दुनियाँका १८६ देशलाई पछि पार्दै नेपाल विश्वकै एक नम्बर लगानीमैत्री देश

काठमाडौँ, साउन २६ गते । पछिल्लो छ महिनामा लगानीमैत्री वातावरण निर्माण गर्नेमा नेपाल विश्वकै उत्कृष्ट मुलुकमा सूचीकृत भएको छ । विश्वभर वैदेशिक लगानी प्रवद्र्धनका लागि भइरहेको प्रयासमा पछिल्लो छ महिनामा नेपाल १८६ राष्ट्रमध्ये पहिलो बनेकोे हो ।विश्वव्यापी रूपमा बैङ्किङ पुँजीबजार लगानी विदेशी विनिमय क्षेत्रीय बजार लगायतको नियमित अध्ययन तथा सूचना प्रकाशन गर्ने संस्था युरोमनीको अध्ययनले यस्तो देखाएको हो ।

सन् २०१९ जनवरीदेखि जुनसम्मको अवस्था अध्ययनका आधारमा तयार गरिएको युरोमनी रिस्क सर्भेमा नेपालको प्रयासले पाँच दशमलव पाँच अङ्क पाएर उत्कृष्ट स्थान हासिल गरेको हो । विस्तृत सर्वेक्षणका रूपमा गरिएको यो अध्ययनमा १८६ देश समेटिएको छ । अध्ययन प्रतिवेदनमा भनिएको छ, “विश्वकै सर्वोच्च शिखरको देश भनेर चिनिने नेपाल यसपटक जोखिमको विस्तृत सर्वेक्षण गर्दा लगानी वातावरण सुधार तीव्र रूपमा गर्नेको सूचीमा समेत सर्वोच्च बनेको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

सर्वेक्षणमा नेपालपछि माल्दिभ्स एक दशमलव ७९ अङ्कका साथ दोस्रो स्थानमा छ भने इथियोपिया शून्य दशमलव ९३ अङ्कसहित तेस्रो स्थानमा छ । बङ्गलादेश १०आँै स्थानमा छ । यो सुधारका आधारमा लगानीको उपयुक्त वातावरण भएका मुलुकको सूचीमा गत वर्षभन्दा १४ स्थान माथिसमेत आइपुगेको छ । अघिल्ला चार वर्षमा औसत दुई मात्र थियो । रिपोर्टमा समग्रमा नेपाल ३१.८ अङ्कसहित १३५आँै स्थानमा आइपुगेको हो । वैदेशिक लगानीको आकर्षक गन्तव्य बनिरहेको छिमेकी मुलुक बङ्गलादेश ३२.५ अङ्कका साथ १३०औँ स्थानमा छ ।
सर्वेक्षणमा लगानीको वातावरणका १५ विभिन्न जोखिमलाई आधार बनाएर सूचक निर्धारण गरिएको थियो । यसमा नेपालको राजनीतिक, आर्थिक तथा संरचनागत क्षेत्रका जोखिमहरूको मूल्याङ्कन गरिएको छ ।

आइत, साउन २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस