भोलि सार्वजनिक बिदा !

साउन २६ काठमाडौं प्रदेश २ मा ईस्लाम धर्मावलम्बीको महान् चाड इद–ऊल–अजहा बकर इदको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति जारी गर्दै भोलि बकरिदको बिदा घोषणा गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति जारी गर्दै हर्षाेल्लासका साथ बकरिद मनाउन आह्वान गरेका छन् । उनले सबै मुस्लिम धर्मावलम्बीलाई शुभकामना समेत दिएका छन् ।

यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी बाख्रा राँगा र भैंसीको कुर्वानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजीकका मित्रलाई र अन्तिम् तेश्रो भाग गरीब तथा असहायलाई दिने गरिन्छ।

मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई अाफूसंग रहेको भेंडा म*रेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो।

कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो।हरेक मुस्लिमहरूकालागि जीवनमा एकफेर साउदी अरबको मक्कामा हज तिर्थयात्रा गर्न जरुरी मानिन्छ जसकालागि एउटा निश्चित समय तय गरीएको हुन्छ । आजबाट मक्कामा जाने हज तिर्थयात्राको यस वर्षकालागि औपचारीक समापन भएको दिन पनि हो ।

आजको दिन मुस्लिम समूदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा मिठा परिकार तथा प्रार्थनाहरु एकापसमा साटासाट गर्दछन् । नेपाली मुस्लिम समूदायहरूले यो समय आफ्ना गैह्र मुस्लिम साथिभाइहरुलाई डाँकेर मुस्लिम विशेषताले भरीएका अनेक परिकार जस्तै खसिको मासु, बिरयानी तथा अन्य स्वादिष्ट मिठाइहरू खुवाउने र खुसियाली साँट्ने गर्दछन् । वहूभाषिक वहूधार्मिक नेपाली समाज धार्मिक सहिष्णुतामा अनेक धर्मसंगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितमा विश्वास गर्छ भन्ने कुराको पनि यो चाडले सन्देश दिन्छ ।

आइत, साउन २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस