कश्मीरको विशेषाधिकार समाप्त गर्ने निर्णयले कश्मीरलाई कुनै असर गर्दैन: मोदी

साउन ३० काठमाडौं
एजेन्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत प्रशासित कश्मीरले पाएको विशेषाधिकार समाप्त गर्ने निर्णयबाट कश्मीरलाई कुनै असर नगर्ने बताएका छन्।सो क्षेत्र पुनः आफ्नो पुरानो गौरवमा फर्किने मोदीको भनाइ रहेको छ।

बिहीबार भारतको स्वतन्त्रता दिवसको अवसरमा संवोधन गर्दै उनले भने हामी कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्नेछौँ र यसले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। कश्मीरलाई विशेष मान्यता दिने भारतीय संविधानको धारा ३७० ले त्यस क्षेत्रमा केवल भ्रष्टाचारलाई प्रश्रय दिएको उनको दाबी रहेको छ। दिल्लीस्थित लालकिलामा आयोजित समारोहमा बिहीबार बिहान उनी डेढ घण्टा बोलेका थिए। सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएको भारतको यो ७३औँ स्वतन्त्रता दिवस हो।

भारतबाट विभाजन भएको पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस एक दिनअघि अगस्ट १४ मा मनाउने गरेको छ। पाकिस्तानले हिजो बुधबार स्वतन्त्रता दिवस मनाएको थियो। प्रधानमन्त्री इमरान खानले बुधवार आफ्नो भाषणमा कस्मिरमा भारतीय हस्तक्षेपको चर्को आलोचाना गरेका थिए। उनले भनेका थिए विश्वको आँखा कश्मीर र पाकिस्तानमा छ। कर्फ्यू लगाएर भारतद्वारा जे गरियो त्यसका लागि म अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि तिमीहरू उत्तरदायी छौ भन्नेछु। तर मोदीले खानको टिप्पणीमा कुनै प्रतिक्रिया दिएनन्। यद्यपी उनले धारा ३७० खारेजको विरोध गर्नेहरूले राजनीति गरिरहेको तर्क गरे।

भारतले जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएको छ । प्रावधान खारेज गरे लगत्तै त्यहाँ सैनिक संख्या बढाइएको छ । राष्ट्रपति रामनाथ कोविन्दले जम्मू–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका हुन् ।

बिहि, साउन ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस