको छ भने बाढीले बगाएर चार जना हराइरहेका छन्।

देशका विभिन्न स्थानमा अविरल बर्षाले जनधनको ठुलो क्षति भएको छ। पहिरोले घर पुर्दा काभ्रेको बनेपा नगरपालिका ३ चुनतालमा हजुरआमा गोमा दंगाल र उहाँकी नातिनी सुहावी दंगालको ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन्। त्यस्तै पहिरोमा पुरिएर भोजपुरमा रामप्रसाद राई गाउँपालिका ७ बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कका जनक विकको ज्यान गएको छ।

लगातारको बर्षाले गोठ भत्किँदा रामेछाप नगरपालिका ५ रामपुरकी पदमकुमारी सुनुवारको ज्यान गएको छ। त्यस्तै सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेवडाँडाकी हेमकुमारी सुनुवारको बिहान गाईबस्तुलाई कुँडो दिँदै गर्दा पहिरोले बगाएर ज्यान गएको छ। यस्तै मकवानपुरको थाहा नगरपालिका ७ आग्राको बाल्चा भिरमा चिप्लेर लड्दा रौतहटको जितपुर नगरपालिका ६ का उमेश यादवको ज्यान गएको छ।

थाहा नगरपालिका वडा नम्बर ३ मा महाभिर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चनम बलामीको उपचारका क्रममा ज्यान गएको छ। पहिरोले घर पुरिएपछि खोटाङको खोटेहाङ गाउँपालिका २ वाप्लुखामा तीन जना हराएका छन्। बिहान पहिरोले विष्णु राईको घर पुर्दा उहाँकी श्रीमती रेखा राई र दुई नावालक छोरा हराएको प्रहरीले जनाएको छ। यस्तै हिजो बेलुकी बाढीले डाइभर्सन बगाउँदा मोरङमा मोटरसाइकलमा आएका एक जनालाई खोलाले बगाएको छ। उनीहरुको पहिचान खुलेको छैन।

अविरल वर्षाका कारण विभिन्न नदीहरुमा बाढी आएपछि पूर्वी र मध्य तराइका अधिकांश गाउँ जलमग्न भएका छन्। विराटनगर राजविराज जनकपुर र वीरगञ्जका अधिकांश स्थान डुवानमा परेको छ। उता सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक बढेपछि सप्तरीको गोबरगाढा गाउँ जोखिममा परेको छ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस