रविको छवि ‘मिनी अख्तियार, घूस खानुअघि भ्रष्टलाई हुन्थ्यो रविको त्रास

नारायण गाउँले – अनुसन्धानपछि अस्मिता कार्की निर्दोष देखिइन् भने के होला ? अनुसन्धानले अझ उनलाई नै ‘पीड़ित’ देखायो भने के होला ?
‘निर्दोष देखिए छुटिहाल्छिन् नि’ भन्ने तपाईंको वाक्य कति हचुवा र असंवेदनशील छ भन्ने शायद तपाईं आफैलाई थाहा नहुनुपर्छ ।

के त्यो भिडियो सार्वजनिक हुनु र उनी पक्राउ पर्नुले उनको सामाजिक चरित्र, मर्यादा र मानसिक स्वास्थ्यमा पर्ने गम्भीर असरको कुनै भरपाइ होला ? भिडियो आफैमा प्रमाण हो र त्यसकै आधारमा मुद्दा चलाउने हो भने दश दिन किन थुन्नु पर्यो ? यदि भिडियोको दाबी सत्यापन गर्नुपर्ने र प्रमाण जुटाउनुपर्ने हो भने किन प्रहरीले आफैमा विवादास्पद पत्रकारलाई त्यति संवेदनशील भिडियो उपलब्ध गरायो ? दश दिनमा समेत पूरा नहुने अनुसन्धान बाँकी छँदै घटनाको एकमात्र कड़ी र व्यक्तिगत सूचनाहरू रहेको भिडियो राजनैतिक पहुँचकै आधारमा प्रहरीले कसैलाई दिन मिल्छ ? के त्यो अपराध होइन ?

थुनेरै अनुसन्धान गर्नुपर्ने किन ? छुटेपछि भिडियो एडिट गर्छन् भनेर ? भाग्छन् भनेर ? बयान लिन बोलाउँदा आउँदैनन् भनेर ? या व्यक्तिगत रिसिबी साध्न भनेर ?

हो, भीड़बाट कानुन निर्देशित हुनुहुँदैन । तर कानुन पहुँचमा हुनेहरूको स्वार्थले पनि प्रेरित हुनुहुँदैन । कानुन व्यक्तिपिच्छे फ़रक हुनुहुँदैन ।रवि लामिछाने या अस्मिता कार्की दोषी हुनै सक्दैनन् भन्ने छैन । हुन पनि सक्छन् । तर उनको चरित्र र जीवनको सबैभन्दा ठूलो कमाइका रूपमा रहेको ‘करियर’ नै प्रभावित हुनेगरी पक्राउ गर्नुअघि नै अनुसन्धानको निश्चित प्रक्रिया पूरा गर्नु जरूरी थिएन ? धम्कीका कल डिटेल्स होलान्, टेक्स्टहरू होलान्, साक्षीहरू होलान्, तस्बीरहरू होलान् । के ती प्रमाण खोज्दै नखोजी सोझै पक्रिने र बदनाम गर्ने अधिकार राज्यलाई हुन्छ ? यदि प्रमाण छन् र ती दोषी हुन् भने अदालतमा मुद्दा दायर गर्न केले रोकेको छ ?

र अन्त्यमा, तपाईंहामी जस्तै रक्सी-मासु या पद र शक्तिको लोभले होइन, सत्ताको आँखी बन्न सकिन्छ र भविष्यमा अवसरहरू गुमाउन सकिन्छ भन्ने जान्दा जान्दै अन्याय नहोस् भन्ने कामनाले जम्मा भएको ‘भीड़’ हो त्यो । त्यसको हातमा रातो झण्डा भएको भए त्यही ‘विशाल जनसागर’ बन्ने थियो । एउटा सुपर भेड़ोले मात्रै भेड़ा देख्न सक्छ त्यो भीड़लाई । त्यो भीड़ तपाईं या मेरो पछाडि जम्मा हुँदैन । हामीले सकेको जति लिएका छौं समाजबाट, दिन बाँकी नै छ । केही दिन सकेको दिन हाम्रो पछाडि पनि त्यस्तै ईर्ष्या लाग्दो भीड़ हुन्छ ।

रविको छवि ‘मिनी अख्तियार’ जस्तै थियो । घूस खानुअघि हरेक सरकारी कर्मचारीको दिमागमा रविको चित्र आउँथ्यो । कतै यो रविकै मान्छेले फ़साउन घूस दिएको त होइन ? माफियादेखि मानव तस्कर र पुलिसदेखि सचिबसम्मलाई रवि ठूलो थ्रेट बनेका थिए । उनको व्यक्तिगत चरित्र कति स्वच्छ थियो त्यसको ग्यारेन्टी मैले लिने कुरो भएन तर उनको कारणले समाजमा केही हदसम्मको स्वच्छता थियो ! होला रवि आफैमा भ्रष्ट हुँदा हुन् तर तिनको कामले हजार जनालाई भ्रष्ट बन्नबाट रोकेको थियो, तर्साएको थियो । यो भीड़ रविको व्यक्तिगत होइन, त्यही ‘थ्रेट’को सम्मान हो । सप्रमाण र निष्पक्ष छानबिनमा रवि दोषी देखिए भने यो भीड़ आफै हराउनेछ । केही वर्षअघिको रविसँग यो भीड़ थिएन ।

स्मरण रहोस्, छानबिन रोक्न यो भीड़ सडकमा आएको होइन । छानबिन निष्पक्ष होस् र विधिसम्मत होस् भन्न यो सड़कसम्म ओर्लिनु परेको हो । हिजो नन्दप्रसाद अधिकारीको आत्महत्यामा दुरुत्साहन गर्नेहरू समातिएको भए आज यो भीड़माथि औंला ठड्याउन सजिलो हुने थियो । कानुन सबैलाई बराबर लाग्छ भन्ने नजीर स्थापना भएको भए यो भीड़लाई गाली गर्न सुहाउने थियो । रविलाई लाग्नुपर्ने भन्दा अलि बढ़ी कानुन लाग्छ कि भनेर यो भीड़ जम्मा भएको हो । यसको अपमानमा आकाशतिर फर्केर नथुकौं, आफ्नै अनुहारमा झर्छ !

शनि, भदौ ७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस