फुटबल समर्थकका लागि दुखद खबर, स्टार खेलाडी मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा तीन महिना प्रतिबन्ध

साउन १८ काठमाडौं
अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सीलाई तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लागेको छ। मेस्सीले हालै सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगिता भ्रष्ट रहेको टिप्पणी गरेका कारण उनीमाथि प्रतिबन्ध लगाइएको हो।

अर्जेन्टिना र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा रातो कार्ड देखाइएपछि मेस्सीले मैदान छोड्नु परेको थियो। यसक्रममा उनले खेल सकिएपछि रेफ्रीको निर्णयको विरोध गर्दै प्रतियोगिता ब्राजिलले जित्न मिलेमतो भएको भन्ने अभिव्यक्ति दिएका थिए। दक्षिण अमेरिकी फुटबल महासंघले उनलाई ५० हजार अमेरिकी डलर जरिवानासहित ३ महिना प्रतिबन्ध गर्ने निर्णय गरेको हो। मेस्सीले एक साताभित्र महासंघमा उनको सजायविरुद्ध अपिल गर्न पाउनेछन्।

यस प्रतिबन्ध कायम रहेमा मेस्सीले अर्जेन्टिनाबाट चिली मेक्सिको र जर्मनीसँग सेप्टेम्बर र अक्टोबरमा हुने खेलहरु गुमाउनेछन्। अर्जेन्टिनाले सन् २०२२ को विश्वकपका लागि छनोट प्रतियोगिता मार्च २०२० देखि मात्र सुरु गर्ने हुनाले भने मेस्सीलाई केहि राहत मिलेको छ। दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई ६ महिना प्रतिबन्ध लगाउने हल्ला चलेपनि अर्जेन्टिनी फुटबल संघसँग छलफलपछि ३ महिनामा सजाय घटाएको बुझिएको छ।

शनि, साउन १८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस