काठमाडौंमा कसलाई निशाना बनाएर आएका थिए विप्लवका सार्प सुटर जो नागढुंगामा समातिए ?

भदौ १ काठमाडौं प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सार्प सुटर मुनाल भन्ने सुलभ लामालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा शनिबार प्रहरीले काठमाडौँको नागढुंगास्थित चेक प्वाईन्टबाट लामालाई पक्राउ गरेको हो। धादिङबाट काठमाडौं आउँदै गरेको बा २ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा बसमा रहेका लामालाई हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल दुई थान बाइनाकुलर एक थान मोबाइल पाँच थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको छ । उनी ललितपुर कोन्ज्योसम गाउँपालिका २ का बासिन्दा हुन्।

कुनै व्यक्तिलाई कारबाहीका लागि परिचालित हुने सुलभका विषयमा प्रहरीको विशेष ब्युरो र काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ। उनका साथबाट विशेष कारबाहीमा आवश्यक सम्पूर्ण बन्दोबस्तीका सामग्री समेत बरामद भएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार लामा विप्लव समूहको एसटीएफ सदस्य हुन र उनि विशेष उद्देश्यका लागि परिचालित हुने सुटर हुन। उनले सुलभसँग सोधपुछ भइरहेको बताए। केही खुल्न सकेको छैन यधपी हामी बिस्तृत अनुसन्धान गरिरहेका छौं। एसएसपी सुवेदीले भने।

उनले बोकेको झोलामा पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो। लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान बरामद गरेको छ। सिलाई मेसिन सफा गर्न प्रयोग हुने यो तेल विप्लव नेकपाले हतियार सफा गर्न प्रयोग गर्दै आएको छ। १० वर्षे माओवादी जनयुद्धका समयमा समेत यही तेल हतियार सफा गर्न प्रयोग हुने गरेको थियो।

विप्लव समूहले भौतिक कारबाही गर्ने नीति नलिएको दाबी गर्दै आएपनि आन्तरिक रुपमा आत्मरक्षा सन्तुलन र आक्रमणको नीति अवलम्बन गरेको छ । जसका लागि जनसेना गठनदेखि एसटीएफ फोर्ससम्म बनाएको छ । कतिपय स्थानमा जनप्रतिनिधिमाथि कालोमोसो दल्ने काम पनि विप्लव समूहका नेता–कार्यकर्ताले गर्दै आएका छन् । सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहले सुरक्षाकर्मीका सुराकीलाई आफ्ना गतिविधि बन्द गर्न पटक–पटक धम्की दिँदै आएको छ ।

आइत, भदौ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस