पुडासैनी प्रकरण नयाँ मोडमा: अस्मिता कार्कीलाई न्युज २४ को ल्याण्डलाइन नम्बरबाट पटकपटक सम्पर्क भएको खुलासा

भदौ ५ काठमाडौं पत्रकार सालिकराम पुडासैनी प्रकरणमा मुछिएपछि यतिबेला लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगका प्रस्तोता रबि लामिछाने पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाइ प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ। छानबिन गरिरहेको प्रहरीले रवि लामिछाने युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीको कल डिटेल निकालेर विश्लेषण गरेको छ।

अनुसन्धानको क्रममा रुकु भनिने अस्मिता कार्कीको मोबाइलमा सिधा कुरा जनतासँगको प्रसारण संस्था न्युज २४ को ल्याण्डलाइन नम्बरबाट पटकपटक सम्पर्क भएको देखिएको छ। शालिकरामले न्युज २४ छोडिसकेको अवस्थामा समेत यसरी सम्पर्क हुँदा बढीमा ५ मिनेटसम्म कुराकानी गरेको भेटिएको प्रहरीले अनुसन्धानबाट पत्ता लागेको बताएको छ। पत्रकार शालिकराम पुडासैनीले सिधाकुरा जनतासँग छोडेर माउन्टेन टेलिभिजन गइसकेपछि पटकपटक सम्पर्क देखिएको विषयलाई अनुसन्धान अधिकारीहरुले अर्थपूर्ण रुपमा लिएका छन्।

रवि लामिछानेको मोबाइलबाट सिधै अस्मितालाई सम्पर्क नगरिएको खुल्न आएको छ। यसरी रबिले बयानमा आँफुले यस घटनाको सम्बन्धमा कसैसंग सम्पर्क नगरेको भनिरहेका बेला प्रहरीको अनुसन्धानबाट अस्मिता कार्कीको मोबाइलमा सिधा कुरा जनतासँगको प्रसारण संस्था न्युज २४ को ल्याण्डलाइन नम्बरबाट पटकपटक सम्पर्क भएको देखिनुले उक्त टेलिफोन सम्पर्क सिधा कुरा टिमको अन्य कसैले गरेको हो कि भन्ने आंकलन गर्न सकिने देखिएको छ।

भिडियोमा पुडासैनीले कार्यक्रम सिधा कुरा जनतासंगका निर्माता दिपक बोहोराको यसमा कुनै दोष नभएको उल्लेख गरेका छन् जसका कारण अस्मितासंगको सम्पर्क कँडेलले गरेको हुनसक्ने पनि अनुमान गर्न सकिन्छ। यधपी कँडेलले फेस्बुकमार्फत अस्मितालाई नचिनेको बताएका छन्।

यता रबि लामिछाने लगाएत तिनै जनालाई थप अनुसन्धानका लागि भन्दै चितवन जिल्ला अदालतले थप ५ दिन प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।

बिहि, भदौ ५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस