एक बर्ष भित्रै नेपालमा फलाम खानीबाट फलाम निकालिदै

नवलपरासी — सरकारले देशकै ठूलो धौवादी खानीबाट फलाम निकाल्न विधिवत् प्रक्रिया अघि बढाएको छ । गत बुधबारको मन्त्रिपरिषदको निर्णयले धौवादी फलामखानी लिमिटेड बनाउने नीतिगत निर्णय गरेको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले लिमिटेड स्थापनासँगै फलाम निकाल्ने कार्यले गति लिने जानकारी दिए । ‘लिमिटेड गठनको निर्णय भइसकेकाले अब तत्काल सञ्चालक समिति गठन हुन्छ । सीईओ नियुक्ति हुन्छ र कामले गति लिन्छ,’ उनले भने । नयाँ बन्ने समितिले कारखाना खोल्ने र त्यसैले काम कारबाही अघि बढ्ने भएकाले आउँदो एक वर्षभित्र फलाम कारखाना स्थापना हुने दाबी उनको थियो ।

पहिलो चरणमा खानीसम्म पक्की सडक निमार्णको काम सुरु भइसकेको छ । अब बन्ने समितिले बिजुली, कारखानाका लागि जग्गा प्राप्तिको प्रक्रिया र स्थान छनोटका लागि प्राविधिक र विषेशज्ञको टोली चाँडो खटाइने जानकारी उनले दिए । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ धौवादीमा नेपालकै ठूलो फलामखानी छ । एक सय वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यहाँबाट १० करोड टन फलाम निकाल्न सकिने प्रारम्भिक अनुमान छ । विभागले उक्त क्षेत्रलाई फलामखानी किटान गरेको छ ।

विभागले शुक्रबार निकालिएको ५ टन फलाम नमुना परीक्षणका लागि चीनको सरकारी प्रयोगशालामा पठाएको छ । त्यसको विस्तृत रिपोर्ट आउन कम्तीमा ३ महिना लाग्नेछ । विभागले शनिबार एक विशेषज्ञको टोली धौवादीमा खटाएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ।

आइत, भदौ ८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस