भीएसटीएस प्रणाली नमान्ने भन्दै ठप्पै भयो ढुवानी,भीएसटीएसमा कसरी हुन्छ गाडीको ट्राकिङ

सरकारले देशभित्र व्यवसायिक मालसामानको आन्तरिक ओसारपसारको अनलाईन निगरानी थालेपछि आन्तरिक र बाह्य ढुवानी ठप्प भएको छ।भेहिकल एण्ड कनसाइनमेन्ट ट्राकिङ सिस्टम भनिएको यो प्रणाली मान्य नहुने भन्दै व्यवसायीले विदेशबाट आयात भएका र देशभित्रका सामान ओसारपसार रोकेका हुन्। व्यवसायीहरुले आफ्ना मालवाहक ट्रक घर तथा ग्यारेजमा थन्काएका छन्।सरकारले बजेट मार्फत ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा मालवाहक ट्रकलाई अनलाईन मार्फत निगरानी गर्न ल्याएको नीति नसच्याएसम्म मालवाहक गाडी र ट्रान्सपोर्ट सञ्चालन नगर्ने व्यवसायीहरुले बताएका छन्।
सरकारले लागू गर्न खोजेको उक्त प्रणालीले यातायात तथा ढुवानी व्यवसायी नै चौपट हुने र व्यवसाय सञ्चालन गर्न नसकिने व्यवसायीहरुको भनाई छ।नेपाल ट्रक यातायात व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले एकतर्फी रुपमा यो नीति लाद्न खोजको र व्यवहारिक नभएकोेले तत्काल सच्याउन माग गरे।

अनलाईन प्रणाली मार्फतको निगरानी सकारात्मक भए पनि नेपालको हालको संरचना, उपलब्ध सूचना प्रविधि, दक्ष जनशक्ति अभाव र भौगोलिक अवस्थाका कारण पनि तत्काल लागू गर्न कठिन हुने वरिष्ठ उपाध्यक्ष पोखरेलको दावी छ।महासंघका प्रदेश ५ संयोजक यम प्रसाद पाण्डेले सरकारले ढुवानी र ट्रक व्यवसाय क्षेत्रका समस्या बुझ्दै नबुझी एक पछि अर्को गरी अव्यवहारिक नीति ल्याउँदा व्यवसायीहरु समस्यामा पर्ने गरेको बताए। उनले व्यवसायीले व्यवसाय सञ्चालन गर्न नसक्ने भएर आ–आफै सवारी साधन घर ग्यारेजमा थन्काएको बताए।ढुवानी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कमल घिमिरेले सरकारले ल्याएको नीतिअनुसार व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै व्यवसायीहरुले माल बुकिङ ढुवानी नगरि पसल बन्द गरेको बताए।
के हो भीएसटीएस प्रणाली
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने मूल उद्देश्यका साथ कानुनबमोजिम एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा दर्ता गरेर मात्रै ओसारपसार गर्नुपर्ने प्रणालीको बुधबारबाट शुभारम्भ गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार एक कार्यक्रमका बीच त्यस प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा हुने अवैध आर्थिक कारोबारलाई अन्त्य गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ सरकारले त्याे प्रणालीको पनि सुरुवात गर्नु परेको स्पष्ट पार्नुभयो । उहाँले त्यस प्रणालीबाट साना व्यवसायीलाई हुने व्यवहारिक कठिनाइ हल गरेर जान सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।राजस्व अनुसन्धान विभागको वेबसाइटमा गएर उद्योगी व्यवसायीहरुले आफ्नो ढुवानी गर्ने बस्तु र साधानको संक्षिप्त विवरण त्याे प्रणालीमा दर्ता गराउने व्यवस्था गरिएको छ । यसो गर्दा अनौपचारिक क्षेत्रमा कारोबार हुने सबै आर्थिक कारोबार पनि पारदर्शी हुने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।यो व्यवस्था लागु भएसँगै सरकारले मालबहाक सामान चेकका लागि सञ्चालन गरिएको सबै पोष्टहरु हटाउनेछ । यो प्रणालीबाट बस्तुको ढुवानी व्यवस्था अति सहज हुने पनि राजस्व अनुसन्धान विभागको दाबी छ ।

बिहि, साउन २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस