संसदमा प्रधानमन्त्रीको सम्बोधन

१ भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधन गर्दैछन् । बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।उनका अनुसार प्रधानमन्त्रीले आफू स्वास्थ्य उपचारका सिलसिलामा हालै सिंगापुर भ्रमण गर्न गएको प्रसंगमा समेत संसदमा सम्बोधन गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओली १० दिन लामो स्वास्थ्य उपचार गरेर गएको सोमबार स्वदेश फर्किएका थिए । त्यसपछि सत्तारुढ नेकपाका सचिवालय बैठक बसी कार्यविभाजन समेत भइसकेपछि प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री सिंगापुर जानुअघि एक जना मन्त्री पनि सरकारमा थप थपेका थिए । तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि खालि रहँदै आएको मन्त्री पदमा प्रधानमन्त्रीले सिंगापुर प्रस्थान गर्नुअघि योगेश भट्टराईलाई नियुक्त गरेका थिए ।

उनले आफ्नो स्वास्थ्य अवस्थाबारे पनि जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ओली हालै सिंगापुरमा उपचार गराएर फर्किएका थिए ।
युरोप घुमेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले गत असार ३ गते संसदमा सम्बोधनका लागि समय पाएका थिए । तर, प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद् अवरोध गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित गरेर सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरेका थिए । विपक्षीको अवरोधका कारण संसदमा बोल्न नपाएका प्रधानमन्त्रीले लगत्तै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

विपक्षीहरुले सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण यादव प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै संसद् अवरोध गरेका थिए । यसबारे छानबिन गर्न पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएपछि साउन २० गतेबाट संसदको अवरोध हटेको थियो ।

आइत, भदौ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस