सुटुक्कै किन नेपाल आए भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा

काठमाडाैं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा अकस्मात नेपाल आएका छन् । राजधानी काठमाडौंमा मादुरो युवा विद्यार्थी तथा राजनीतिक नेतृत्वसँग भेटवार्तामा व्यस्त छन् ।तीन जना मन्त्रीसहित हिजो नेपाल आएका अर्नेस्टोले राजनीतिक भेटवार्तालाई जारी राखेका छन् । सोमबार बिहानै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्नेस्टोले भेटेका छन् । अध्यक्ष प्रचण्डसँग भेटवार्तापछि अर्नेस्टोे चन्द्रागिरी भ्रमणमा निस्किएका छन् । चन्द्रागिरी भ्रमणपछि अर्नेस्टोले सोमबार साँझ नै थप राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

शनिवार सामान्य किसिमले नेपाल आएका अर्नेस्टोले आइतबार नै नेकपाका नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग र सत्तारूढ नेकपाका युवा तथा विद्यार्थी नेताहरुसँग भेटवार्ता गरिसकेका छन् । अर्नेस्टोसँग आएको टोलीका अधिकांश सदस्य इन्टरनेशनल वामपन्थी युवा शक्तिमा आवद्ध रहेको जनाइएको छ ।नेकपाको युवा संगठनको निम्तोमा नेपाल आएको मादुरोसहितको टोलीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको आवतजावत गर्ने साधारण कक्षबाट काठमाण्डौं प्रवेश गरेको थियो ।मादुरो गुयरा विशेष सैनिक फौज (कर्पस् अफ स्पेसल इन्स्पेक्टर्स अफ दि प्रेसिडेन्सी) का प्रमुख हुन् । जसले राष्ट्रपति कार्यालयबाट भएका निर्णय कार्यान्वयन एवं प्रभावको सुपरिवेक्षण गर्छ । उनी पार्टी र संसद दुवैमा सक्रिय छन् । अर्नेस्टोे मंगलबार स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

सोम, असार ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस