बंगलादेशसंग पराजित भएसंगै नेपाल प्रतियोगिताबाट बाहिरियो !

भदौ २२ काठमाडौं बंगलादेशसंग पराजित भएसंगै नेपाल श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। टस हारेर ब्याटिंग गरेको नेपालले दिएको २६२ रनको लक्ष्य बंगलादेशले ४ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा पुरा गरेसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

बंगलादेशका अकबल अलीले अविजित ९८ सर्वाधिक रन जोडे। तोहिद हृदयले ६० र मोहम्मद हसन जोयले ४० रन बनाए। सामिन होसेनले पनि अविजित ४२ रन बनाए। सामिन र अलीबीच पाँचौँ विकेटका लागि एक सय रनको साझेदारी भयो। त्यसअघि १९ रन जोड्दा दुई विकेट गुमाएको बंगलादेशका लागि हृदय र जोयले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए।

पहिला ब्याटिङको जिम्मा पाएको नेपालले उत्कृष्ट ब्याटिङ गरेको थियो। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन जोड्यो। ओपनर पवन सर्राफ ८१ र मध्यक्रमका सन्दीप झोराले ५६ रन जोडे। रित गौतम ३२, कुशल मल्ल २८ र रोहित पौडेल १४ रनमा आउट भए। आसिफ शेखले ३ रनमात्र जोड्न सके।

पहिलो विकेटका लागि ४५ रन जोडेको नेपालले तेस्रो विकेटका लागि ३९ र चौथो विकेटका लागि ६६ रनको साझेदारी गर्‍यो। सर्राफले एक सय ९ बलमा एक छक्का र ८ चौका हिर्काए। टोलीले एक सय ७३ रन जोड्दा पवन पाचौँ विकेटका रुपमा आउट भए। उनलाई मितुनजोय चौधरीले आउट गरे। त्यसपछि सन्दीप र भीमबीच छैटौँ विकेटका लागि ७१ रनको साझेदारी भयो। भीमले २१ रन बनाए।
यो हारसँगै नेपाल यू–१९ एसिया कपबाट बाहिरिदा बंगलादेश भने सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

आइत, भदौ २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस