logo

२०८० चैत्र ६ मंगलबार

logo
  • मंगलबार, ६ चैत्र २०८०
  • अव्यवस्थित पार्किङ व्यवस्थापन गर्दै प्रहरी

    अव्यवस्थित पार्किङ व्यवस्थापन गर्दै प्रहरी

    99.8K
    Shares
    अव्यवस्थित पार्किङ व्यवस्थापन गर्दै प्रहरी

    काठमाडौं । कालीगण्डकी उपत्यकाको ठूलो बजार हो बेझाड । यहाँ दैनिक ठूलो सङ्ख्यामा नागरिकको ओहोरदोहार र बजारमा सामान किनमेल गर्नेको भीड हुन्छ ।

    रामपुर नगरपालिका–५ मा पर्ने यो बजारमा पछिल्लो समय अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राख्दा दुर्घटनाको जोखिम बढेको छ । यसलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय रामपुरले बजार क्षेत्रको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न सुरु गरेको छ ।

    बजार बढ्दै गएको छ । साँघुरो सडकमा सवारी साधन यत्रतत्र पार्किङ गरेर राख्दा बजारमा आवागमन र दुर्घटनाको जोखिम बढ्ने हुँदा त्यसलाई मध्यनजर गरेर पार्किङ व्यवस्थापन गर्न थालेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताए ।

    “चाडपर्वमा बजार क्षेत्रमा सामान किनमेल गर्नेको भीडभाड बढ्ने, जथाभावी रोकेर सवारी साधन राख्दा दुर्घटनाको डर बढ्यो, बजारमा जनघनत्व दैनिक बढिरहेको हँुदा पार्किङ व्यवस्थापन गरिरहेका छौँ”, उनले भने “नियमविपरीत कार्य कसैले गरेमा ट्राफिक कारबाही हुनेछ ।”

    यहाँ यसअघि पनि सडकको किनारको एकातर्फ एक हप्ता र अर्को किनारमा अर्को हप्ता पार्किङको व्यवस्था गरिए पनि त्यो व्यवस्था केही समय लागू भयो । निरन्तररुपमा त्यसको कार्यान्वयन हुन सकेन । आगामी असोज १ गतेदेखि बेझाडको सडक दायाँ किनारा, त्यसपछिको एक हप्ता बायाँ किनारा गरी पालैपालो पार्किङ गर्न इलाका प्रहरी कार्यालय रामपुरले आग्रह गरेको छ ।

    घर अगाडिको सडकमा सवारी साधन तथा पैदलयात्रुको आवतजावतमा समेत प्रभाव पार्ने गरी निर्माणजन्य सामग्री, पसलका सामान, पसलको बोर्ड, फोहोर डष्टबिन नराख्न प्रहरीले अनुरोध गरेको छ । इलाका प्रहरी कार्यालयले विभिन्न स्थानमा जानकारीका लागि सूचना पनि टाँसेको छ ।

    अस्तव्यस्त सवारी साधन पार्किङले दुर्घटनाको जोखिम र बजारको सौन्दर्य नै नराम्रो बनाएको बताउनुहुन्छ स्थानीय सावित्रा गैरे । “बजार विस्तारै हुँदै जाँदा दैनिक भीडभाड बढेको छ, सवारी साधनका सङ्ख्या पनि उत्तिकै बढेकै छन्, जथाभावी रुपमा गाडी रोकेर राख्नेलाई कारबाही पनि छैन, यसमा स्थानीय सरकार, प्रहरी र प्रशासनले कडाइ गर्नुपर्छ”, उनले भने ।

    रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले टोल विकास संस्था र स्थानीय क्लब परिचालन गरेर पार्किङलाई अस्थायीरुपमा भए पनि व्यवस्थापन गर्ने अभियान चलाउने बताउँछन् । उनका अनुसार सवारी साधन पार्किङ गर्न बेझाड बजारमा दीर्घकालीन व्यवस्था नहँुदा बेलाबेलामा बजारमा पार्किङको समस्या हुने गरेको छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका स्थानीयले बजार गर्ने मुख्य थलोको रुपमा बेझाड बजार रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend